Logo
Logo

एमालेलाई सिध्याउँछु भनेरै सत्ता पक्ष लाग्यो : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षले प्रतिपक्षलाई सिध्याउन राज्य संयन्त्रको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधिसभामा सरकारले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै ओलीले सत्ता पक्षले प्रतिपक्षलाई राज्य संयन्त्रलाई दुरुपयोग गरेर पेल्ने काम गरेको आरोप लगाएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले चुनावमा जित र पराजित स्वाभाविक कुरा भएपनि सत्ता पक्षले एमालेलाई सिध्याउँछु भनेरै लागेको आरोप लगाए ।

उनले भने, ‘सत्ता पक्षले यस पार्टीलाई सिध्याउँछु भन्छ, सिध्याउँछु भन्ने हक कहाँबाट आयो ? चुनावमा जित-पराजय एउटा कुरा हो, पराजय भोगाउँछौँ, हामी जित्छौँ भन्न सकिन्छ तर सिध्याउँछौँ समाप्त पारिदिन्छौँ, धूलो चटाइदिन्छौँ, गायब पारिदिन्छौँ, टर्च बालेर खोज्न पर्छ भन्ने । टर्च बालेर नि भेटिँदैन होला होइन र ।’

उनले एमाले सशक्त प्रतिपक्ष भएको र छिट्टै सरकारमा आउन सक्ने दावी गरे । ओलीले भने– ‘अपोजिसनलाई जहिले पनि गभर्नमेन्ट इन वेटिङ भनिन्छ । एमाले सैद्धान्तिक तवरमा मात्रै गभर्नमेन्ट इन वेटिङ होइन, नेकपा एमाले इन द रियल सेन्स गभर्नमेन्ट इन वेटिङ हो ।’

अनेक हिसाबले षड्यन्त्रस्वरूप यसलाई बाहिर राखिएको भन्दै उनले एमाले लोकतन्त्रको समुद्रमा पौडी खेल्न जान्ने पार्टी भएरको र पौडी खेलेर आएको बताउँदै भने– ‘अनेक दाउपेचबाट होइन, एमाले पौडी खेलेरै यहाँसम्म आएको हो ।’

प्रतिपक्षलाई संवादहीनताको अवस्थामा राखेर पेल्ने काम गरिएको उनको भनाइ छ । ओलीले भने– ‘विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौता गर्दा प्रतिपक्षसँग छलफल गरिएको छैन । प्रतिपक्षलाई संवादहीनताको अवस्थामा राखेर पेल्ने काम गरिएको छ ।’

यो पनि पढौँ

प्रतिक्रिया दिनुहोस्