काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चूनावपछि शक्ति सन्तुलनको तस्बिर स्पष्ट देखिएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा बसेको पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले चूनावपछि देखिएको अवस्था, पार्टीको नीति र निर्णयका बोरमा आवश्यक समीक्षा गर्नुपर्ने देखिएकोसमेत बताए ।
उनले यसअघिको अवस्थाबाट पाठ सिक्दै सम्भावनालाई प्रयोग र चूनौतीका सामना गर्न बैठकले उचित मागदर्शन तय गर्ने धारणा राखे । अहिले पार्टीले कुनै पनि नीति तय गर्दा परिस्थितिको विश्लेषण गर्दै सही निर्णयमा पुग्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
पोलिटब्युरो बैठकले स्थानीय तह चुनावको समीक्षा र आगामी चुनावका लागि आवश्यक रणनीति बनाउने समाजवादीले जनाएको छ ।
बैठकको पूर्वसन्ध्यामा सरकारमा सहभागी चार मन्त्रीसहित १० जना सांसदले संसदीय दलको बैठक माग गरेका छन् । चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय कार्यान्वयन नहुँदा नेकपा एकीकृत समाजवादीभित्र विवाद सुरु भएको छ ।














