Logo
Logo

एमालेलाई थमौति गरिएपछि पोखराको मतगणना सुरु



काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको आज मध्याह्नदेखि रोकिएको मतगणना अहिले साँझ ७ बजेदेखि पुनः सुरु भएको छ ।

मतगणनाका क्रममा वडा नं १८ को नौ मत हराएको भन्दै नेकपा (एमाले)ले पुनः मतगणनाको माग गर्दै अन्य वडाको मतगणना बहिष्कार गरेपछि दिनभर गणना रोकिएको थियो ।

सो वडामा एमालेका उम्मेदवार तीन मतले पराजित भएपछि एमालेले हराएको मत खोजी नहुँदासम्म चालु मतगणना सुरु हुन नसक्ने बताएपछि गणनामा बसेका एमालेका मतगणना प्रतिनिधि बाहिरिएका थिए ।

मुख्य निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले वडा नं १८ को पुनः मतगणना गरी पाऊँ भनी नेकपा (एमाले)का तर्फबाट पेश भएको निवेदन दर्ता भई कानुनी कारबाहीको क्रममा रहेको बताए ।

उनले दलहरूबीच रोकिएको मतगणना सुचारु गर्ने सहमति भएकाले बाँकी वडामा गणना सुरु भएको जानकारी दिए ।

एमालेका पोखरा महानगर कमिटी अध्यक्ष दिलीप न्यौपानेले मतगणनाको क्रममा उत्पन्न समस्याको बारेमा थप छलफल गरी निचोड निकाल्न मुख्य निर्वाचन अधिकृतको कार्यालय तयार भएकाले स्थगित मतगणना सुचारु गर्न आफ्नो पार्टी सहमत भएको बताए ।

वैशाख ३१ गतेदेखि सुरु भएको गणनामा खसेको कूल एक लाख ४३ हजार २२६ मतमध्येमा हालसम्म एक लाख ३९ हजार ४११ मत गणना सकिएको छ । वडा नं २२, ३२ र ३३ को आंशिक गणना बाँकी छ ।

अब तीन हजार ९२५ मतगणना बाँकी छँदा सत्ता गठबन्धनबाट महानगर प्रमुखका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यको विजय सुनिश्चित भएको छ । आचार्य निकटतम प्रत्यासी एमालेका कृष्णबहादुर थापाभन्दा पाँच हजार ४८५ मतले अघि छन् ।

आचार्यले गणना बाँकी रहेको मतभन्दा बढीको अग्रता बनाएपछि समर्थकले खुसियाली मनाउँदै विजयी जुलुसको तयारी गरे पनि दिनभर गणना स्थगित हुँदा निरास बनेका थिए । उनीहरूले मतगणना तत्काल सुरु गर्न मागसहित नाराबाजी गरेका थिए ।

हालसम्म प्रमुखका उम्मेदवार आचार्यले ५७ हजार ७२ मत प्राप्त गरेका छन् भने एमालेका थापाको ५१ हजार ५८७ मत पाएका छन् ।

यसैगरी उपप्रमुखमा एमालेका उम्मेदवार मञ्जुदेवी गुरुङको जित निश्चित भएको छ । गुरुङले ५९ हजार ७० मत प्राप्त गर्दा सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार कोपिला रानाभाटको ५५ हजार ८० मत पाएका छन् । गुरुङको तीन हजार ९९० मत अग्रता छ ।

प्रतिक्रिया दिनुहोस्