
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बिषयमा सदनमा जानकारी गराउन माग गरेको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकको शून्य समयमा एमाले सांसद डा. सूर्यप्रसाद पाठकले प्रधानमन्त्री र प्रधानसेनापति अमेरिका भ्रमणमा जान लागेको र नेपाल कतै आइपीएसमा सहभागी हुने हो की भन्ने आशंका पैदा भएको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको रोष्ट्रममा उभिएर यसको जवाफ दिनुपर्ने उनले बताए ।
‘विहीबार सत्ता घटक दलका प्रमुख सचेतकले राष्ट्रिय सुरक्षा संवेदनशिलताका सम्बन्धमा राखेको अभिव्यक्तीले प्रतिपक्षीलाई अत्यन्त चिन्तित बनाएको छ,’ उनले भने, ‘यसले हिन्द प्रशान्त रणनीतिमा सहभागी हुने हो कि भन्ने आशंका पैदा भएको छ ।’
विहीबारको प्रतिनिधि सभा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमण स्थगित गर्न माग गरेका थिए ।














