
काठमाडौँ । आफूले जितेका स्थानीय पालिकामा तल्लो वर्गलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्न नेकपा माओवादी केन्द्रले निर्देशन दिएको छ ।
पार्टीको अर्थ तथा योजना विभागले आयोजना गरेको भर्चुअल बैठकमा विभाग प्रमुख वर्षमान पुन अनन्तले महानगर, उपमहानगर र गाउँपालिका प्रमुख/उपप्रमुलाई यस्तो निर्देशन दिएका हुन् ।
संविधानले नेपाललाई समाजवाद उन्मुख भनेकाले समाजवादका आधार निर्माण गर्ने गरी बजेट बनाउन उनले सुझाव दिए । ‘पुँजीवादमा सक्नेले रोजगारी गर्ने, सक्नेले स्वास्थ्य, शिक्षा किन्ने र राम्रो आवास लिने हो’, पुनले भने, ‘तर, समाजवाद भनेको नसक्नेलाई राज्यले हेर्ने हो । यसमा हामी स्पष्ट हुनुपर्छ ।’
पुनले स्थानीय स्तरमा कृषि उत्पादन वृद्धि, बजार व्यवस्थापन, रोजगारीको अवसर सिर्जना, विपन्नता न्यूनीकरण गरी समृद्धि हासिल गर्ने गरी काम गर्न निर्देशन दिए । जनताको घरदैलोमा सरकार पुगेको नरुचाउने शक्ति तथा व्यक्तिले स्थानीय सरकार र प्रदेशविरुद्ध प्रचार अभियान चलाइरहेको भन्दै उनीहरूलाई बल पुग्नेगरी भ्रष्टाचार जन्य गतिविधि भए पार्टीलाई सह्य नहुने चेतावनीसमेत दिए ।
‘कम्तीमा माओवादीले जितेका पालिकामा भ्रष्टाचार नगरौँ । हामीले चलाएका पालिकालाई कुनै न कुनै काममार्फत् नमुना बनाऔँ ।’ तर, सस्तो लोकप्रियताका लागि राज्य श्रोतको परिचालन नगर्न जनप्रतिनिधिलाई उनले सुझाए । स्थानीय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन उद्योग, व्यवसाय र कृषिमा सहुलियत ब्याजमा ऋण उपलब्ध गराउनुपर्ने पुनको भनाइ छ ।
पार्टी जनयुद्धबाट आएकाले जनयुद्धसँग सम्बन्धित कार्यक्रमहरू जनयुद्ध दिवस, घाइते/अपांगको निःशुल्क उपचार, शहीद परिवारलाई राहत र रोजगारी दिनु आफूहरूको दायित्व भएकाले बजेटमा ती विषय नछुटाउन पनि पुनले निर्देशन दिए ।














