
काठमाडौं । चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको बाँकी काम सरकारले गर्ने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणको बाँकी कामलाई पूर्णता दिन सरकारले समन्वय र सहजीकरण गर्ने उल्लेख छ ।
निर्वाण सम्पन्न गर्न नसक्ने भएपछि धुर्मुस–सुन्तली फाउण्डेसनले हात झिकेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला सरकारले बनाउने भएको हो ।
त्यसैगरी गैँडाकोटमा बिपी कोइराला अन्तर्राष्ट्रिय खेल ग्राम निर्माण गरिने छ भने कैलालीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानको विषयलाईसमेत नीति तथा कार्यक्रममा समेटिएको छ ।
सरकारले प्रत्येक प्रदेशमा कम्तिमा एक खेल प्रशिक्षक सुविधासहितको अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्दै जाने नीति लिएको छ ।
मुलुकका सबै स्थानीय तहमा खेल ग्राम निर्माण गर्दै लैजाने सरकारको योजना छ । राष्ट्रपति भण्डारीले पेश गरेको नीति तथा कार्यक्रममा खेलकुद विश्वविद्यालयको सम्भाव्यता अध्ययन गरी निर्माणको आवश्यक प्रक्रिया अघि बढाइने उल्लेख छ ।
पर्वतीय खेलकुदलाई अघि बढाउनका लागि अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गरिनेछ ।











