Logo
Logo

ओलीका लागि अमर बन्ने अन्तिम अवसर



स्थानीय निर्वाचनको परिणाम लगभग आइसकेको छ । यो स्तम्भ लेखिरहेको बेला केही उपमहानगरपालिका र महानगरपालिकाको परिणाम मात्र आउन बाँकी छ । तर, आउन बाँकी परिणामको पनि आँकलन गर्न सक्ने स्थिति बनिसकेको छ । यो स्तम्भ यहाँहरूसम्म आइपुग्दा बाँकी अधिकांशको परिणाम पनि आइसकेको हुने छ । त्यसले निर्वाचनको अहिलेसम्मको अंकगणितलाई फरक पार्ने पनि छैन ।

समग्रमा हेर्दा यो निर्वाचनमा नेपाली कांग्रेस पहिलो, नेकपा (एमाले) दोस्रो, नेकपा (माओवादी केन्द्र) तेस्रो, जनता समाजवादी पार्टी चौथो र नेकपा (एकीकृत समाजवादी) पाँचौ स्थानमा रहे ।

अरूको स्थान उस्तै भए पनि कांग्रेस दोस्रोबाट पहिलोमा उक्लदा एमाले पहिलोबाट दोस्रोमा झर्याे । नयाँ बनेको पार्टी नेकपा (एकीकृत समाजवादी)लाई पाँचौ स्थान हाँसिल भयो ।

सोझै देखिने परिणाम यही हो । र, परिणामअनुसार समग्रमा स्थानीय निर्वाचन कांग्रेसले जित्यो, एमालेले हार्यो । अझ यसो भनौं, दुबैका गठबन्धन भएकाले कांग्रेस गठबन्धनले जित्यो, एमाले गठबन्धने हार्याे ।

मसिनो हिसाब आइनसकेको यतिबेला ज्यामितिय विश्लेषण सम्भव छैन । अंकगणितीय विश्लेषण गर्दा कांग्रेस गठबन्धनको पक्षमा ६७ प्रतिशत, एमाले गठबन्धनको पक्षमा ३० प्रतिशत र अन्यको पक्षमा ३ प्रतिशत स्थानीय तहको प्रमुख पद गएको देखिन्छ ।

ओलीका लागि परीक्षाको घडी हो । हारको नैतिक जिम्मेवारी लिँदै अध्यक्षबाट राजीनामा दिए हुन्छ । त्यसो गरे महान विदाइ हुनेछ । राजीनामसँगै नेकपादेखि एमाले विभाजन सम्मको जिम्मा लिन सक्नुपर्छ । ओलीका लागि अमर बन्ने अन्तिम अवसर आउन सक्छ ।

एमालेको मात्र कुरा गर्दा अहिले जितको १०२ र अग्रस्थानमा रहेको ३ स्थान पनि उसैले जित्ने मान्दा अधिकतम स्थान २०५ हुन्छ, जुन २७ प्रतिशत आसपास हो । यसअघिको निर्वाचनमा एमालेले ४२ प्रतिशत स्थान जितेको थियो ।

लोकतन्त्रमा आवधिक निर्वाचन हुन्छ, त्यसमा सबैभन्दा धेरै मत ल्याउने निर्वाचित हुन्छ, बाँकी त्यसपटकका लागि निर्वाचित हुदैनन् । यही नै जनताको म्यान्डेट हो । त्यसलाई बदल्नका लागि अर्को आवधिक निर्वाचनसम्म पर्खनुपर्ने हुनछ ।

यसरी हेर्दा, यो अत्यन्तै स्वभाविक प्रक्रिया पनि हो । तर, नेपालमा अझै पनि निर्वाचनको भाष्य त्यस किसिमको छैन, यसलाई लोकतान्त्रिक प्रक्रियाभन्दा पनि जित हारको विषय बनाइदै आएको छ । जसले गर्दा निर्वाचनको परिणामलाई स्वभाविक रूपमा नलिने एक किसिमको परम्परा नै भैसक्यो ।

निर्वाचनको परिणामलाई लिएर यस्तो भाष्य बनाउन मुलतः राजनीतिक दल, तीनका नेता र कार्यकर्ता नै जिम्मेवार छन् । तर, यसका लागि उनीहरूतिर मात्रै औला ठड्याएर धर पाइदैन । यसमा विचार निर्माण गर्ने वुद्धिजीवीहरू अनि त्यसलाई सम्प्रेषण गर्ने मिडियाहरू पनि त्यतिकै जिम्मेवार छन् । उनीहरूले बनाइदिएको गलत भाष्यकै कारण आज निर्वाचन जुवा जस्तै हार जितको विषय बन्दै गएको छ ।

यो समग्रताको कुरा भयो । तर, यसपटकको निर्वाचनलाई यो रूपमा प्रस्तुत गर्ने मुख्य भूमिका एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाह गरेका छन् । उनले यसलाई एमालेको भन्दा पनि आफ्नै प्रतिष्ठाको विषय बनाए । त्यसका लागि उनले थेसिसमा के गरे भन्दा पनि एन्टी थेसिसमा के गरेनन् भन्नुपर्ने हुन्छ ।

त्यसको समयक्रममा सिन्थेसिस होला । तर, अहिलेका लागि के भन्न सकिन्छ भने एमाले एक किसिमको ‘बामाले’ भइसकेकाले उनले त्यो पार्टीमा जे गरे पनि हुने स्थिति बन्यो । अहिलेको जनमतलाई हेर्दा उनी नाङ्गै हिडिरहेका रहेछन् ! तर, उनका अनुयायी त्यसलाई सुनको लुगा लगाएर हिडिरहेको भनिरहेका रहेछन् ।

हो, तेस्रो विश्वमा निर्वाचनको बेला नेताहरूले पार्टी कार्यकर्ता र शुभेच्छुकहरूको मनोबल बढाउन अलि बढी दाबी गर्ने आमचलन जस्तै छ । तर, ओलीले त कता हो कता अघि बढेर, दिउँसै तारा झार्ने कुरा गरे । उनले जे जस्ता दाबी गरे, ती सबै हावादारी हुँदा उनी ‘माकाफुइँ’ साबित भए ।

यो निर्वाचनमा सबैभन्दा बढी कोही हार्यो भने त्यो ओली हुन् । उनीले संख्या पनि हारे, इमान जमान र विश्वसनियता पनि हारे । एमाले हार्यो तर ओली जति हारेन । एमालेलाई आफ्नो इतिहासको ब्याज र सूर्य चिन्हको ब्राण्डले बचायो । तर, ओली भने केहीले पनि जोगाउनै नसक्ने गरी पर पुगे ।

ओली यति हारे कि बोलेर नथाक्ने उनी अहिले बोल्नै नसक्ने अवस्थामा पुगे । निर्वाचन पछि उनको बोल्ती बन्द भएको छ । उनले पार्टीका महासचिव शंकर पोख्रेलमार्फत् निर्वाचनमा धाँधली भएको बकपत्र सार्वजनिक गरेका छन् ।

यसले एमालेले निर्वाचनको परिणाम स्वीकारी नसकेको संकेत गर्छ । र, उसले धाँधलीका कारण निर्वाचनको यस्तो परिणाम आएको बताएर उम्किने रणनीति लिएजस्तो देखिन्छ ।

तर, एमालेका लागि यो रणनीति प्रत्युत्पादक हुने देखिन्छ । खासगरी ठूला शहर भएका शहरिया मतदाताबीच लोकप्रिय रहँदै आएको एमाले यसपटक नराम्ररी चिप्लियो ।

देशमा भएका ६ महानगरपालिकामध्ये कुनैमा पनि उसले खाता नै खोल्न सकेन भने ११ उपमहानगरपालिकामध्ये तीन उपमहानगरपालिका (दुई जितिसकेको र एक अगाडि रहेको) उसको पक्षमा गएको अवस्था छ । यसअघि उसले दुई महानगरपालिका र आठ उपमहानगरपालिका जितेको थियो ।

यसरी हेर्दा उसले दुई महानगरपालिका र ५ उपमहानगरपालिका गुमाएको छ । त्यसमा पनि अब उसको हातमा संघीय राजधानी काठमाडौंका अतिरिक्त गढ मानिएका पोखरा, धरान, बुटवल, हेटौडा, इटहरीजस्ता ठूला सहरको सिंहदरवार पनि रहेन ।

अन्य शहर विराटनगर, जनकपुरधाम, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, धनगढी र कञ्चनपुरजस्ता तराईका सहर त यसअघि पनि एमाले विरोधी कित्तामै थिए ।

स्मरण रहोस्, नेपालमा राजनीतिक क्रान्ति गर्ने र विचार निर्माण गर्ने शहर यिनै हुन् । यी कुनै पनि शहरको स्थानीय सत्ता एमालेसँग नरहनुको अर्थ एमाले शहरिया मतदातामाझ नराम्ररी नांगियो ।

यस्तो जनादेश हुँदाहुँदै पनि ओलीले जबर्जस्ती गरे भने त्यो एमालेका लागि सत्यानासको बाटो हुनेछ । त्यसले एमालेलाई त जोगाउदैन नै, नेपालको वामपन्थी राजनीतिले पनि गम्भीर धक्का खान्छ । चाहे पनि नचाहे पनि नेपालको वामपन्थी राजनीतिको भविष्य धेरै मात्रामा एमालेकै भविष्यसँग जोडिएको छ ।

निर्वाचन सकिए लगत्तै ‘पोष्ट इलेक्सन’ समीक्षा पनि सुरू भएको छ । जित्नेले के कारणले जित्यो ? त्यसबारे खासै समीक्षा हुँदैन । समीक्षा हुने भनेको हार्नेको मात्रै हो । त्यसैले अहिले समीक्षा गर्नुपर्ने दल एमाले हो । तर, ‘बा’माले भइसकेको एमाले पार्टीका वुद्धिजीवी र उनीहरू नजिक रहेकाहरूबाट यस्तो दयनीय हार हुँदा पनि सचेतनाका साथ बस्तुगत समीक्षा हुने छाँट देखिएको छैन ।

उनीहरू ओलीका कारण हारेको हैन, बरू उनकै कारण यति जितेको प्रारम्भिक निस्कर्ष सुनाउन थालेका छन् । यसले फेरि पनि एमालेलाई सही ठाउँमा नपुर्याउने निश्चित छ ।

हुनुपर्ने त के थियो भने, एमालेले आफ्नो हार स्वीकार गरेर यसको जिम्मा पार्टी अध्यक्ष के पी शर्मा ओलीले लिनुपथ्र्याे र नैतिकताका आधारमा राजिनामा दिनुपथ्र्याे । आफू बस्ने घर भएको वडा हारेको छ, निर्वाचन क्षेत्रको नगरपालिका हारेको छ र समग्रमा पार्टी हारेको छ ।

यस्तो अवस्थामा पनि ओली बोल्ती बन्द गरेर बसेका छन् । यसको अर्थ के हो भने ओली अझै पनि चेत्नेवाला छैनन् । यो स्तम्भकारले धेरै अघिदेखि एउटै कुरा बाराम्बार भन्दै आएको छ, समस्या ओलीमा छ तर उनी अरूतिर समस्या देखाइरहेका छन्, उनका अनुयायीहरू पनि त्यसै गरिरहेका छन् ।

हुन त ओलीले जेठ १७ गते भयानक घटना हुने भविष्यवाणी गरेका थिए । दिशानिर्देश कार्यक्रमका लागि विजयकुमारसँग कुराकानी गर्दै उनले के हुने प्रश्न शेरबहादुर देउबालाई सोध्न सुझाएका थिए ।

उनको संकेत सत्ता गठबन्धन हार्ने र त्यसबाट सत्ता गठबन्धन टुट्ने भन्ने थियो । तर निर्वाचन परिणामले ठीक उल्टो त्यसको उत्तर ओलीले नै दिनुपर्ने अवस्था सिर्जना गरिदिएको छ । आखिर उनले नै जेठ १७ गते उथुलपुथल हुने भविष्यवाणी गरेका थिए । अब त्यही भविष्यवाणी पूरा गर्न पनि उनले राजीनामा दिनु वाञ्छनीय देखिन्छ ।

ओली सधैंभरी माधवकुमार नेपाललाई कटाक्ष गरिरहेका हुन्छन् । यही निर्वाचनका क्रममा मात्र पनि उनले माधव नेपाललाई के भने भन्दा पनि के भनेनन् भन्नुपर्ने हुन्छ । तर, ओलीभन्दा नेपाल धेरै नैतिक छन् भन्ने अनेक दशी÷प्रमाण भेटिन्छन् ।

निर्वाचन परिणामकै सन्दर्भलाई हेर्दा पनि २०६४ को निर्वाचनमा एमाले पराजित भएपछि तत्कालीन महासचिव रहेका नेपालले हारको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका थिए । नेपालको राजनीतिमा नैतिक जिम्मेवारीको यो एक मानक घटना हो । अब ओलीका सामु त्यही नैतिक प्रश्न उभिएको छ, माधव नेपाललाई धारेहात मात्र लगाउने कि नेपालले जतिको नैतिकता पनि देखाउने ?

ओलीका लागि यो एउटा परीक्षाको घडी हो । अहिले बोल्ती बन्द भएका ओलीले हारको नैतिक जिम्मेवारी लिँदै एमाले अध्यक्षबाट राजीनामा दिएर बोली खोले हुन्छ । नाटक हैन, साँच्चै नै त्यसो गरे भने उनको लागि त्यो महान विदाइ हुन्छ ।

उनले राजीनामसँगै नेकपादेखि नेकपा एमालेसम्मको विभाजनको नैतिक जिम्मा लिएर वामएकताका लागि आफू वाधक हैन, साधक बन्ने घोषणा पनि गर्न सक्छन् । त्यसो गरे भने ओलीका लागि अमर बन्ने अन्तिम अवसर आउन सक्छ ।

त्यसले नेपालको वामपन्थी एकतालाई पनि नयाँ शीराबाट अगाडि बढाउँने मौका पनि सिर्जना हुन्छ । तर, ओलीलाई नजिकबाट चिनेको यो स्तम्भकार उनीबाट यस्तो घोषणा होला भनेर अपेक्षा त के सोच्न पनि सक्दैन । किनभने उनले पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एउटा पद मात्र त्याग गरेको भए जुटिसकेको नेकपा टुक्रिएर यो अवस्थामा पुग्ने थिएन ।

नेपालको वामपन्थी खेमालाई आजको रक्षात्मक स्थितिमा पुर्याउने उनको मपाईवाद र पदलोलुपता नै हो । यो निस्कर्षमा पुग्न अर्को कुनै आइतबार पर्खनै पर्दैन ।

प्रतिक्रिया दिनुहोस्