Logo
Logo

बुढीगंगा नगरपालिकामा पुन: मतदान हुने



काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा पुनस् मतदान हुने भएको छ । निर्वाचन आयोगले बिहीबार एक विज्ञप्ति जारी गरी बुढीगंगा नगरपालिकामा पुनस् मतदान गर्ने जानकारी गराएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मतदान गर्ने मिति र समय यथाशीघ्र तोकिनेछ ।
यसअघि ३० वैशाखमा भएको मतदानमा बुथ कब्जा भएको विषयमा दलहरुबीच विवाद भएपछि मतदान रोकिएको थियो ।

नगरपालिकाका कूल दश वटा वडामध्ये ६ वटा वडामा अत्यधिक विवाद थियो । २, ३, ४, ५, ७ र ९ नम्बरमा रहेका मतदान केन्द्रमा स्वतन्त्र मतदान हुन नसकेको स्थानीय मतदाताको भनाइ छ ।

२, ३, ५ र ९ नम्बर वडाका मतदान स्थललाई नेकपा एमालेका कार्यकर्ताहरुले नियन्त्रणमा लिएका थिए भने कांग्रेस कार्यकर्ताहरुले वडा नम्बर ४ र ७ लाई नियन्त्रणमा लिएर आफू अनुकूल एकोहोरो मतदान गरेका थिए ।

बिहीबार बसेको आयोगको बैठकले बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, बाजुराका प्रहरी प्रमुख डीएसपी चतुर्भुज ओझा, सशस्त्र प्रहरी बलका एसपी दीपक विष्टले सुरक्षा व्यवस्थामा गम्भीर लापरवाही गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निष्पक्षतामा आँच आउने काम गरेकाले उनीहरुलाई तीन दिनभित्र हटाउन गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्