Logo
Logo

डिआइजीपछि एसपी बढुवाको लाइनमा



काठमाडौं । डिआइजी बढुवापछि नेपाल प्रहरीमा एसएसपी बढुवाको महासंग्राम सुरु भएको छ । डिआइजी बढुवामा जत्तिकै पावरफुल एसपीहरू एसएसपी बढुवाको चलखेलमा छन् ।

डिआइजी बढुवामा केही एसएसपीले पैसाकै बलमा छलाङ मारेका छन् । त्यो देखेर अकुत कमाएका एसपीहरु हौसिएका छन् । त्यसकारण एसएसपी बढुवामा ठूलै चलखेल हुने देखिएको छ । एसएसपीका ३२ पद रिक्त छन् । जसमा ५० भन्दा धेरै एसपीहरु आकांक्षी छन् ।

बढुवामा २०५४ मा इन्सपेक्टरबाट भर्ना भएको प्रहरीका सिनियर टोली, गुप्तचर टोली तथा २०५६ मा इन्सपेक्टरमा भर्ना भएको अर्काे जुनियर टोलीबीच तिव्र प्रतिस्पर्धा छ ।

बढुवामा निर्मला पन्त प्रकरणमा मुछिएका दिल्लीराज विष्टदेखि २०५१ मै भर्ना भएका गणेश चन्द समेत छन् । त्यस्तै, २०५४ मा भर्ना भएका राजन अधिकारी, ईश्वर कार्की, डा.मनोज कुमार केसी, रेवती ढकाल, दानबहादुर कार्की, दिनेश कुमार आचार्य, अरुण पौडेल, राजेन्द्रसिंह भट्ट, किसन सिंह थापा, गोविन्द थपलिया, सुदर्शन कोइराला, जीवन श्रेष्ठ, दीपक रेग्मी, लोकेन्द्र श्रेष्ठ लगायत छन् । उनीहरुमध्ये लोकेन्द श्रेष्ठको जागिर अवधि एक महिना मात्र बाँकी छ ।

बढुवामा नमस्ते टोलीका नामले चिनिने गुप्तचरबाट प्रहरीमा आएका एसपीहरु बलिया देखिएका छन् । उनीहरु कांग्रेस निकट भएकै आधारमा गुप्तचरमा जागिर खाएका थिए भने कांग्रेसका तत्कालिन गृहमन्त्री खुमबहादुर खड्काले प्रहरीमा ल्याएका थिए । कांग्रेसकै सरकार भएको र अकुत सम्पत्ति पनि कमाएकाले सिनियर टोलीलाई पनि टपेर उनीहरु बढुवा हुने दाउमा छन् ।

गुप्तचर टोलीका सिद्धिबिक्रम शाह, सुशीलसिंह राठौर, माधवप्रसाद श्रेष्ठ, डम्बरबहादुर विक, उमाप्रसाद चर्तुर्वेदी, ओमबहादुर राना, सुरेन्द्र गुरुङ, हिमालय श्रेष्ठ, विमल बस्नेत, मनोज यादब दिलिपसिंह देउजा, संजीवन शर्मा दास छन् ।

त्यस्तै विनोद घिमिरे, जयराज सापकोटा, रामेश्वर यादब, शारदाप्रसाद चौधरी, दीपेन्द्र जिसीलगायत पनि गुप्तचर टोलीकै हुन् । यो टोलीका अधिकांश कारबाहीमा परेकाहरु छन् । विमल बस्नेत र रामेश्वर यादब त भ्रष्टाचारमा ६ महिना निलम्बन नै परेका थिए । ओमबहादुर राना पनि पटक पटक कारबाहीमा परेका अधिकृत हुन् । उनीहरु २०५८ सालमा चलखेलमार्फत प्रहरीमा स्थानान्तरण भएका थिए ।

त्यस्तै २०५६ मा इन्सपेक्टरको टोलीमध्येका विश्व अधिकारी, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल, भूपेन्द्र खत्री, सोमेन्द्रसिंह राठौर, सविन प्रधान, दिनेशराज मैनाली,बेलबहादुर पाण्डे लगायत पनि बढुवाको दाबेदार छन् ।

बीचमा गुप्तचर टोली छिराएर विगतमा यो टोलीको वृत्ति विकास प्रभावित भएकाले अहिले त्यो गल्तीलाई सच्याउनुपर्ने माग प्रहरीमा उठेको छ । त्यतीबेला उनीहरुले सर्वाेच्च अदालतमा समेत मुद्दा दायर गरेका थिए । तर, सर्वाेच्चले न्याय दिएन । अहिले प्रहरी नेतृत्वले त्यो गल्ती सच्याउनुपर्ने आवाज प्रहरीभित्र छ ।

प्रतिक्रिया दिनुहोस्