Logo
Logo

बुटवलमा एमालेको रुवावासी


दामोदर खनाल


बुटवल । बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्डेय भारी मतान्तरले विजयी भएका छन् । नेकपा (एकीकृत समाजवादी)को साथमा कांग्रेसका पाण्डेय नेकपा एमालेको विरासत तोड्दै बुटवल उपमहानगरपालिकाको मेयरमा विजयी भएका हुन् ।

१९ वटा वडा रहेको बुटवल उपमहानगरपालिकामा ११ वटा वडासहित मेयरमा नेपाली काँग्रेसले जितेको हो । तर, पाण्डेले सबै वडामा शानदार मत ल्याएका थिए । एमालेले बुटवलमा जनमुक्ति पार्टीसँग गठबन्धन गरेको थियो ।

२०४९ सालको निर्वाचनमा कांग्रेसबाट स्वर्गीय सुर्यप्रसाद प्रधान बुटवलको मेयरमा निर्वाचित भएका थिए । त्यसयता बुटवलमा कांगे्रसले जित्न सकेको थिएन । अघिल्लो निर्वाचनमा पनि पाण्डेयलाई २ हजार ३ सय मत अन्तरले पराजित गर्दै बुटवलको मेयरमा एमालेका शिवराज सुवेदी निर्वाचित भएका थिए ।

यसपटक पाँचदलीय गठबन्धनको तर्फबाट बुटवल उपमहानगरपालिकाको मेयर पदका उम्मेद्वार पाण्डेय ७ हजार ५३३ मतको अन्तरसहित विजयी भएका छन् ।

बुटवलको मेयरमा निर्वाचित पाण्डेयले ३० हजार १३० मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी एमालेका बाबुराम भट्टराईले २२ हजार ५९७ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाबाट मेयर पदका उम्मेदवार मृगेन्द्र शेरचनले ४ हजार २९७ मत प्राप्त गरे ।

उपमेयरमा भने गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका चिनबहादुर गुरुङलाई पछि पार्दै एमाले जनमुक्ति पार्टीको गठवन्धनकी उम्मेदवार सावित्रा अर्याल विजयी भएकी छिन् । उपमेयरमा निर्वाचित अर्यालले २४ हजार ९०४ मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट उम्मेदवार गुरुङले १६ हजार ९८० मत प्राप्त गरे । मतदाता शिक्षाको अभावमा गठबन्धन तर्फ धेरै मत वदर भएको छ । उपमेयरमा राप्रपाकी उम्मेदवार भगवती पाण्डेले ६ हजार ५२९ मत प्राप्त गरिन् ।

एमाले ५ वडामा खुम्चियो

२०७४ को स्थानीय तह निर्वाचनमा १६ वटा वडा जितेको एमाले यो पटक जनमुक्ति पार्टीसँग गठबन्धन गर्दा पनि ५ वटा वडामा मात्र सीमित हुन पुगेको छ । एमालेका उपाध्यक्ष विष्णु पौडेल, नेता भोजप्रसाद श्रेष्ठ, नेत्र पन्थीले मतदान गर्ने वडा नं. ८ मा कांग्रेस विजयी भएको छ ।

यति मात्र होइन, एमालेका मेयरका उम्मेद्वार बाबुराम भट्टराईको वडा नम्बर ६ र निवर्तमान मेयर शिवराज सुवेदीको वडा नम्बर ७ मा कांग्रेस उम्मेदवार विजयी भएका छन् ।

ठुला नेताका वडामै उम्मेदवार पराजित हुनु एमालेका लागि ठुलो झड्का मात्र हैन पार्टीभित्रको चरम असन्तुष्टि पनि छताछुल्ल भएको छ । एमाले उपाध्यक्ष विष्णु पौडेललाई यो निर्वाचनको परिणामले नराम्रो झड्का दिएको छ ।

१९ वडा मध्ये बुटवलमा ११ वटा वडा कांग्रेसले जितेको छ भने, ५ वटा वडा एमालेले जितेको छ । बुटवलमा माओवादी केन्द्रले १, नेकपा एकीकृत समाजवादीले १ र एउटा वडा स्वतन्त्र उम्मेदवारले जितेको छ । वडा नं. ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ कांग्रेसले जितेको छ ।

जसमा ४ को अध्यक्षमा नरिशवर शर्मा, ५ को अध्यक्षमा हरिप्रसाद श्रेष्ठ, ६ मा लोकनाथ न्यौपाने, ७ मा पदमराज ६ मा लोकनाथ न्यौपाने, ७ मा पदमराज गाहा, ८ मा यज्ञप्रसाद पंगेनी, ९ मा प्रदिपकुमार श्रेष्ठ, १२ मा डिल्लीप्रसाद शर्मा उपाध्याय, १३ मा नारायणप्रसाद पुन, १५ मा शिव राना, १६ मा कृष्णप्रसाद पौडेल र १७ मा ज्ञानबहादुर रेश्मी विजयी भएका छन् ।

त्यस्तै, एमालेले १०, ११, १४, १८ र १९ वडा जितेको छ । एमालेले जितेको वडा नं. १० को अध्यक्षमा बलबहादुर पुन, ११ को अध्यक्षमा रामचन्द्र क्षेत्री, १४ मा दधिराम न्यौपाने, १८ मा गुरुप्रसाद पंगेनी र १९ को अध्यक्षमा चन्द्रसिंह थापा मगर निर्वाचित भएका छन् । वडा नं. १ मा स्वतन्त्र उम्मेदवार नरेन्द्र बस्नेत विजयी भएका छन् ।

उनले कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका हुन । वडा नं. २ मा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका सुनिल शाक्य र वडा नं. ३ मा पनि गठबन्धनबाट माओवादी केन्द्रका विष्णु ढकाल विजयी भएका छन् । ढकाल रुख चिन्हबाट निर्वाचित भएका हुन ।

रुपन्देहीमै एमाले कमजोर

१६ स्थानीय तह रहेको रूपन्देही जिल्लामा हिजोसम्म एमालेकै दवदवा थियो । यसपटक भने एमाले एक नगरपालिका र दुईवटा गाउपालिकामा मात्र सीमित हुन पुगेको छ । बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, सिद्वार्थनगर नगरपालिका, लुम्बिनी सास्कृतिक नगरपालिका जस्तो महत्वपूर्ण नगरपालिका एमालेले गुमाएको छ ।

एमालेका केही नेता कार्यकर्ता र मतदाताको बुझाईमा एमालेका नेता ओली तथा जनप्रतिनिधिमा अहंकार, दम्भ बढ्नु, गुटगत राजनीति हावी हुनुले नै एमाले कमजोर बनेको हो । कम्युनिष्टका नाममा एकलौटी लुट, दलाली प्रवृत्ति हाबी, व्यापारीकरण र निजीकरणमा मरिमेटेर संलग्नता, फरक विचार राख्नेलाई निषेध र प्रताडना, प्रदेश राजधानी सार्न नेतृत्वको जालझेल, ओलीको चरम अहंकार र दम्भ, फरक विचार राख्नेमाथि हेपाहा प्रवृत्ति मुल कारण हुन् ।

बेथिति, संस्थागत भ्रष्टाचार, विपक्षीलाई छुद्र ब्यवहार, विकासमा भेदभाव र झुटा आश्वासन, घोषणापत्र अनुसार काम नहुनु, विपक्षीलाई कमजोर आँकलन जस्ता कारणले पनि एमालेप्रति मतदाता रिसाए ।

हुन त भाषण भन्दा पनि व्यवहारमा काम खोजेको जनता माझ गठबन्धनले पनि स्पष्ट योजना वनाएर तत्काल अगाडि बढ्न नसके यो मतदाता थामिन नसक्ने भोटको ट्रेनले देखाएको छ ।

अत्यन्तै सादगी जीवन विताएर २०औँ वर्षदेखि डेरामा वसेर पैदल, ईरिक्सा र अरूका मोटरसाइकल, सवारीसाधन चढेर वुटवलका सहर कुनाकाप्चा पुगेका ५५ वर्षे पाण्डेलाई बुटवलको समस्याबारे राम्रो ज्ञान पनि छ । विजयउत्सव मनाउने क्रममा उनले बुटवलको खानेपानी, सडक सुकुम्बासी समस्या र ज्योतिनगर पहिरो व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । आगामी दिन उनको सफलता असफलता उनकै कार्यशैलीमा भर पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्