Logo
Logo

हुन्डीलाई गृहमन्त्रीको संरक्षण


2.3k
Shares

काठमाडौं । हुन्डी, सुन तस्करी जस्ता अवैध धन्दाले देशको अर्थतन्त्र समस्यामा बढेको छ । यस्तो अवैध धनको कारोबार गर्नेहरुलाई राज्यले छुन सकेको छैन । यस्ता गिरोहका नाइकेहरू कति शक्तिशाली छन् भन्ने कुरा गत साताको एक घटनाले देखाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गत १२ जेठमा अवैध धनको कारोबारमा संलग्न दुई जनालाई स्रोत नखुलेको पैसा र बेटिङ कारोबारसम्बन्धि प्रमाणसहित पक्राउ गरेको थियो । तर, पक्राउ परेको केही घन्टामै उनीहरु छुटेका छन् । हुन्डी, सुन तस्करी तथा अवैध बेटिङको कारोबारको आरोपमा प्रहरीले महाबौद्धबाट सुनिल भद्रपुरिया र प्रवीण अग्रवाललाई पक्राउ गरेको थियो ।

एसएसपी बसन्त कुँवरले निकै मेहनत गरेर उनीहरुलाई पक्राउ गरेका थिए । तर, गृह मन्त्रालय र उच्च प्रहरी अधिकारीबाट ठूलो दबाब आएपछि डिआइजी बढुवाको मुखमा रहेका एसएसपी कुँवरले ‘हस हजुर’ भनेर उनीरुलाई छाड्न बाध्य भए ।

पक्राउ परेका दुवैले हालै सम्पन्न इन्डियन प्रिमियर लिग(आइपिएल)मा मात्र करोडौंको बुकी खेलाएको स्रोत बताउँछ । यस्तो रकम हुन्डीमार्फत विदेश जाने गरेको छ ।

सुन तस्करी तथा अन्य अपराधको रकम पनि उनीहरुले हुन्डीमार्फत विदेश पठाउने काम गर्दै आएको स्रोतले बताएको छ । सोही सूचनाका आधारमा दुई महिनादेखि निगरानी गरेर प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । ‘तर एसएसपीसाबले दबाब थेग्न सक्नुभएन,’ महाशाखाका एक अधिकारी भन्छन्,‘यस्ता कारोबारीको सिधैं गृहमन्त्रीसँग उठबस हुँदो रहेछ ।’

पक्राउ परेका भद्रपुरिया भारतीय नागरिक हुन् । महाबौद्धमा इलोक्ट्रोनिक सामानको व्यापारको आवरणमा उनी अवैध धन्दामा सक्रिय छन् । कमलपोखरीमा बस्दै आएका भद्रपुरियाको सम्पत्ति छानबिन गरेमा पनि स्रोत खुलाउन नसक्ने अवस्था छ । उनीहरुलाई पक्राउ गरे लगत्तै छाडेको घटनाले प्रहरीमा हल्लीखल्ली मच्चिएको छ ।

एसएसपी कुँवरले सही नियतले नै उनीहरुलाई पक्राउ गरेको भएपनि सेटिङ मिलाएर छुटाउने व्यक्तिहरु निकै शक्तिशाली भएकाले उनको लाचर बनेका हुन् । एक कपडा व्यापारीले उनीहरुलाई छुटाउन उच्च तहमा डिल गरेका थिए ।

पक्राउ परेका अर्का ब्यापारी हुन्, प्रवीण अग्रवाल इन्द्रचोकस्थित बाजीगर स्टोरको नाममा कपडा कारोबार गर्दछन् । गत मंसिरमा राजस्व अनुसन्धान विभागले उनको पसलमा छापा हानेको थियो । उनीहरुले अहिलेको आइजिपीदेखि गृहमन्त्रीसम्म आफ्नो मान्छे भएको धाक लगाउँदै अवैध धन्दा चलाउने गरेको स्रोत बताउँछ ।

प्रहरीले पनि तर्साउनका लागि कहिलेकाही मात्र हुन्डी कारोबारीलाई पक्राउ गर्ने गर्दछ । हरेक जसो यस्ता कारोबारीले प्रहरीमा सेटिङ मिलाउने गर्दछन् । प्रहरीको सरुवा–बढुवामा समेत उनीहरुकै कालो धन प्रयोग हुने गरेको स्रोत बताउँछ । कतिपयले आइजिपी नियुक्तिमै समेत लगानी गर्दछन् । यस्ता माफियाले देशको अर्थतन्त्रलाई भने खोक्रो बनाउँदै लगेका छन् ।

प्रतिक्रिया दिनुहोस्