Logo
Logo

उपमहानगरमा कांग्रेसलाई घाटा- दुई स्वतन्त्रले खोसे, एक खोसेको एमाले अर्को खोस्दै



काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत सत्तारुढ गठबन्धनबीच उपमहानगर भागबन्डा हुँदा ११ मध्ये नेपाली कांग्रेसको भागमा ७ वटा परेको थियो ।

भागमा परेको ३ उपमहानगर गुमाइसकेको कांग्रेसले अर्को पनि गुमाउने खतारा बढेको छ । दुई उपमहानगर स्वतन्त्रले खोसिसकेका छन्, एक एमालेले खोस्यो । अर्को उपमहानगर पनि एमालेले खोस्ने सम्भावना बढेको छ ।

सत्तारुढ गठबन्धनबीच भागबन्डा हुँदा कैलालीको धनगढी उपमहानर कांग्रेसको भागमा परेको थियो । जहाँ स्वतन्त्र उम्मेदवार गोपाल हमाल मेयर निर्वाचित भए । कांग्रेसका मेयर उम्मेदवार नृपबहादुर वड पराजित भए ।

त्यसैगरी, कांग्रेसले भागमा परेको सुनसरीको धरान उपमहानगर पनि गुमाएको छ । धरानमा कांग्रेसका उम्मेदवार किशोर राईलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ मेयर निर्वाचित भए ।

सत्तारुढ गठबन्धनबीच भागबन्डा हुँदा बाराको कलैया उपमहानर पनि कांग्रेसकै भागमा गरेको थियो । कैलाया उपमहानगर कांग्रेसबाट एमालेले खोस्यो ।

कांग्रेसबाट कलैयाका मेयर उम्मेदवार राजेश राय यादवलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार विनोदप्रसाद साह निर्वाचित हुँदा कांग्रेसले भागमा परेको अर्को उपमहानगर गुमाउनु परेको हो ।

तीन उपमहानगर गुमाइसकेको कांग्रेसले दाङको तुलसीपुर उपमहानगर पनि गुमाउने खतरा बढेको छ ।

तुलसीपुरमा मतगणना जारी छ । जारी मतगणनामा कांग्रेसबाट मेयरका उम्मेदवार गेहेन्द्र गिरीलाई पछि पार्दै एमालेका मेयर उम्मेदवार टिकाराम खड्का अघि लागेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार एमाले उम्मेदवार खड्काले १७ हजार २७७ मत पाउँदा कांग्रेसका उम्मेदवार गिरीले १५ हजार ९९० मत मात्र पाएका छन् ।

तुलसीपुर उपमहानगर पनि गुमाउने हो भने कांग्रेसले गबन्धनबीच भागबन्डा हुँदा पाएको ७ मध्ये ४ उपमहानगर गुमाउने छ ।

प्रतिक्रिया दिनुहोस्