Logo
Logo

संघ र प्रदेश निर्वाचनमा गठबन्धन कायमै रहन्छ : प्रचण्ड



कास्की । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय पालिकाहरूमा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप सुनिश्चित गर्नुपर्ने बताएका छन् ।

पार्टीको गण्डकी प्रदेश समितिले शनिबार पोखरामा आयोजना गरेको प्रदेशस्तरीय वैचारिक राजनीतिक प्रशिक्षण तथा स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रममा उनले विगतका क्रान्तिकारी सत्तालाई जीवन्त राख्दै जनवादी र लोकतान्त्रिकरण गर्नुपर्ने बताए ।

अध्यक्ष प्रचण्डले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा देशभर माओवादी केन्द्रले प्रमुख जितेका पालिकाहरूलाई क्रान्तिकारी र भोलिका दिनमा समाजवादी सत्ताको भ्रमणका रूपमा विकास गर्ने उद्देश्यमा स्पष्ट हुँदै त्यसका लागि त्याग, तपस्या र मेहेनत गरेर काम गर्न निर्देशन दिए ।

उनले भने, ‘हामीले विजय हासिल गरेका १२१ पलिकालाई समाजवादी सत्ताका भ्रुणहरू बनाउने र पालिकाहरूमा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप सुनिश्चित गर्नुपर्ने खाँचो छ । म तपाईँहरूलाई भन्न चाहन्छु, पालिकामा प्रत्येक निर्णय गर्नुअघि जनताको राय बुझ्ने मेकानिजम बनाउनुहोला, के गर्न उचित हुन्छ, सुझाव लिनुहोला । जनताबाट आलोचना र सुझाव निरन्तर प्राप्त हुने र त्यसको सुनुवाइ भइरहने कार्यक्रम बनाउनुहोला ।’

उनले निर्वाचित जनप्रतिनिधिलाई माओवादी केन्द्रले जितेको पालिकामा जनताको राय, सल्लाह लिएर निर्णय गर्ने गरेका छन् भन्ने पार्ने गरी काम गर्न निर्देशन दिए । माओवादी पार्टी आफ्नो वर्ग, जनता र राष्ट्रप्रति समर्पित शक्ति होस् भन्ने जनताले चाहेको उनको जिकिर छ ।

अध्यक्ष प्रचण्डले पछिल्लो समय पार्टी पहिचानको सङ्कटमा परेको र जनतामा सबै पार्टी एउटै हुन् भन्ने परेकाले फरक देखिने गरी काम गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘हामी अहिले पहिचानको क्राइसिसमा छौँ । क्रान्तिकारी, जनयुद्धबाट आएको, जनआन्दोलन, गणतन्त्रका बाहक भनेर कुरामा पहिचान छ तर व्यवहारमा त्यस्तो छैन । जनताले हेर्दा माओवादी, कांग्रेस, एमाले सबै व्यवहारमा उस्तै छन् । अब यसपटक त्यस्तो हुनु हुँदैन ।’

उनले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले दोस्रो स्थान हासिल गर्ने आकलन गरिए पनि प्रभावकारी गठबन्धन नभएकाले आशातित नतिजा प्राप्त नभएको उल्लेख गरे ।

माओवादी प्रभाव भएका कतिपय जिल्लाहरूमा गठबन्धनका दलहरूले तालमेलको मर्मविपरीत एमालेसँग तालमेल गरी माओवादीलाई पराजित गरेकोप्रति असन्तुष्टि जनाउँदै उनले यस विषयमा गठबन्धनभित्र समीक्षा गरिने बताए ।

अध्यक्ष प्रचण्डले अहिलेको सत्तारुढ गठबन्धनलाई आगामी संघ र प्रदेश निर्वाचनमा समेत कायमै राखिने बताउँदै स्थानीय तहमा भन्दा आगामी निर्वाचनमा गठबन्धन गर्न सहज हुने विश्वास व्यक्त गरे ।

पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टी शान्तिपूर्ण प्रतिस्पर्धामा सामेल हुनु संसदीय पक्षधरता होइन भनेर बुझाउनु आवश्यक रहेको बताए । उनले भने, ‘हामी शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोबाट अघि बढेको हो तर पूँजीवादको सहयात्री होइनौँ । पूँजीवाद भत्काउन र समाजवादको बाटोमा जान तथा समाजवादको आधार तयार गर्ने भन्ने अहिलेको कार्यनीति हो । पूँजीवादलाई बलियो बनाउन शान्तिपूर्ण बाटोमा छैनौँ ।’

नेता श्रेष्ठले जनताका आधारभूत आवश्यकता खानेपानी, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका काममा केन्द्रित भएर काम गर्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्