काठमाडौं । प्रधानसेनापति पर्शुराम शर्मा औपचारिक भ्रमणका लागि लेवनान प्रस्थान गरेका छन् । सात सदस्यीय टोलीसहित प्रधानसेनापति शर्मा शनिबार लेवनानतर्फ प्रस्थान गरेका हुन् ।
सैनिक जंगी अण्डाका अनुसार द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ नेपाली सेनाको हौसला अभिवृद्धि गर्नुका साथै यूएन मिसनको भावी योजनाबारे जानकारी लिन उनी लेवनान गएका हुन् ।

प्रधानसेनापति शर्मा नेतृत्वको भ्रमणदललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गरे । भ्रमण दलले यही असार १० गतेसम्म यूएनको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ मिसनको निरीक्षण, मिसनको वस्तुस्थिति, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्थालगायतको जानकारी लिनेछ ।
यस भ्रमणपश्चात प्रधानसेनापति शर्मा असार १३ गते संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण गर्ने कार्यक्रम जानेछन् । भ्रमण अवधिभर बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने छन् । प्रधानसेनापतिको टोली असार १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।














