Logo
Logo
बीमा विमर्श

अन्तर्राष्ट्रियस्तरको कम्पनी बनाउने सपना


डा.रबीन्द्र घिमिरे, अध्यक्ष, नेपाल पुनर्बीमा कम्पनी


काठमाडौं । नेपालको बीमा क्षेत्रको मुख्य समस्यामध्ये एक दक्ष जनशक्तिको अभाव हो । बीमा कम्पनीदेखि नियामक निकाय बीमा समितिसम्ममा बीमा क्षेत्रलाई गहिरोसँग बुझेका जनशक्तिको अभाव छ । बीमा क्षेत्रमा कतिपय समस्या जनशक्तिको अभावकै कारण पनि उब्जिएको जानकारहरु बताउँछन् ।

बीमा क्षेत्रको थोरै ज्ञातामध्ये डा. रबीन्द्र घिमिरे एक हुन् । बीमाकै विषयमा बिद्यावारिधि गरेका डा. घिमिरे आठ महिनादेखि नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षका रुपमा कार्यरत छन् । घिमिरे बीमा क्षेत्रमा दक्ष जनशक्ति नभएसम्म यो क्षेत्रमा समस्या कायमै रहने बताउँछन् ।

‘अहिले बीमा कम्पनीका उच्च तहमा धेरै बैंकिङ क्षेत्रका काम गरेका व्यक्तिहरु छन्’, उनी भन्छन्, ‘कर्मचारीहरु धेरै बिबिए, बिबिएस र एमबिए पढेकाहरु छन्, तर उनीहरुलाई बीमाको आधारभूत पक्षसमेत जानकारी छैन ।’

बीमाको विषयमा अध्ययन तथा अध्यापन हुने सिष्टम नै नबन्दा यस्तो भएको उनको भनाइ छ । यसका लागि बीमासम्बन्धी कलेजकै आवश्यकता देख्छन् उनी ।

बीमा नबुझेका व्यक्ति नीतिगत तहमा हुँदा कस्तो समस्या आउँछ भन्ने विषयमा उनले कोरोना बीमा पोलिसीको उदारण दिए । सो पोलिसीअन्तर्गत सर्वसाधरणले अझै करिब १५ अर्ब भुक्तानी पाएका छैनन् । हचुवाको भरमा त्यस्तो पोलिसी जारी हुँदा समग्र बीमा क्षेत्रकै बदनाम भएको र कम्पनीहरुलाई समस्या भएको उनी बताउँछन् ।

‘त्यही गलत नीतिका कारण हामीले एक अर्ब तिर्नुपर्दा अहिले कम्पनीको वित्तीय अवस्था खस्केको छ’, उनी भन्छन्, ‘यो नीतिगत कमजोरी हो ।’ बीमा क्षेत्रमा अध्ययन, अनुसन्धान शून्यजस्तो भएकाले सबैले अहिले यसमा प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

नियुक्ति भएको आठ महिनामै उनले पुनर्बीमा कम्पनीभित्र सुधारका काम अघि बढाइसकेका छन् । कम्पनीको दुई वर्षको साधरणसभा हुन नसकेको अवस्थामा साधरणसभा गरेर कम्पनीलाई अघि बढाए । २७ सय फाइल रोकिएर बसेका थिए । त्यसमा सबैको जिम्मेवारी प्रष्ट पारेर दाबी भुक्तानीलाई छिटो र सरल बनाए ।

नयाँ भर्ना भएका कर्मचारीलाई बीमासम्बन्धी तालिम दिएर काममा खटाइएको र विज्ञ नियुक्तिको काम पनि अघि बढाएका छन् । कम्पनीको दिग्दर्शन प्रकाशनको अन्तिम चरणमा छ । अन्तर्राष्ट्रियस्तरको सफ्टवेयर खरिदको पक्रिया पनि अघि बढेको डा. घिमिरेले बताए । साथै कम्पनीको आफ्नै भवन निर्माणको प्रक्रिया पनि अघि बढेको छ ।

कम्पनीमा विदेशबाट पनि बिजनेश बढेको उनी बताउँछन् । कम्पनीमा हाल विभिन्न २० देशका कम्पनीले पुनर्बीमा गराएका छन् । तर, आफूहरुले छानेर मात्र त्यस्ता बिजनेश लिएको उनी बताउँछन् । ‘कम्पनीको हिस्ट्री हेरेर मात्र हामी बिजनेश लिन्छौं’, उनी भन्छन्, ‘लस हुनसक्ने किमिसका बिजनेश लिदैनौँ ।’

हालै नेपालमा नयाँ पुनर्बीमा कम्पनी पनि आएको छ । जसकारण प्रतिस्पर्धा बढेको छ । तर, पुनर्बीमा कम्पनीमा सरकारको पनि लगानी भएको र कम्पनी पुरानो भएकाले यसले विश्वास जितिसकेको डा. घिमिरे बताउँछन् ।

‘बीमा भनेको विश्वासको आधारमा चल्ने व्यवसाय हो’, उनी भन्छन्, ‘नेपाल रिले बजारमा विश्वसनीयता कायम गरिसकेको छ । त्यसकारण नयाँ कम्पनी आए पनि हामीलाई प्रतिस्पर्धामा समस्या छैन ।’

सरकारी लगानीको कम्पनी हुँदा कतिपय फाइदा हुने र कतिपय बेफाइदा पनि हुने उनले सुनाए । प्रक्रियागत झन्झटका कारण कम्पनीले योजनाअनुसार काम गर्न ढिलाइ भइरहेको डा. घिमिरे बताउँछन् ।

कर्मचारी लोकसेवा आयोगमार्फत भर्ना गर्नुपर्ने र विज्ञ नियुक्तिमा पनि समस्या भएको उनी बताउँछन् । कतिपय स्वीकृतका काममा ढिलाइ हुँदा समस्या आउने गरेको उनको अनुभव छ ।

‘देशमा आम सार्वजनिक संस्थानले झेलेका समस्या हाम्रो कम्पनीले पनि झेलिरहेका छ’, उनले भने । कम्पनीमा सरकारबाट सकारात्मक हस्तक्षेपको अपेक्षा आफ्नो रहेको उनी बताउँछन् । तर, सरकारी लगानीको कम्पनी भएकाले विश्वसनीयता भने धेरै रहेको छ ।

नेपालमा बीमाको क्षेत्रमा धेरै आधारभूत काम नै गर्न बाँकी रहेको उनी बताउँछन् । बीमा सूचना केन्द्र बनेको छैन, बीमा क्षेत्रमा हुने ठगीबारे अनुसन्धान गर्ने निकायको अभाव छ । मुख्य कुरो बीमा समितिमा समेत उनी समस्या देख्नछन् ।

‘बीमा समितिमा एक त विज्ञहरु मात्र राख्नुपर्छ, अर्काे सदस्यहरु पार्टटाइमर होइन, फूलटाइमर हुनुपर्छ’, उनी भन्छन्, ‘जबमात्र नियामक निकाय बलियो हुन्छ ।’ बीमा समितिले बलियो नियमन गर्न नसकेको डा. घिमिरेको टिप्पणी छ । समितिमा पुगेपछि बीमाबारे अध्ययन थाल्ने व्यक्तिहरुसमेत नियुक्त हुने गरेका छन् ।

नेपालमा बीमा कार्यक्रम गाउँसम्म पुग्न नसकेको उनी बताउँछन् । यसका लागि लघुबीमा कम्पनीमार्फत काम गर्न सकिने उनको भनाइ छ । सरकारले डाइरेक्ट बीमालाई २० प्रतिशतबाट १० प्रतिशतमा झारेकामा उनको असन्तुष्टि छ । विस्तारै–विस्तारै घटनाउनुपर्नेमा एकैपटक घटाएको उनी बताउँछन् ।

नेपाल पुनर्बीमा कम्पनीले पुनर्बीमाको रकम विदेश जानबाट त रोकेको छ नै साथै विदेशबाट समेत मुद्रा भित्र्याएको छ । अब कम्पनीको पूँजी र सिष्टम बलियो बनाएर यसलाई दक्षिण एशियाको एउटा राम्रो अन्तर्राष्ट्रिय कम्पनी बनाउने डा. घिमिरेको सपना छ । सरकार तथा सबै पक्षबाट सहयोग भएमा त्यो काम कठिन नरहेको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्