
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र एमाले नेता घनश्याम भुसालको गृहनगर रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नतिजा आउन बाँकी छ ।
यो एमाले उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्रसमेत पर्छ । अधिकांश पालिकाको नतिजा सार्वजनिक भइसकेको अवस्थामा यो नगरलाई एमाले र कांग्रेसले प्रतिष्ठाका रुपमा लिएका छन् ।
तिलोत्तमामा ५ हजार २ सय ५१ मत गन्न बाँकी हुँदा नेपाली कांग्रेसका रामकृष्ण खाँण अगाडि छन् । उनी गृहमन्त्री बालकृष्ण खाँणका भाइ हुन् । खाँणले २२ हजार ४ सय ५४ मत पाएका छन् । एमालेका मोहन चापागाईंले २१ हजार ६ सय ४७ मतसहित पछ्याइरहेका छन् ।
उपमेयरमा एमालेका जगेश्वरी चौधरी निर्वाचित भइसकेकी छन् । चौधरीले २१ हजार २ सय १८ मत पाउँदा माओवादी केन्द्रका हेमन्त पाण्डेले १० हजार ५ सय ५४ मत मात्रै पाएका छन् ।











