Logo
Logo

कोरियामा साकेला नाच


315
Shares

सोई ढोले सोई अर्को ढोले खोई…
सोई सोई ला हो हुर्रा हा हा..

चार सयभन्दा बढी नेपाली युवाले ढोलक र झ्याम्टाका तालमा ताल मिलाउँदै गाउँदै नाच्दै, झण्डै पाँच घण्टा दक्षिण कोरियामा धुलो उडाए । सन्दर्भ थियो किराँतीको महान् पर्व उभौलीको अवसर । यलेदोङ ५०८२ का अवसरमा यहाँ रहेका नेपाली विशेष किराती राईले हर्षोलासका साथ साकेला नाच नाचे ।

कोरियामा रहेका किरातीको साझा संस्था किरात राई यायोख्खा (किराया)ले राजधानी सउलको दोङ्देमुनको सुङ्गिन ग्रिन पार्कमा आइतबार बिहान ११ देखि साँझ ६ बजेसम्म शुभकामना आदानप्रदान तथा साकेला नाच कार्यक्रम आयोजना गरेको थियो ।

‘नौ लाख किराँती एउटै शान, पुर्खाको विरासत हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ भएको सो कार्यक्रमले नेपाली, विशेषतः किराती संस्कार र संस्कृतिलाई परदेशमा फैलाउन र कोरियालीमाझ चिनाउनसमेत सहयोगी भएको आयोजक संस्थाका महासचिव जीवन राईले बताए ।

किरायाकी दीपा मेवाहाङ राईका अनुसार प्रत्येक वर्ष वैशाख पूर्णिमादेखि साकेला नाचिने भए पनि परदेशमा पूर्णिमाकै दिन छुट्टी नमिल्ने भएकाले अर्को दिन पारेर कार्यक्रम गरिएको हो ।

किराती रीतिअनुसार भूमिपूजा गरी उभौली मनाइने क्रममा साकेला शिली नाच नाचिन्छ । प्रकृतिपूजक किरातीले प्रकृतिलाई खुशी पार्नका लागि नाच्ने सो नाचको विशेष अर्थ रहेको कवि शकुन आँसुले बताए ।

किराती परम्परानुसार उभौलीसँगै मङ्सिर पूर्णिमाका दिनदेखि उधौली पनि मान्ने गरिन्छ तर परदेशमा सम्भव नहुने भएकाले उभौलीलाई मात्र भए पनि निरन्तरता दिइएको कवि सुनिलदिप्त राईले स्पष्ट गरे ।

अन्नबाली लगाइने समयमा बालीनालीमा रोगव्याधि नलागोस्, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपबाट बाँचियोस् तथा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टि जगत्को रक्षा गरून् भन्ने कामनाका साथ उभौली मनाइन्छ ।

साकेला अर्थात् सान्केवा नाचमा हातखुट्टाको चाल हाउभाउद्वारा पङ्क्तिबद्ध रूपमा जीव–जनावरको नक्कल गरी ढोल–झ्याम्टाका तालमा सामूहिक नृत्य गरिन्छ ।

साकेलसाकेन्वा नाच्दा प्रस्तुत गरिने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएको जस्ता कृषि कार्य प्रदर्शन गरिने आयोजक सुष्मारानाहमा राईले बताए।

यहाँ रहेका नेपाली किरातीले हरेक वर्ष आफ्नो पहिचान जगेर्नाका लागि उभौली मनाउँदै आए पनि अघिल्ला दुई वर्ष कोरोनाका कारण रोकिएको थियो । कार्यक्रममा कोरियामा रहेका किराती समुदायलगायत अन्य विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, विद्यार्थी, व्यवसासी तथा मजदुरको सहभागिता थियोे ।

प्रतिक्रिया दिनुहोस्