काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत पोखरा महानगरपालिकामा नेकपा एमाले पराजित हुने निश्चित जस्तै भएको छ । अहिलेसम्मको अग्रताले नेकपा एकीकृत समजवादीका उम्मेदवार धनराज आचार्य मेयर निर्वाचित हुने निश्चित देखिन्छ ।
एमालेले अवरोध नगरेको भए मंगलबार बेलुकाका सम्ममा अन्तिम परिणाम सार्वजनिक हुने थियो । तर, एमालेले आफ्नो ९ भोट हराएको बखेडा निकालेपछि दिनभर गणना रोकियो ।
मतगणना चलिरहेकै बेलला एमालेले वडा नं १८ को आफ्नो ९ मत हराएको भन्दै पुनः मतगणनाको माग गर्यो । त्यति मात्र होइन, मतगणना बहिष्कार गरेर एमाले बाहिरियो । एमाले बाहिरिएपपछि दिनभर मतगणना रोकियो ।
१८ नम्बर वडाका आफ्ना अध्यक्षका उम्मेदवार ३ मतले पराजित भएपछि एमालेले ९ मत हराएको बखेडा निकाले हो । आफ्ना उम्मेदवार ३ मतले पराजित भएपछि एमालेले हराएको मत खोजी नहुँदासम्म चालु मतगणना सुरु हुन नसक्ने बताएको थियो ।
दिनभर मतगणना बहिस्कार गरेको एमाले साँझपख भने गणनामा फर्केपछि मतगणना पुनः सुरु भएको छ । एमाले त्यसै फर्केको भने होइन । कांग्रेसले काउन्टर दिएपछि गणनामा फर्केको हो ।
कांग्रेसको काउन्टर निवेदन
एमालेका कारण मतगणना रोकिएपछि मतगणना स्थलमा कांग्रेसले काउन्टर नाराबाजी गर्यो । त्यति मात्र होइन, कांग्रेसले पनि आफू पराजित भएको वडा नम्बर १ र १७ मा पुनः मतगणना गरिपाउँ भनि निर्वाचन कार्यालयमा निवेदन दियो ।
वडा नम्बर १ का कांग्रेसका अध्यक्ष उम्मेद्वार सीता गुरुङले आफूसहित सदस्य उम्मेद्वारलाई दवावमा पारेर आफ्नो प्रतिकुल नतिजा सार्वजनिक गरिएको आरोप लगाउँदै पुनः गणनाको माग गरे । जुन वडामा एमालेका सहारा प्रधान ४१ मत अन्तरले विजयी भएका थिए ।
यस्तै, वडा नम्बर १७ का कांग्रेस उम्मेद्वार देवराज आचार्यले पनि पुनः गणनाको माग गर्दै उही ढाँचामा उनले निवेदन दिए । उनीहरु दुवैले पहिलेभन्दा फरक गणक राख्न र निष्पक्ष रुपमा गणना गर्नुपर्ने माग राखे ।
एमालेले जस्तै आफू पराजित भएको वडामा कांग्रेसले पनि पुनः मतगणना गर्न माग गरेपछि एमाले मतगणनामा फर्केको हो । एमाले मतगणनामा फर्केपछि पोखराको मतगणना जारी छ ।