Logo
Logo

एमाले जिल्ला इन्चार्ज नै मुख्य अन्तर्घाती



धनगढी । नेकपा (एमाले)ले पार्टी भित्रकै अन्तरघातका कारण कैलालीमा भारी पराजय भोग्नु परेको ठहर गरेको छ । २०७४ सालको निर्वाचनमा कैलालीका १३ पालिकामध्ये एमाले सात पालिकामा विजयी भएको थियो । यसपटक भने चुरे र बर्दगोरिया गाउँपालिका गरी दुई पालिकामा अध्यक्ष मात्र जितेर एमालेले चित्त बुझाउनु परेको छ ।

चुनावअघि तयारी बैठकमा एमाले जिल्ला इन्चार्ज नारदमुनी रानाले कैलालीका १० पालिकमा जित सुनिश्चित भएको दाबी गरेका थिए । उनकै निर्वाचन क्षेत्र धनगढी उपमहानगरपालिकाको मेयरमा रणबहादुर चन्द भारी मतान्तरले पराजित भएका छन् । स्वतन्त्र उम्मेदवार गोपाल हमालले २६ हजार ८ सय ६५ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नृप ओडले १४ हजार ८ सय १७ मत ल्याएका छन् भने तेस्रो भएका एमालेका चन्दले ९ हजार १ सय १५ मत प्राप्त गरेका छन् ।

धनगढीमा नेकपा एमालेकी कन्दकलाकुमारी राना १५ हजार ४ सय ७९ मत ल्याई उपमेयरमा विजयी भएकी छिन । उपमेयरमा रानाको जितसंगै नेकपा (एमाले) कैलालीमा आन्तरिक द्धन्द चर्किएको छ । उपमेयरकी विजेता राना एमाले जिल्ला इन्चार्ज नारदमुनी रानाकी परिवारकी एक सदस्य हुन । नाताले उनी नारदकी कान्छी आमा पर्छिन । मेयर र उपमेयरबीच करिब ६ हजारको मतान्तर रहदा चन्दलाई भोट नदिएको भन्दै रानाहरूमाथि आरोप लगाइएको छ । धनगढी उपमहानगरपालिकामा रानाहरूको भोट निर्णायक हुँदै आएको छ ।

रानाहरूकै भोटको बलमा प्रधानमन्त्रीपत्नी आरजु राणालाई नारदमुनीले २०७४ को संसदीय चुनावमा पराजित गरेका थिए । उक्त भोट बैंकको भरोसामा रणबहादुर चन्द धनगढीको मेयरमा चुनाव लडेको एमाले कैलालीका एकजना नेताको दाबी छ ।

चन्दलाई चुनाव हराउन नारदमुनी गोप्यरुपमा सक्रिय रहेको आरोप एमालेजनले लगाउन थालेका छन् । चुनावको एक सात अघि स्वतन्त्र उम्मेदवार गोपाल हमाल र एमाले जिल्ला इन्चार्ज नारदमुनी रानाबीच एकअर्कालाई सघाउने सहमति भएको थियो भन्ने चर्चा अहिले कैलाली एमालेमा चलेको छ ।

उसो त चन्द र राना २३–२७ पुस २०७८ मा सम्पन्न आठौं जिल्ला अधिवेशनताका प्रदेश इन्चार्ज लेखराज भट्ट विरुद्द गुट निर्माण गरी एकठाउँमा आएका थिए । त्यसबेला भीम रावललाई नेता मान्नेगरी नारदमुनी राना, झपट रावल, लिला भण्डारी, कमला ओली सहितको गुट निर्माण गरिएको थियो । यस गुटले अघि सारेका रणबहादुर चन्द जिल्ला अध्यक्षमा पराजित भएका थिए । अहिले कैलाली जिल्ला कमिटीमा यही गुटको बहुमत छ । स्थानीय चुनावमा १३ वटै पालिकामा टिकट बाडन यो गुट हावी देखिएको थियो ।

जिल्ला अध्यक्ष रतन थापाले लम्कीचुहा नगरपालिकाको मेयरमा महादेव बजगाईलाई कुनै पनि हालतमा टिकटका लागि सिफारिस गरिन्नँ भन्ने सार्वजनिक अभिव्यक्तिका बावजुद पनि नारदमुनीसहितको टिमले महासचिव शंकर पोखरेलको ठाडो हस्तक्षेपमा महादेवलाई मेयरको टिकट दिलाएका थिए । बजगाई नेपाली कांग्रेसकी सुशीला शाहीसंग २२७८ मतान्तरमा पराजित भए । बजगाई उम्मेदवारका लागि कुनै पनि कमिटीबाट सिफारिसमा परेका थिएनन् ।

पार्टीका सबै कमिटीहरूले एकता प्रक्रियाबाट आएका दलबहादुर विष्टलाई मेयरको लागि उम्मेद्वाारमा सिफारिस गरेको थियो । बजगाई हारे पनि लम्कीचुहामा एमालेकी उम्मेदवार जुना चौधरी ११ हजार ७ सय ८ मत ल्याई उपमेयरमा विजयी भएकी छिन । लम्कीचुहा जिल्ला अध्यक्ष रतन थापाको होमटाउन भएकाले तिनै थापाले बजगाईलाई हराउन अन्तरघात गरेको रिपोर्ट शिर्ष नेताहरू कहाँ पु¥याइएको चर्चा कैलालीमा छ ।

लेखराजले भाइलाई पनि जिताउन सकेनन्
एमाले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टका सदोहर भाइ गोदावरी नगरपालिको मेयरमा पराजित भएका छन् । झपट रावल र नारदमुनी गुटहरूले नै गोकर्णलाई अन्तर्घातबाट पराजित गराउन कार्यकर्ता परिचालन गरेको रिपोर्ट तयार गरिएको समाचार स्रोतको दाबी छ । गोकर्ण ४ हजार २ सय ७७ मतान्तरले नेपाली कांग्रेसका वीरेन्द्र भट्टसँग पराजित भएका छन । वीरेन्द्रले १५ हजार ५ सय १ मत ल्याई विजयी हुँदा गोकर्णले ११ हजार २ सय २४ मत ल्याएका थिए ।

पुराना किल्ला सबै गुमे
२०७४ सालको स्थानीय निर्वाचनमा नेकपा (एमाले)ले कैलालीका सात पालिकामा जित निकालेको थियो । ती सबै पालिका यसपटक एमालेले गुमाएको छ । २०७४ सालमा गोदावरी नगरपालिकामा एमालेका हरिसिंह साउद मेयर र रत्ना कठायत उपमेयर विजयी भएका थिए । गौरीगंगा नगरपालिकाको मेयरमा भीम देउवा र उपमेयरमा चला चौधरी, लम्कीचुहाको मेयरमा महादेव वजगाई र उपमेयरमा टीका थापा, घोडाघोडी नगरपालिकामा ममताप्रसाद चौधरी मेयरमा र प्रेमकुमारी थापा उपमेयरमा विजयी भएका थिए ।

टीकापुर नगरपालिकामा तपेन्द्र रावल मेयरमा, चुरे गाउँपालिकाको अध्यक्षमा धनबहादुर रोक्कामगर र उपाध्यक्षमा दिपादेवी साउद, मोहन्याल गाउँपालिकाको अध्यक्षमा नवलसिंह रावल र उपाध्यक्षमा पुजा बुढा विजयी भएका थिए । तर, यसपटक पुराना सबै किल्ला गुम्दा पनि नेकपा एमालेको जिल्ला र नगर तहका कमिटीका प्रमुखहरूको कुनै धारणा आएको छैन ।

एक जना जिल्ला सदस्यले भने ‘यस्तो असफल नेतृत्वले तुरुन्त राजीनामा दिनु पथ्र्यो । अब कैलालीका जिल्ला र नगर कमिटीहरू पुर्नगठन गरी योग्य नेतृत्वलाई पार्टी जिम्मा लगाइएन भने ६ महिना पछिको प्रदेश र संघको निर्वाचनमा नतिजा शून्यमा झर्नेछ ।’

चरम गुटबन्दी
कैलालीमा नेकपा एमालेले हार बेहोर्नुको मुल कारण चरम गुटबन्दी भएको प्रारम्भिक बिष्लेषण गरिएको छ । पार्टीको मुल नेतृत्वबाट भीम रावलको बहिर्गमनपछि सुदूरपश्चिम प्रदेशमा एमालेको संगठन चिराचिरामा फाटेको यहाँका बाम बुद्धिजीवीहरूको विश्लेषण छ । यसैगरी कैलालीमा मात्रै एमालेभित्र आधा दर्जन बढी गुटहरू अस्तित्वमा रहेका देखिन्छन । ती गुटहरूका जरा एमालेका शीर्ष नेताहरूका घरसम्म फैलिएका कारण कैलालीमा एमाले पार्टी जस्तो नरहेकोमा कार्यकर्ता पंक्तिमा निरासा छाइरहेको कैलाली जिल्ला कमिटीका एकजना सदस्यले दुखेसो पोखे ।

गुटबन्दीका कारण नेकपा एमाले कैलालीको नेतृत्वमा राम्रा मान्छेहरू नअटाएको, स्थानीय निर्वाचनमा पनि राम्रा जनप्रेमी उम्मेदवार चयन गर्न नसकेको र अघि

कांश पालिकामा पुराना जनप्रतिनिनिधिलाई उम्मेदवार बनाएका कारण पार्टीले क्षति बेहोर्नु परेको आम कार्यकर्ताको धारणा छ । यस्तो अवस्थामा अगामी प्रदेश र संघको निर्वाचनमा पनि नोक्सान बेहोर्नु पर्ने त्रास एमाले कैलालीमा फैलिएको छ ।

दृष्टिन्यूज डट कममा ‘एमाले जिल्ला इञ्चार्ज नै मुख्य अन्तर्घाती’ शीर्षकमा प्रकाशित समाचारमा खण्डन प्राप्त भएको र समाचार तयार पार्दा सम्बन्धिन व्यक्तिको धारणा नलिनु भुल भएको हुनाले आगामी दिनमा समाचार तयार पार्दा सम्बन्धित व्यक्तिको समेत धारणा समेट्ने प्रतिवद्धतासहित प्राप्त खण्डन प्रकाशन गरिएको छ । –सम्पादक

खण्डन

मितिः २०७९।०३।०१
श्री दृष्टि मिडिया प्रा.लि. नक्साल, काठमाडौ, नेपाल

विषयः क्षमायाचनासहित भुलसधार सच्याइ समाचार हटाउने सम्बन्धमा ।

मिति २०७९ जेष्ठ १७ गते मंगलवार १२ः४२ बजे नक्साल, काठमाडौं अवस्थित दृष्टि न्यूज (दृष्टि मिडिया प्रा.लि.)को यस अनलाइनमार्फत ‘एमाले जिल्ला इन्चार्ज नै मख्य अन्तर्घाती’ भन्ने शीर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ । नेकपा (एमाले) पोलिटव्युरो सदस्य, कैलाली जिल्ला इन्चार्ज, पूर्वमन्त्री, प्रतिनिधि सभा सदस्य माननीय नारद मुनी रानाको राजनीतिक जीवनको चरित्र हत्या गर्ने, बदनाम गर्ने कुचेष्ठाका साथ ‘ध.उ.म.न.पा मेयरका उम्मेदवार रणबहादुर चन्द हराउन स्वतन्त्र उम्मेदवारसँग सम्झौता गरेको र गोदावरी न.पा. को एमालेका मेयरका उम्मेदवार गोकर्ण भट्टलाई अन्तर्घातबाट हराउन कार्यकर्ता परिचालन गरेको’ भनी सम्प्रेसित यस समाचारप्रति गम्भीर आपत्ति, भर्तसना, खेद प्रकट गर्दछौं । कसैको विषयमा समाचार बनाउँदा अझ आरोप लगाउँदा सामान्य पत्रकारिताको आचार संहितासमेत पालना गरेको देखिदैन । जबकी जस्को बारेमा समाचार लेख्न्नु पर्ने हो सम्बन्धित व्यक्तीलाइ एक पटक सोध्नु पर्छ कि पर्दैन ? कुनै ठोस प्रमाण विना तथ्यहिन, झुटो, कपोकल्पित, मनगढन्त, पुर्वाग्रही तरिकाले सम्प्रेषित यो समाचारले माननीय ज्यूको चरित्र हत्या गरेको, आम समुदाय ,कार्यकर्ता, नेतामा भ्रम श्रृजना गरेको, समाजमा द्वेश फैलाउने काम गरेको हुँदा क्षमायाचना सहित भुलसुधार गरी समाचार हटाउन अनुरोध गर्दछौ, अन्यथा कानुन वमोजिम अगाडी बढ्ने कुरा अवगत गराउन चाहन्छौ ।

कमल सिं राना
स्वकीय सचिब (माननीय नारद मुनी राना)

प्रतिक्रिया दिनुहोस्