
काठमाडौं । सांसद गणेशसिंह ठगुन्नाले दार्चुलामा एकल महिलालाई बलात्कार गरी आगो लगाएर हत्या गरिएको भन्दै घटनाको गम्भीर छानबिन गर्न माग गरेका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले उक्त जघन्य अपराधको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।
‘पछिल्लो केही समय देशका विभिन्न भागमा हत्या हिंसाका घटना बढिरहेका छन्। महिला हिंसाका घटना बढेका छन् । २५ गते बिहान २ बजे दार्चुलाको शैलशिखर नगरपालिका–१ मा ४१ वर्षीया एकल महिलालाई आपराधिक व्यक्तिले घरबाट बाहिर लगेर बलात्कार गरेर खरको थुप्रोभित्र हालेर आगो लगाएर मारेको छ’, उनले भने ।
घटनामा संलग्न मुख्य अभियुक्तको पहिचान हुँदा पनि अपराधी पक्राउ पर्न नसकेको भन्दै आपत्ति पनि जनाए । ‘अपराधीलाई पक्राउ गर्न जिल्लामा जनशक्ति छैन भने बाहिरबाट पठाएर भए पनि अपराधीलाई पक्राउ गरि कारबाहीको माग गर्न चाहन्छु।’














