Logo
Logo

वर्तमान राज्य प्रणालीप्रति असन्तुष्ट व्यक्ति र समूहमाथि विश्लेषण गरी कारबाही गर्न प्रहरी संयन्त्रलाई निर्देशन


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २२ असार । गृहमन्त्री रामबहादुर थापाले राज्य पुर्नसंरचनाको अवस्थामा सामाजिक सद्भाव र सुरक्षामा खलल पु¥याउनसक्ने सम्भावना रहेकाले प्रहरी संयन्त्रले सूक्ष्म विश्लेषण गरी योजनाबद्ध रूपमा कारबाही प्रहरी संयन्त्रलाई निर्देशन दिएका छन् ।
जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका प्रहरी सहायक निरीक्षक आधारभूत तालीम १७५औँ समूहको आइतबार आयोजित दीक्षान्त समारोहमा उनले वर्तमान अवस्थामा विभिन्न आपराधिक, विखण्डनकारी तथा वर्तमान राज्य प्रणालीप्रति असन्तुष्ट व्यक्ति र समूहमाथि सूक्ष्म विश्लेषण गरी कारबाही गर्न प्रहरी संयन्त्रले कुनै कसर बाँकी राख्न नहुने बताए ।
प्रहरीको काँधमा कानूनी राज्य र सामाजिक न्याय सुनिश्चित गर्ने जिम्मेवारी रहेको भन्दै गृहमन्त्री थापाले भने, ‘यो जिम्मेवारी वहनका क्रममा हुने सानो भूल वा लापरबाहीले सिंगो प्रहरी संगठन, सरकार र राष्ट्रका लागि प्रत्युत्पादक हुनसक्छ ।’
प्रहरी कुनै पनि घटनाको पहिलो साक्षी अनुसन्धानकर्ता र न्यायाधीश भएकाले प्रहरीले गरेका हरेक क्रियाकलापले पीडितले न्याय पाउने सुनिश्चितता हुने र कुनै लापरवाही गरेमा अभियुक्तले छुट पाउने अवस्था हुने उनले बताए ।
उनले प्रहरीलाई व्यावसायिक जीवनमा आइपर्ने चुनौतीलाई आफ्नो इमान्दारी, निष्पक्षता र व्यावसायिक कौशल र युक्ति लगाएर परास्त गर्न निर्देशन दिए ।
महिला, दलित एवं समाजका सीमान्तकृत समुदायप्रति हुने गरेका गैरमानवीय व्यवहारको घटना सुन्दा आफूलाई पीडाबोध हुने गरेको बताउँदै उनले भने, ‘यस्ता अमानवीय क्रियाकलापलाई समाजमा उन्मुक्ति नदिने प्रतिबद्धताका साथ परिचालन हुन निर्देशन गर्दछु ।’
कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रभाव र प्रलोभनले व्यावसायिक जीवन धूमिल पार्ने हुँदा यसतर्फ सचेत रहन निर्देशन दिए । सो अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक पुष्कर कार्कीले बफादारीका साथ संगठनको गरीमा बढाउन दीक्षित भई जानलागेका प्रहरी अधिकृतहरुलाई निर्देशन दिए ।
कार्यक्रममा शिक्षालयका निर्देशक प्रहरी नायब महानिरीक्षक हरिभक्त प्रजापतिले २१ महिलासहित ३०५ जना दीक्षित भई कार्यक्षेत्रमा जान लागेको जानकारी दिए । हालसम्म शिक्षालयबाट एक हजार ८२९ प्रहरी सहायक निरीक्षक दीक्षित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्