
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओलाई चाङको थाओले सिध्यान खोजे जसरी पार्टी एक हुँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई सिध्याउन चाहेको आरोप लगाएका छन् ।
काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले लङ् मार्चका क्रममा चिनियाँ क्रान्तिका नेता माओलाई लङ मार्चका क्रममा चाङको थाओले मार्न खोजे जसरी आफूलाई पनि पार्टी एक हुँदा प्रचण्डले सिध्याउन खोजेको आरोप लगाएका हुन् ।
सम्बोधनका क्रममा ओलीले भने– ‘लङ मार्चका बेला चिनियाँ कम्युनिष्ट पार्टीले दक्षिणबाट उत्तरतर्फ जाने बाटो तय गर्नुपर्ने थियो, लङ मार्च भनेर । त्यही बिचमा चाङको थाओ भन्ने एकजना कमाण्डरले माओलाई बिचैमा सिध्याउने, लङ मार्च सिध्याउने, फेरि दक्षिण नै फर्काउने योजना बनाएर माओको हत्या गर्ने षड्यन्त्र गरे । जहाँ बसेको छ त्यही हमला हुने थाहा पाएपछि माओ अर्को ठाउँमा जानु भयो, उनको योजनालाई प्रतिवाद गर्ने तयारी गर्नु भयो । त्यसपछि चाङको थाओ त्यहाँबाट भागे । मलाई त्यही घटना जस्तो लाग्छ ।’
आफू पार्टी बनाउनु पर्छ, एकता जोगाउनु पर्छ भन्ने पक्षमा रहेको बेला प्रचण्डले आफूलाई सिध्याउन खोजेको ओलीको भनाइ थियो ।
ओलीले प्रचण्डलाई चाङको थाओसँग तुलना गर्दै आफूलाई सिध्याउन खोज्ने प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालहरु समाप्त भएको समेत बताएका छन् ।














