Logo

‘विप्लव’ समूहका दुई जिल्ला नेता पक्राउ


Published On : 11 July, 2019

परासी, २६ असार । पश्चिम नवलपरासीमा प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) समूहका दुई जिल्लास्तरका नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सदस्य कमालुद्दिन अन्सारी र शारदा भण्डारी रहेका छन् ।
अन्सारीलाई बिहीबार बिहान र भण्डारीलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । दुवै आगो लगाएको संगठित अपराध मुद्दामा फरार रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
रामग्राम–१० नदवा बस्ने वर्ष ५७ का अन्सारीलाई बिहीबार बिहान घरबाटै पक्राउ गरी आवश्यक अनुसन्धान थालिएको उनले बताए । यसअघि विप्लव समूहकै जिल्ला सदस्य तथा उक्त समूहको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) नवलपरासीकी जिल्ला अध्यक्ष शारदा भण्डारीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
२२ वर्षीया भण्डारीलाई पश्चिम नवलपरासी पहरीले सरावल गाउँपालिका–१ बासाचोकबाट पक्राउ गरेको थियो । भण्डारीलाई जिल्ला प्रहरी कार्यालयमा राखी आवश्यक अनुसन्धान थालिएको छ । भण्डारी कपिलवस्तु शिवराज नगरपालिका–१ की स्थायी बासिन्दा हुन् । रासस

प्रतिक्रिया दिनुहोस्