काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई एक हप्ताभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।
पार्टी महासचिव डा बेदुराम भुसालले बुधबार निार्वचन विशेष सर्कुलर जारी गर्दै निर्वाचित जनप्रतिनिधिलाई जेठ १७ गतेसम्म सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको हो ।
सर्कुलरमा भनिएको छ– ‘हाम्रो पार्टीको तर्फबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधि कमरेडहरूले आगामी जेठ १७ गतेभित्र आ–आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुहोला । उक्त कामको अनुगमन गर्न सम्पूर्ण जिल्ला कमिटीहरूलाई निर्देशन गरिन्छ ।’
जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्न पनि जनप्रतिनिधिहरूलाई निर्देशन दिएको छ । ‘निर्वाचनको बेला जनसमक्ष गरेको वाचालाई कहिल्यै नभुल्नु होला । ऐन तथा कानुनहरूको परिधिमा रहेर इमानदारिता र कर्तव्य निष्ठाताका साथ जनताको सेवा गर्नुहोला । निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारबाट मुक्त रहँदै स्वच्छ एवं सादा जीवन शैली र असल आचरणको अवलम्बन गर्नुहोला’, सर्कुलरमा भनिएको छ ।
सत्ता गठबन्धनसँग मिलेर एकीकृत समाजवादीले पोखरा महानगर र हेटौंडा उपमहानगरमा मेयर जितेको छ । देशभरि एकीकृत समाजवादीले यसपालि २० पालिकामा मेयर र अध्यक्ष जितेको छ ।












