Logo
Logo

प्राविधिक समस्या देखिएपछि भारतको चन्द्रयान-२ स्थगन


- दृष्टि न्युज/संवाददाता


श्रीहरिकोटा, ३० असार (एएफपी) । भारतले चन्द्रयान प्रक्षेपणको कार्यक्रम प्राविधिक समस्या देखाउँदै उड्नु एक घण्टाअघि स्थगन गरेको छ । यसबाट चन्द्रमामा अन्तरिक्ष यान ओराल्ने चौथो मुलुक बन्ने भारतको अभियानमा ढिलाई भएको छ ।
चन्द्रयान–२ नाम दिइएको यो अभियान भारतको महत्वाकाँक्षी अन्तरिक्ष कार्यक्रम हो । रुस, संयुक्तराज्य अमेरिका र चीनले आफ्ना अन्तरिक्ष यान चन्द्रमामा पठाइसकेका छन् ।
सतिश धवन स्पेस सेन्टरबाट अन्तरिक्ष यान प्रक्षेपणको तयारी अन्तिम चरण थियो, तर आइतबार बिहान २.५१ बजे यान प्रक्षेपण कार्यक्रम एकाएक स्थगन गरियो । प्रक्षेपण काउन्ट डाउनलाई ५६ मिनेट २४ सेकेन्डमा स्थगित गरिएको थियो ।
यान प्रक्षेपण गर्नु एक घण्टा अघि प्रक्षेपण उपकरणमा सानो प्राविधिक समस्या देखिएको भारतीय अन्तरिक अनुसन्धान संस्था (इस्रो) ले जनाएको छ । इस्रोले चन्द्रयानको प्रक्षेपण आजका लागि स्थगित गरिएको भएपनि आवश्यक जाँचपछि अर्को मिति घोषणा गरिने बताएको छ । इस्रोले चन्द्रमामा अन्तरिक्ष यान आगामी सेप्टेम्बर ६ मा पु¥याउने घोषणा गरेको थियो ।
स्कुले बालबालिका समेत ठूलो संख्याका उत्साही व्यक्तिहरु चन्द्रयान प्रक्षेपण हेर्न प्रतिक्षा गरेका थिए । एक जना दर्शकले भने, के भएको हो हामीलाई थाहा छैन, र यसबाट हामी निकै बेखुशी भएका छौं । भारतले चन्द्रयानको डिजाइन र निर्माणका लागि करिब १४ करोड अमेरिकी डलर खर्च गरेको थियो, र यसलाई सबैभन्दा सस्तो मानिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२२ सम्ममा मानव सहितको अन्तरिक्ष अभियान सफल बनाउने दृढता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्