Logo
Logo
साहित्य

सङ्क्रान्ति बजारको सोल्टिनी


योङहाङ प्रदीप लिम्बू


ए सङ्क्रान्ति बजारको गुमनाम सोल्टिनी
वर्षौँ पछि आज हजुरको सम्झना आयो ।

हावाले पो बोकी ल्यायो कि
या यो साँझले पो बोकी ल्यायो
उड्दै पो आयो कि
कि बेगले कुद्दै पो आयो
जसले जसरी ल्याए पनि
जस्तो जे गरी आएपनि
ए सङ्क्रान्ति बजारको गुमनाम सोल्टिनी
वर्षौँ पछि आज हजुरको सम्झना आयो ।

भित्ताको खोपामा लुकाएको
ऊ बेला हजुरले पठाउनु भएका चिट्ठीहरू
धमिरा लागे पनि
हृदयको खोपामा लुकाएको सम्झनामा त
धमिरा नलाग्दो रहेछ ।
ए सङ्क्रान्ति बजारको गुमनाम सोल्टिनी
वर्षौँ पछि आज हजुरको सम्झना आयो ।

समयको तानमा जिन्दगी बुन्दा बुन्दै
हजुर कता छुट्नु
म कता छुटेँ ।

जिन्दगीको पालाम गाउँदा गाउँदै
हजुर कता छुट्नु
म कता छुटेँ ।

हजुर आउनु भो कि सम्झेर
चतुरे मेलामा र निसान मेलामा
धुइँधुइँति नखोजेको पनि कहाँ होर ?
पुसे मेलामा त जसरी पनि भेट होस् है भनेर
देउरालीको ढुङ्गालाई नढोगेको पनि कहाँ हो र ?

हजुर त जाली होइन, बरु यो समयनै पो जाली रैछ
हजुरको नाम छ कि सम्झेँ, निधार त मेरो खालि रैछ

ए सङ्क्रान्ति बजारको गुमनाम सोल्टिनी
वर्षौँ पछि आज हजुरको सम्झना आयो ।

त्यतिन्जेलसम्म अक्षर, मात्रै अक्षर हो जस्तो लाग्थ्यो
तर हजुरको चिट्ठी पढेपछि थाहा पाएको थिएँ–
अक्षरहरूले पनि धड्कन बोक्छन्
अक्षरहरूले पनि कम्पन बोक्छन् ।

त्यतिन्जेलसम्म कागजलाई–
अक्षर कोर्ने फगत कागज मात्रै सम्झिन्थे
हजुरले मेरो नाममा चिठी लेखेपछि थाहा पाएँ–
नाथे एउटा कागजको टुक्रा पनि जिन्दगीमा खास बनिदिन्छ
जब कसैले आफ्नो नाम बढो प्रेमले, विश्वासले लेखिदिन्छ ।

जाँडले मातेर पो हो कि
या जिन्दगीदेखि थाकेर पो हो
झरी परेर पो कि
कि आकाश गर्जेर पो हो
ए सङ्क्रान्ति बजारको गुमनाम सोल्टिनी
वर्षौँ पछि आज हजुरको सम्झना आयो ।

प्रतिक्रिया दिनुहोस्