Logo
Logo

कांग्रेस र माओवादीले धोका दिएकै हो ?


1.8k
Shares

काठमाडौं । गत वैशाख ३० गते सम्पन्न दोस्रो स्थानीय तह निर्वाचनमा सत्तारुढ पाँचदलीय गठबन्धनको सबैभन्दा बढी लाभ नेपाली कांग्रेस र माओवादी केन्द्रले लिएका छन् । अन्य तीन दल नेकपा (एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा (राजमो)ले भने गठबन्धनबाटै धोका पाएका छन् ।

अघिल्लोपटक २०७४ सालको निर्वाचनमा तीनवटै तहमा नराम्रो हार बेहोरेको कांग्रेस २०७९ को निर्वाचनमा आइपुग्दा गठबन्धनको जगमा ७ सय ५२ मध्ये ३ सय २९ पालिकाको नेतृत्व जित्दै सबैभन्दा ठूलो दलको रुपमा उदाएको छ ।

धाँधली भएपछि बाजुराको बुढीगंगा नगरपालिकामा रोकिएको मतदान केही दिनमा गर्ने तयारी छ । सत्ता साझेदार अर्को दल माओवादी केन्द्रले पनि गठबन्धनबाट राहत लिएको देखिएको छ । अघिल्लो चुनावभन्दा कांग्रेसले ८ प्रतिशत र माओवादी केन्द्रले २ प्रतिशत बढी पालिका जितेका छन् ।

गठबन्धनका माओवादी केन्द्रले १ सय २१, एकीकृत समाजवादीले २०, जसपाले ३० र राजमोले ४ पालिका प्रमुख जित्दा एमालेले २ सय ५ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले १६ पालिकाको नेतृत्व जितेका छन् । अन्य पार्टी तथा स्वतन्त्रले ३१ पालिकाको नेतृत्व जितेका छन् ।

गठबन्धनमा इमान्दारिता भएको भए एमाले र लोसपा अझै खुम्चिने थिए भने एकीकृत समाजवादी र जसपाले सिट संख्या बढाउने थिए । गठबन्धनमा कांग्रेस र माओवादीबाट धोका नपाएको भए एकीकृत समाजवादीले कम्तीमा १०० र जसपाले कम्तीमा ४० सिट जित्ने निश्चित थियो ।

तर, कांग्रेस र माओवादीबाट इमान्दारिताका साथ सहयोग हुन नसक्दा एमाले र लोसपालाई प्रत्यक्ष फाइदा पुगेको छ । गठबन्धन भएका ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा पनि राम्ररी लागू भएन । पोखरा महानगरपालिकामा भने इमान्दारिपूर्वक भोट आएको छ । महानगर र उपमहानगरमा प्रमुख र उपप्रमुखमा तालमेल भएपनि वडाहरूमा छुट्टाछुट्टै निर्वाचन लड्ने अवस्था आयो । अन्यत्र त गठबन्धन नै हुन सकेन ।

गठबन्धनमा कांग्रेस र माओवादीबाट धोका नपाएको भए एकीकृत समाजवादीले कम्तीमा १०० र जसपाले कम्तीमा ४० सिट जित्ने निश्चित थियो । तर, कांग्रेस र माओवादीबाट इमान्दारिताका साथ सहयोग हुन नसक्दा एमाले र लोसपालाई प्रत्यक्ष फाइदा पुगेको छ ।

जुन मिसनका लागि गठबन्धन भएको थियो, त्यसमा एकीकृत समाजवादी पूरै प्रतिवद्ध भएको देखियो । तर, कांग्रेस र माओवादीबाट इमान्दार प्रयास भएको देखिएन । गठबन्धन भएको ठाउँमा अन्य पदमा जहाँ कमललाई भोट आएको छ, त्यहाँ रुखलाई पनि आएको छ । तर, रुखमा लगाएको ठाउँमा कलमलाई भोट आएको छैन ।

अझ रुख र कलममा पनि छाप लगाएर धेरै मत बदर भएको छ । गठबन्धनबाट एकीकृत समाजवादीले उपमेयर पद लिएको काठमाडौँ महानगरपालिका, बुटवल, तुल्सीपुर र इटहरी उपमहानगरपालिकामा रुख र कलम दुबैतिर स्वस्तिक छाप लगाइदिँदा बदर मत अत्याधिक देखिएको छ । त्यस ठाउँमा बदर मतसमेत जोड्दा कलमले जित्ने थियो ।

नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको समीक्षा थालेको छ । स्थानीय तहको निर्वाचनमा सत्तारूढ पाँचदलीय गठबन्धनका दुई दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बाट धोका भएको प्रारम्भिक निष्कर्ष समाजवादीको छ । आफ्नो प्रभाव क्षेत्र रहेको कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशमा कांग्रेस र माओवादीले बेग्लै गठबन्धन गरेर धोका दिएको आरोप छ ।

एकीकृत समाजवादीले असन्तुष्टिलाई पाँच दलको बैठकमा प्रवेश गराइसकेको छ । केन्द्रबाट गठबन्धनको निर्णय भए पनि तल कार्यान्वयन नहुँदा पार्टीले अपेक्षित जित निकाल्न नसकेको समाजवादीको बुझाई छ । स्थानीय निर्वाचनमा एकीकृत समाजवादीले २० प्रमुख र २४ उपप्रमुख जितेको छ । तीमध्ये नौवटा पालिका गठबन्धनको सहयोगविनै एकल प्रतिस्पर्धामा जित हासिल गरेको छ ।

सात नेतालाई जिम्मा

समाजवादीले गठबन्धनबाट भएको असहयोगलगायतका विषयमा पाँच दिनभित्र सातवटै प्रदेशबाट विस्तृत सूचना संकलनका लागि सचिवालयका सात नेतालाई जिम्मा दिएको छ । प्रदेश १ मा उपाध्यक्ष जयन्ती राई, मधेस प्रदेशमा स्थायी समिति सदस्य रामचन्द्र झा, बागमती प्रदेशमा उपमहासचिव गंगालाल तुलाधर, गण्डकी प्रदेशमा उपाध्यक्ष प्रमेश हमाल, लुम्बिनी प्रदेशमा उपमहासचिव डा. विजय पौडेल, कर्णाली प्रदेशमा उपमहासचिव प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशमा महासचिव बेदुराम भुषाललाई जिम्मेवारी दिइएको छ ।

सातवटै प्रदेशबाट विस्तृतमा सूचना संकलन भएपछि सचिवालयमा घनीभूत समीक्षा हुने र त्यसलाई प्रतिवेदनका रूपमा स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय कमिटी र केन्द्रीय परिषद् बैठकसम्म लगेर छलफल गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्