Logo
Logo

सप्तरीमा ८ सय घर डुबानमा : खाँडो खोलाको बाँध भत्किँदा जलमग्न


- दृष्टि न्युज/संवाददाता


राजविराज, २९ असार । केही दिनयता आएको लगातारको वर्षाले करिब आठ सय भन्दा बढी घर डुबानमा परेका छन् भने करिब एक दर्जन बढी घर भत्किएको छ ।
विपद् जोखिम न्युनीकरण अधिकृत राजेशकुमार झाका अनुसार खाँडो, महुली, जिता र कोशी नदीमा आएको बाढीका कारण तिलाठी कोइलाडी गाउँपालिकाका करिब २ हजार परिवार प्रभावित भएका छन् । खाँडो खोलाको बाँध तीन ठाउँमा भत्किँदा गाउँपालिकाको वडा नम्बर १ जलमग्न भएको छ ।
बाढीका कारण वडा नम्बर ४ कोइलाडी, वडा नम्बर ५ को. बर्साइनका बासिन्दा समेत प्रभावित भएका छन् । खाँडो नदीमा अत्यधिक बाढीको भेल रहेकाले कटान भएको बाँध मर्मत सम्भार गर्न नसकिएको वडा नम्बर १ का अध्यक्ष दिनेश्वर मिश्रले जनाए । त्यस्तै, वडा नम्बर २ लौनियाँमा भत्किन लागेको बाँधलाई वडाध्यक्ष खगेन्द्र मण्डलको अगुवाईमा युवाले जोगाएका छन् भने वडा नम्बर ३ सकरपुरामा भत्किँन लागेको खाँडो नदीको बाँधलाई स्थानीय युवाहरुले बाँध मर्मत गरी भत्किँनबाट जोगाएको दामोदर मुखियाले बताए । उनीहरुलाई गाउँपालिकाले तीन हजार बोरा र जाली उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्