Logo
Logo

फुच्ची मिसको अनुभव



सपना ठूलो थियो, तर यथार्थ भिन्दै । सपनालाई सुहाउने कुनै वस्तुगत आधार थिएन । कसैको भरपर्दो साथ र टेवा थिएन । भन्ने नै हो भने त्यतिबेलाको त्यो दलित बस्ति पस्नै मात्र पनि कहाँ सजिलो थियो र ? त्यो नाम मात्रको स्कूलमा हेडमास्टरलाई सहयोग पुर्याउँछु भन्दा समेत ‘तिमी जस्ती फुच्ची केटीले के पढाएर खान सक्छ्यौ र यहाँ…’ भन्ने खालको अभिव्यक्ति सुनिसकेकी थिएँ ।

अघिल्लो दिन त ठाउँ खोज्दै मात्रै गएकी थिएँ । ‘स्कूल’ नामको त्यो पाटी, ‘विद्यार्थी’ भएर भूइँमा बसेका बच्चाहरु, र त्यहाँ भएको जम्मा एउटा कुर्सीमा बसेका बुढा हेडमास्टरलाई देखेर, फर्केकी थिएँ । पढाउनै भनेर गएको त्यो दोस्रो दिन पनि दिनभरिजसो नै समय काट्न मात्र बसेजस्तो भयो । बच्चाहरुले पनि पढेर हैन, एक–एक छिनमा म तिर पुलुक पुलुक हेर्दै समय कटाए ।

दिउँसो एक बजे ‘हाफ टाइम’ हुन्थ्यो– बस्ती नजिकैको स्कूल भएकोले बीचको झण्डै एक घण्टा छुट्टीमा सबै घर घरमा फर्कने र घरमा जे छ त्यही खाजा खाने गर्थे । त्यसपछि स्कूल फर्कन मनलागे फर्कने, नभए घरैमा बस्थे बच्चाहरु । कसैको करकाप थिएन । त्यो दिन भने हल्ला भएछ– एउटी फुच्ची मिस आएकी छ भन्ने कुराको ।

एकबजेपछि फल्चाको वरीपरी बच्चाहरुसँगै ठूला मान्छेहरु पनि जम्मा हुन थाले । ‘फुच्ची मिस’ हेर्न पो आएका रहेछन् । मैले बुझ्दिन भनेर होला, उनीहरु एकआपसमा नेवारीमा कुरा गरिरहेका थिए– मेरै बारेमा । म पनि नेवारकै छोरी, उनीहरुले बोलेको नबुझ्ने कुरै थिएन ।

एकबजेपछि फल्चाको वरीपरी बच्चाहरुसँगै ठूला मान्छेहरु पनि जम्मा हुन थाले । ‘फुच्ची मिस’ हेर्न पो आएका रहेछन् । हो न हो, कुनै नयाँ ग्रहबाट आएको अनौठो प्राणीलाई हेर्न जस्तो ! मैले बुझ्दिन भनेर होला, उनीहरु एकआपसमा नेवारीमा कुरा गरिरहेका थिए– मेरै बारेमा । म पनि नेवारकै छोरी, उनीहरुले बोलेको नबुझ्ने कुरै थिएन ।

अरुबेला स्कूलमा नआउने बच्चाहरु पनि ठुला मान्छेको पछि लागेर आउँथे । दिनभरी धुलोमा खेलेर, धुलाम्मे भएर आपसमा लडेर दिन कटाइरहेको हुन्थे । मध्य सहर नजिकैका बच्चा भए पनि कसैका लुगा सुकिला हुँदैन थिए । खुट्टामा जुत्ता पनि हुँदैन थियो ।

बस्तीका ती केटाकेटी र ठूला मान्छे पनि अनौठो प्राणीलाई हेरे जस्तै गरी मलाई हेरिरहेका थिए । बच्चाहरुतिर हेर्दै जब मैले नेवारीमै ‘म तिमीहरुको मिस, भोलीदेखि पढ्न आउनु है !’ भनेँ, बच्चाहरु सबै हाँसे ।

ठूला मान्छेको अनुहारमा भने एक थोपा विश्वास देखिएन । आपसमा खासखुस गर्दै सानो स्वरमा भन्दै थिए– ‘यस्ती केटीले के पढाएर खान्छे र…!’ कसैका आँखामा एकथोपा न्यानोपन देखिन आफुप्रति । केहीबेर अल्मलिएर उनीहरु हिँडे ।

एउटा चौर जस्तो ठाउँमा महर्जनहरुको कुलदेउताको एउटा सानो मन्दिर थियो । ती महर्जनहरुले नै आफ्नो देवालीमा घाम पानीले छेकेर बस्न पाओस् भनेर बनाएको एउटा सानो पाटी नै ‘आजाद प्राईमरी स्कूल’ बनेको थियो एउटा थोत्रो साईनबोर्ड झुण्ड्याएपछि । छेउमा एउटा मात्र कुर्सी थियो– हेडमास्टरको निम्ति । दोस्रो शिक्षक वा शिक्षिकाका निम्ति बस्ने ठाऊँ थिएन ।

बच्चाहरु त सुकुलमा यताउति छरिएर बस्थे । एक देखि पाँच कक्षासम्मकै विद्यार्थी त्यहीँ हुन्थे । साँच्चै पढ्न खोज्ने गम्भीर स्वभावका बच्चाहरु पनि नभएका हैनन् । नत्र त खाली नै हुन्थ्यो त्यो पाटी ।

कामै गर्छु भनेर गएपछि ३ बजेसम्म त बस्नै पर्याे ! तर बस्नलाई न कुर्सी थियो न त ‘बस्नुस् न’ भन्ने नै कोही थियो ! केही घण्टा बिताउन पनि एक जुग बितेजस्तै भयो ।

३ त आखिर बज्यो नै । बच्चाहरुको छुट्टि भए पछि मैले अझै विनम्र भएर हेडसरसँग कुरा गरें– ‘सर, यहाँ स्कूल नआउने धेरै बच्चाहरुलाई घर घरमा गएर एकपल्ट आमाबुवाहरुसँग अनुरोध गर्न जाऔं न…।’ मेरो कुराले हेडमास्टर ‘ह. ह.. ह…’ गर्दै खिल्ली उडाए झैं गरी हाँसे । ‘नानी तिमीलाई यो ठाउँको बारेमा केही पनि थाहा छैन । यो ठाउँ बच्चाहरुलाई पढाउने ठाउँ नै होइन । किन कुरा नबुझेको…?’

‘… एकपल्ट कोशिस त गरि हेरौं सर, म त यहिँ पढाउन भनेर आइसकेँ । जिल्ला शिक्षाले यहाँ पढाउ भनेर मलाई पठाइ नै सक्यो, नयाँ शिक्षा आईसक्यो । अब हामी एकपल्ट बस्ती घुमीहेरौं न !’ मभन्दा पनि मेरो सपना बोलिरहेको थियो । आत्मविश्वास पनि जागिरहेकै थियो । यसरी कर गरेपछि पुरै नाईंनास्ति गर्न नसकेर होला, ‘तपाई जिद्दी नै गर्नु हुन्छ भने ठिक छ ! हुन्छ नि त, भोली एकपल्ट गई हेरौं बस्तीमा…’ भने हेडमास्टरले ।

त्यो दिन चाहिँ हेडसरलाई पनि घर जान हत्तारै लागिसकेको भन्ने बुझेँ । स्कूल खाली भयो, म पनि स्कूलमा केही नपढाए पनि दिन कटाएर घर फर्कें । घरमा पुगेपछि दिदी पद्मा र दिदीको साथी शारदा कोइरालालाई सबै कुरा सुनाएँ ।

उहाँहरु संगसंगै सिलाईको काम गर्नु हुन्थ्यो घरमै । मेरो नजिकका साथी दिदीहरू नै हुनुहुन्थ्यो । नजिकबाट धेरै कुरामा समर्थन र साथ पनि दिनुहुन्थ्यो । आमासँग त भन्नै मिल्दैनथ्यो त्यो बस्तीमा पुगेको कुरा पनि । दिदीहरुको समर्थन पाए पछि भने आफू एक्लो भएजस्तो लाग्न छोड्यो । आँट थपियो । म आफ्नो सपना पुरा गरीछाड्छु भन्ने भयो । ‘भोली’ पर्खन हतार भयो ।

अर्को दिन हेडमास्टरको पनि मानसिकता केही फेरिएजस्तो लाग्यो । मलाई अलिकति हाँसेर स्वागत गरे, राम्रैसँग नमस्ते फर्काए । मेरो कलिलो मन प्रफुल्ल भयो । मैले पनि पढाउने अनुमति पाएँ ।

एक कुनामा बच्चाहरुसँग बसेर उनीहरुको पढाइ स्तर के कस्तो हो बुझ्ने मौका पाएँ । सिंगाने बच्चाहरुको सिंगान पुछिदिने र उनीहरुको हात समाएर राम्रो पढ है मात्र भनिरहँदा पनि म खुसी थिएँ ।

त्यो स्पर्शले ममा भिन्दै खालको झिल्को उत्पन्न भए झैं लाग्यो । त्यो झिल्को जीवन भरी नै बिर्सिनै नसक्ने स्मृति बनिदियो । यसरी हृदयको एउटा ढोका खुल्यो जहाँबाट म जनतासम्म पुगेँ ।

भोलीपल्ट योजना अनुसार बस्तिमा पस्यौं । आधा शताब्दिअघिको त्यो बस्तिको अवस्था आज कल्पना गर्न पनि गाह्रो हुन्छ । सपनामा पनि कहिल्यै नदेखेको, कहिल्यै कल्पनासम्म नगरेको स्थिति थियो ।

केही घर नाघेपछि मेरो एउटा हात अनयास नै नाक थुन्न पुगेछ । एकजना विद्यार्थीकै आमाले देखिछन् । उनी कराइन्– ‘ए मैंसाप ! ए हेर्मास्टर ! यो बस्ति तिमीहरु आउने ठाउँ होइन…। किन आएको, फर्किहाल…’

प्रतिक्रिया दिनुहोस्