Logo
Logo

न सांसद रहे, न त मेयर नै भए


36.5k
Shares

काठमाडौं । प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर नगरप्रमुखको उम्मेदवार बनेका दुई जना उम्मेदवार पराजित भएका छन् ।

प्रदेशसभा सदस्य पदबाट राजीनामा दिई इलामको सूर्योदय नगरपलिकाको प्रमुखमा उम्मेदवार दिएका नेकपा एमालेका काजिमान कागते र सर्लाहीको गोडैता नगरपालिकाको प्रमुखमा उम्मेदवार दिएका उपेन्द्र कुशवाहा पराजित भएका हुन् ।

सूर्योदयमा नेकपा एकीकृत समाजवादीका रनबहादुर राईसँग काजीमान कागते १ हजार ८ सय ५२ मतान्तरले पराजित भए । राईले १२ हजार ४३१ मत ल्याए भने पराजित कागतेले १० हजार ५७९ मत ल्याए ।

सूर्योदयको उपप्रमुखमा भने नेपाली कांग्रेसका उम्मेदवार दुर्गाकुमार बराल निर्वाचित भएका छन् । उनले ११ हजार ८ सय ५४ मत ल्याएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दुर्गादेवी भट्टराईले ९ हजार १ सय २२ मत ल्याएका छन् ।

यता, सर्लाहीको गोडैतामा भने उपेन्द्र कुशवाहा भने कुशवाहा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार देवेन्द्रकुमार यादवसँग ५४२ मतान्तरले पराजित भएका छन् ।

अन्तिम मतपरिणाम अनुसार कुशवाहा दोस्रो नम्बरमै सीमित भए । यादवले ५ हजार २९४ मत ल्याउँदा कुशवाहाले ४ हजार ७५२ मत पाएका छन् ।

उपप्रमुखमा पनि लोसपाकै अन्जना कुशवाहा ५ हजार ३०१ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रामसखी देवीले ४ हजार ४९३ मत ल्याएका छन् ।

गोडैताको नगरप्रमुख पदमा उम्मेदवारी दिन कुशवाहाले १० वैशाखमा प्रदेश सांसद पदबाट राजीनामा दिएका थिए ।
नेपाली कांग्रेसका प्रमुख सचेतक समेत रहेका कुशवाहा सर्लाहीको क्षेत्र नं. ४ (ख)बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्