काठमाडौं । नेकपा माओवादी केन्द्रको पूर्वस्थायी समिति बैठकले अखिल क्रान्तिकारीमा देखिएको विवाद दुबै पक्षलाई बोलाएर छलफल गर्ने निर्णय गरेको छ ।
आइतबार प्रचण्ड निवास खुमलटारमा बसेको पूर्वस्थायी समितिको बैठकले अखिल क्रान्तिकारीका दुवै पक्षसँग छलफल गरेर निकास निकाल्ने विषयमा निर्णय भएको पूर्वस्थायी समिति सदस्य लीलामणि पोखरेलले जानकारी दिए ।

उनका अनुसार अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह भइसकेपछि अर्को पक्षले विवाद निकालेको र दुवै पक्ष बसेर छलफल गरेर विवाद समाधान गर्ने निर्णय भएको छ ।
अखिल क्रान्तिकारीको अध्यक्ष सिंह भएपछि पवन कार्की पक्षले विवाद निकालेको छ । कार्कीलाई उपाध्यक्ष बनाएर महासचिवमा दीपेश पुनलाई बनाएपछि उनले छुट्टै भेला गर्दै आएका छन् ।
अखिल क्रान्तिकारीमा थप विवाद बढ्ने भएपछि शनिबार बेलुका खुमलटार छलफलमा पूर्व स्थायी समिति बैठकबाट निकास निकाल्ने समझदारी भएको थियो ।














