Logo
Logo

गठन भएको ४ महिनामै ४ पालिकामा सानदार जित



काटमाठौं । गठन भएको चार महिनामै जेलमा रहेका रेशम चौधरीको पार्टी ‘नगरिक उन्मुक्ति पार्टी’ले स्थानीय तह निर्वाचन अन्तर्गत चार वटा स्थानीय तह जितेको छ ।

२०७८ पुष १९ गते निर्वाचन आयोगमा दर्ता भएको रेशमको पार्टीले आधार क्षेत्र सुदूरपश्चिमको कैलालीका चार पालिकामा जित हात परेको हो ।

कैलालीको टीकापुर नगरपालिका, भजनी नगरपालिका, जोशीपुर गाउँपालिका र जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार निर्वाचित भए । चारै पालिकामा रेशमको पार्टीले सत्तारुढ पाँच दलीय गठबन्धन र नेकपा एमालेसँग एक्लै प्रतिस्पर्धा गरेको थियो ।

कैलालीको टीकापुर नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौरा थारु मेयर निर्वाचित भए । उनले ९ हजार ५४२ मत पाए ।

थारुका निकटतम प्रतिस्पर्धी पुरानो पार्टी नेपाली कांग्रेसका नवराज रावल ६ हजार ६४२ मत प्राप्त गर्दै पराजित भए । नयाँ पार्टीका थारुले पुराना पार्टीका रावललाई ३ हजारको फराकिलो मतले पराजित गरे ।

त्यसैगर, भजनी नगरपालिकाको मेयर र उपमेयर दुवै रेशमकै पार्टीले जितेको छ । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट मेयरका उम्मेदवार केवल चौधरी ८ हजार ९६६ मतसहित निर्वाचित भए ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका शेरबहादुर चौधरी ५ हजार १९८ मत प्राप्त गर्दै पराजित भए । मेयरमा केवलले शेरबहादुरलाई ३ हजार ७६८ मतको फाकिलो अन्तरले पराजित गरेका हुन् ।

उपमेयरमा नागरिक उन्मुक्तिकै राजु तिरुवा निर्वाचित भए । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोकेन्द्र भण्डारी ४ हजार ४९० मत प्राप्त गर्दै पराजित भए ।

उपमेयरमा पनि नागरिक उन्मुक्तिका उम्मेदवार राजु ३ हजार १३२ मतसहित फराकिलो अग्रताका साथ निर्वाचित भएका हुन् ।

त्यसैगरी, जोशीपुर गाउँपालिकामा पनि रेशमकै पार्टीले अध्यक्ष र उपाध्यक्ष जित्यो । नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्षका उम्मेदवार चित्रबहादुर चौधरी ४ हजार ९०३ मतसहित निर्वाचित हुँदा नेपाली कांग्रेसका उम्मेदवार बन्सराम वडायक ३ हजार ३६८ मतसहित पराजित भए । चित्रबहादुर १५३५ मतको फराकिलो अग्रतामा विजयी भएका हुन् ।

जोशीपुरको उपाध्यक्ष पनि नागरिक उन्मुक्ति पार्टीले नै जितेको छ । उपाध्यक्षका उम्मेदवार रेखादेवी कठरीया ४ हजार ५८१ मतसहित निर्वाचत हुँदा निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार दीर्घराज बिनाडी ३ हजार ९६१ मत प्राप्त गर्दै पराजित भए । रेखादेवी ६२० मतको अग्रतामा विजयी भएका हुन् ।

त्यसैगरी, कैलालीकै जानकी गाउँपालिकामा पनि नागरिक उन्मुक्ति पार्टी नै विजयी भएको छ । नागरिक उन्मुक्तिबाट अध्यक्षका उम्मेदवार गणेश चौधरी अध्यक्ष निर्वाचित हुँदा प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसका परशुराम महतौ पराजित भए ।

जानकीमा उपाध्यक्ष पनि नागरिक उन्मुक्ति पार्टीले नै जितेको छ । नागरिकका उपाध्यक्ष उम्मेदवार लालमतीदेवी कठरिया निर्वाचित हुँदा मुख्य प्रतिस्पर्धी नेकपा एमालेका गीत चौधरी पराजित भए ।

नागरिक उन्मुक्ति पार्टी स्थानीय निर्वाचनभन्दा ४ महिना अगाडि अर्थात २०७८ पुष १९ गते निर्वाचन आयोगमा दर्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्