काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमाले र पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्टि पोखेका छन् । स्थानीय तह निर्वाचनमा भएको सहमति एमालेले पालना नगरेको आरोप लगाएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष थापाले पेश गरेको राजनीतिक प्रतिवेदनमा एमालेको उदासीनताका कारण स्थानीयस्तरमा सहकार्य अपेक्षाकृत परिणाममुखी हुन नसकेको उल्लेख गरेका छन् ।
थापाले आफ्नो प्रतिवेदनमा भनेका छन्, ‘चुनावमा हामीले नेकपा एमालेसँग सहकार्य गर्ने निर्णय गर्यौँ । व्यवहारिक र रणनीतिकरुपमा ठीक भएता पनि नेकपा एमालेको उदासीनताका कारण स्थानीयस्तरमा सहकार्य अपेक्षाकृत परिणाममुखी हुन सकेन । यो चुनावमा प्राप्त अनुभवबाट पाठ सिकेर अब हामीले आगामी संसदीय निर्वाचनको तयारी गर्नुपर्छ ।’
उनले स्थानीय तहको निर्वाचनमा पार्टीको कुनै महत्वाकांक्षा र अपेक्षा नरहेको उल्लेख गर्दै पार्टी खडा भएको छोटो अवधिमै चुनावमा जानुपर्ने बाध्यात्मक अवस्था आएका बताएका छन् ।
अध्यक्ष थापाले भनेका छन्, ‘हामीले चुनावमा भाग नलिन पनि सक्थ्यौ तर, चुनाव बहिष्कार गर्दा गलत सन्देश जान्थ्यो । प्रजातन्त्र र जनसर्वोच्चताको सिद्धान्तमा विश्वास गर्ने पार्टी भएको तथा सुदृढ स्थानीय स्वायत्त शासनप्रणाली राप्रपा नेपालको मुख्य एजेण्डा भएको कारणले गर्दा सांकेतिकरुपमा भएपनि हामीले चुनावमा भाग लियौँ ।’














