Logo
Logo

दक्षिणी रसुवामा चोरको बिगबिगी, दुई सातामा २६ घरमा चोरी


693
Shares

रसुवा । व्यक्तिगत घर तथा वित्तीय संस्था फुटाली धनमाल चोर्ने घटना दिन प्रतिदिन बढेपछि दक्षिणी रसुवाका बासिन्दा अहिले त्रसित भएका छन् । उनीहरुले गाउँको सुरक्षार्थ टोलटोलमा पहरा दिनेकार्य गर्न योजनासमेत बनाएका छन् ।

गत वैशाख १९ गतेबाट चोरीको घटना हुन थालेपछि धैबुङ, बेतिनी, बेल्चौर, माझगाउँ, थाक्ले, उपल्लो पौवा, बनुवा, लहरे, मनिगाउँ, ढुङ्गे, कर्मिडाँडा, डाँडागाउँ, ठुलोगाउँलगायतका आसपासका हजारौँ स्थानीय त्रसित बनेका हुन् ।

प्रतिकात्मक तस्बिर

करिब दुई साता यता ती स्थानमा २६ निजी घर, चार सहकारी संस्था, दुई स्वास्थ्य संस्था, एक वडा कार्यालयसमेतमा नगद तथा केही सुनका गरगहना एवं मेशनरी उपकरणसमेत चोरी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हालसम्म विभिन्न घर तथा संस्थाबाट रु चार लाख ७३ हजार, चार तोला सुन चोरी भएको पीडितबाट जानकारी आएको जिल्ला प्रहरी प्रमुख कुलदिप चन्दले जानकारी दिए ।

उनले चोरी गर्ने व्यक्तिको खोजीकार्य तीव्ररूपमा भइरहेको बताए । उनले गाउँघरमा आउने नयाँ वा शंकास्पद व्यक्तिको सुचना तुरून्तै प्रहरीलाई दिनसमेत स्थानीयमा अपिल गरेका छन् ।

प्रहरीले घर खाली गरेर नछाड्न, घरको बाहिरी भागमा रातभर बत्तिबाली उज्यालो राख्न, व्यापार वा भेटघाटको निहुँमा आउने व्यक्तिको बोलीचाली, हाउभाउको निगरानी बढाई प्रहरीलाई सुचना दिने कार्यमा सहयोग गर्न अपिल गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए ।

चोरीको घटना बढेपछि धन–सम्पति जोगाउन स्थानीयले शनिबार साँझदेखि जाग्राम बस्ने लहरेका डा सरोज श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्