Logo
Logo

विद्युत कम्पनीको लापरबाहीले पुरियो खोला


- दृष्टि न्युज/संवाददाता


दैलेख, २३ असार । दैलेखको नौमूलेमा निर्माणको अन्तिम चरणमा रहेको पदमखोला जलविद्युत् आयोजनाको पाइप पुर्ने क्रममा एक किलोमिटर खोला बगर बनेको छ । नौमूलेदेखि भुरुंगेसम्मको सडकको भित्ता साइडबाट अहिले पाइप विछ्याउने काम धमाधम शुरु भएको छ ।
सडकभन्दा दुई मिटर तल पाइप गाड्नका लागि भित्तो खन्दा अहिले जंगलमाथिको सबै भाग पहिरोका रुपमा खसेको छ । पहिरो पन्छाउन नजिकै रहेको खोला प्रयोग गरेर सबै माटो डुंगा खोलामा फालेपछि करीव एक किलोमिटर खोलासमेत पूर्णरुपमा पुरिएको छ । निर्माण कम्पनीले जनतालाई रकमको लोभ देखाएर आफ्नो स्वार्थ पूरा गर्न खोजेको नौमूले गाउँपालिकाका अध्यक्ष भदे बुढामगरले आरोप लगाएका छन् ।
स्थानीय सरकारसँग समन्वय गरेर आयोजनाले काम अगाडि बढाउनुपर्ने भए पनि आफ्नो स्वार्थमा मात्रै केन्द्रित भएको आरोप बुढाको छ । दोल्ती पावर कम्पनीले रु ७२ करोडको लागतमा अहिले पदमखोला जलविद्युत् आयोजना निर्माणको काम अन्तिम चरणमा पु¥याएको छ । खोला पुरेर बगर बनाएको भन्दै जनताले गुनासो गरेपछि जिल्ला समन्वय समिति, नौमूले गाउँपालिकाको संयुक्त अनुगमनपश्चात् तत्काल खोला सफा गर्न निर्देशनपछि अहिले दुई वटा डोजर लगाएर खोला सफा गर्न थालिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्