Logo
Logo

बुद्धका आँखा र निर्वाचन



बुद्ध पुर्णिमाको दिन टाइप गर्दै गरेका यी हरफ छापिने बेलासम्ममा अर्कै दिन आइसकेको हुनेछ । तर अढाई हजार वर्ष अघि देखि नै मानवजातिले पाएको बुद्धका कालजयी शिक्षा आजको भोली नै पुराना हुने छैनन् ।

मान्छेले जीवनलाई विभिन्न किसिमले बुझ्ने प्रयत्न गरेका छन् । देश काल परिस्थिति अनुसार जीवनकै परिभाषा पनि फरक भइरहेको हुन्छ । हामी त संसारमा छौँ । संसारको अस्तित्व सापेक्षिक सत्यमा मात्र रहन्छ ।

बुद्धले भन्नु भएको थियो– संसारका हरेक वस्तु र घटनाप्रवृत्ति अनित्य छन्– सदा सर्वदा परिवर्तन भइरहेका हुन्छन् । अनात्म छन्– अन्तरनिर्भरतामा मात्र अर्थ लाग्ने र गहिरिएर नियाल्ने हो भने सार विहीन छन् । दुःखले भरिएका छन्– केही पनि आफैमा सम्पूर्ण, दोषरहित छैनन् ।

यो अपूर्णता र असन्तोषबाट मुक्ति पाउने तृष्णामा मानिस जहिले पनि रहिरहन्छ, अर्थात् दुःखबाट मुक्ति र सुखको प्राप्ति नै उसको जीवनको ध्येय हुन्छ । जीवन भन्नु नै दुःखमुक्ति र सुखप्राप्तिको दिशामा हुने प्रयत्नको नाम हो ।

बुद्ध र उहाँका अनुयायी गुरुहरुले प्रज्ञा र करुणा भनेका दुई पखेटा जस्ता हुन्, यी दुवैलाई साथसाथै चलाउन सके मात्र निर्वाणको दिशामा उँड्न सकिन्छ भन्नु भएको छ । बुद्ध जन्मिएको भूमिलाई आफ्नो भन्न पाएका हामी भाग्यमानि नेपाली अविद्या, द्वेष र रागबाट मुक्त हुनसक्यौँ भने अरुका निम्ति समेत नमूना तयार गर्न सक्थ्यौं, सक्छौं ।

यो प्रयत्न कहिले ठीकै दिशामा भइरहेको हुन्छ, कहिले दुःखबाट भाग्न खोज्दा दुःखतिरै पाइला बढिरहेको हुन्छ । सुख चाहनाको यही तृष्णा र प्रयत्नले क्रान्ति हुन्छन्, सत्ता परिवर्तन हुन्छ, शासनप्रणाली परिवर्तन हुन्छ । लोकतान्त्रिक देशहरुमा हुने आवधिक निर्वाचन पनि जनताको यही दुःखमुक्ति र सुखप्राप्तिको चाहनाका निम्ति हुने हुन् ।

अब छिटै नै यसपालीको स्थानीय निर्वाचनको देशव्यापी परिणाम थाहा हुनेछ । जे परिणाम आउँछ, त्यो नेपाली नागरिकको सामुहिक बुद्धि–विवेकको परिणाम हुनेछ । कुनै पनि निश्चित कालखण्डमा हाम्रो सामुहिक बुद्धि–विवेक कस्तो छ, त्यो यसअघिका हाम्रा सामुहिक ‘कर्म’कै फल हुन्छन् ।

‘कर्म’ भन्ने कुरा कसैले ‘लेखेको’ हुँदैन, आफैले ‘गर्ने’ हो र छानिएका नयाँ पुराना नेताले राम्रो नराम्रो जे जस्तो गर्छन्, ती पनि हामी सबैले हिजो गरेका राम्रा नराम्रा कामका फलकै अभिव्यक्ति हुनेछन् ।

खुसीको कुरा– चाहने हो भने हामी आफ्ना गल्ती सच्याउन सक्छौँ । होस आउने बित्तिकै बाटो परिवर्तन गर्न सक्छौँ । अर्को छनौट गर्न सक्छौँ । अनि दुःखको कुरा– केही गल्ती यस्ता हुन्छन् जसलाई सच्याउन का निम्ति कि त अर्को अनुकुल समयको लामो प्रतिक्षा गर्नुपर्ने हुन्छ, कि भने समय घर्किसकेको पनि हुनसक्छ ।

यसपालिको प्रारम्भिक नतिजामा नयाँ बाटोको खोजी गर्ने प्रयत्नको झलक पनि कतै कतै पाइन्छ । तर धेरै जसो ठाउँमा भने अझै पनि ‘हाम्रो’ र ‘अरुको’ जस्ता राग र द्वेषका भावनाकै निर्देशनमा दौडिरहकै आभास हुन्छ ।

यो ‘हाम्रो’ र ‘अरुको’ भन्ने राग द्वेषका कारण निर्वाचनमा कसको जीत, कसको हार, कसको प्रभाव आदिमा मान्छे टाँस्सिइने, त्यसले दम्भ वा निराशा जन्माउने, तिनै दम्भ र निराशाले फेरी हाम्रा गतिविधि अर्थात् कर्ममा प्रभाव पार्ने नै हुन्छ ।

यो गोलचक्करबाट निस्कने एउटै उपाय हो– बुद्धले देखाउनु भएको बाटोमा हिँड्नु । बुद्धले देखाउनु भएको दिशालाई आत्मसात गर्नु । मान्छेले प्राप्त गर्नसक्ने ‘निर्वाण’तिर फर्केर ‘हेर्ने’ आँट गर्नु । त्यो ‘निर्वाण’तर्फ फर्केर, त्यो सम्यक ‘दिशा’ समातेर, त्यो ‘मार्ग’मा हिँड्ने हो भने एकातिर ‘बुद्ध वाज बर्न इन नेपाल’ भनेर कराउने अनि अर्कोतिर लुम्बिनीमै कुनै मिचाहा छिमेकी आएर दम्भ प्रदर्शन गर्दा असहाय भएर ङिचिक्क हाँसेर हेरिरहने जस्ता पाखण्डका सस्ता नमूना पनि देखिने थिएनन् ।

एकातिर हरेक पटकको निर्वाचन पछि गनगन पनि गरिरहने, अर्कोतिर आफूलाई आफैले बनाएको ‘बाध्यता’को कैदी बनाइरहने मूर्खता पनि झेल्नुपर्ने थिएन । बुद्धका वचनलाई बुझ्ने प्रयत्न साँच्चै गर्न सकेको भए ‘अनित्यता’ असहायता हैन स्वतन्त्रताका रूपमा, अनात्मलाई अस्तित्वविहीनताका रूपमा हैन मैत्री र करूणाको जगका रूपमा र ‘दुःख’ अर्थात् अपूर्णतालाई निराशाको मुहानका रूपमा हैन सृजनशीलताका निम्ति पाएको स्पेस र अवसरका रूपमा हेर्न र बुझ्न सम्भव हुने थियो । अझै पनि हामी गर्नसक्छौँ– बुद्धले देखाएको बाटोमा जहिले पनि हिँड्न सक्छौँ ।

संसार भनेको सापेक्षिक सत्यको पर्दामा देखिएको प्रतिविम्ब मात्र हो भन्ने मात्र बुझ्दा र यो सापेक्षिक सत्यको महत्व नबुझ्दा अर्को खाडलमा परिन्छ । बुद्धका शिक्षामा करुणा, मैत्री, मुदिता र समभाव अत्यन्त महत्वपूर्ण मानिन्छन् । यी सबैको सार्थकता र सान्दर्भिकता यही सापेक्षत सत्यकै संसारमा हुने हो ।

करुणा नहुने हो भने सामाजिक न्यायका निम्ति कसरी केही गर्न सकिन्छ ? मैत्री नहुने हो भने कसरी सामाजिक भलाईका निम्ति, जनताका खुसीका निम्ति केही गर्न सकिन्छ ? मुदिता नबुझेकाहरु कसरी ईर्ष्याबाट मुक्त भएर अरुका खुसीमा रमाउन सक्छन् ? समभाव नहुने हो भने कसरी कुनै नेता कुनै शासक गुटविशेषको मात्र नभएर सबैको नेता हुन सक्छ ?

बुद्ध र उहाँका अनुयायी गुरुहरुले प्रज्ञा र करुणा भनेका दुई पखेटा जस्ता हुन्, यी दुवैलाई साथसाथै चलाउन सके मात्र निर्वाणको दिशामा उँड्न सकिन्छ भन्नु भएको छ । बुद्ध जन्मिएको भूमिलाई आफ्नो भन्न पाएका हामी भाग्यमानि नेपाली अविद्या, द्वेष र रागबाट मुक्त हुनसक्यौँ भने अरुका निम्ति समेत नमूना तयार गर्न सक्थ्यौं, सक्छौं ।

अढाइ हजार वर्ष अघिको त्यो युगमा नै बुद्ध लोकतन्त्र र गणतन्त्रको पक्षमा हुनुहुन्थ्यो । अहिलेको भाषामा भन्ने हो भने समयभन्दा धेरै अगाडी हुनुहुन्थ्यो । त्यस्ता बुद्धलाई एकदम आफ्नै ठान्न पाएका हामी जुनसुकै बेला पनि अविद्याको फोहोर खोल छोडाउँदै अघि बढ्न किन नसक्ने ?

बुद्धपूर्णिमाको अवसरमा संसारभरी बलिरहेका बत्तीको उज्यालोले हरेक मानिसभित्रको भित्री बत्तीको प्रकाशको बाटोलाई पनि खोलिदेओस्– प्रज्ञा र करुणाका दुवै पखेटा फिंजाएर हामी परमार्थ सत्यको आकाशमा उँडान भर्न सकौँ ।

अहिलेको स्थानीय निर्वाचनको नतिजा जे जस्तो आओस्, निर्वाचित नेताले विभिन्न पार्टीको पर्खालमा संकुचनबाट मुक्त भएर सबैको खुसीप्राप्ति र दुःखमुक्तिका निम्ति काम गर्न सकुन् । बजार, व्यक्तिगत कमाई र शासकीय मनोविकारका कैदी भएर हैन, असीमित सम्भावना भएका असल मानिस बनेर काम गर्न सकुन् ।

हरेक पाइला पछि फेरी अर्को पाइला कुन दिशामा बढाउने भन्न स्वतन्त्रता हुन्छ मान्छेलाई– त्यो सम्भावनाको सदुपयोग गर्दै आफ्ना गल्ती सच्याउँदै अघि बढ्न सकुन् । बुद्ध जयन्तिको अवसरमा बुद्धप्रकाशले सबैको मन उज्यालो पारोस् ।

भवतु सब्ब मंगलम् !

प्रतिक्रिया दिनुहोस्