
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री दीनानाथ शर्माले ६–६ महिनामा मन्त्री फेर्नु गलत रहेको बताएका छन् ।
मन्त्रीहरुले काम नै गर्न नपाउने गरी केही महिनामै फेर्ने गलत अभ्यासका कारण शासन प्रणालीमै असर पर्ने शर्माको भनाइ रहेको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता शर्माले भने– ‘मन्त्रीले काम थाल्दा नथाल्दै फेर्न थाल्दा मन्त्रीहरुले केही काम गर्न पाउँदैनन् । यो गलत छ । कुनै पनि दलले हतारमा मन्त्री फेर्नु हुँदैन । कम्तिमा काम गर्ने अवसर दिइनु पर्छ ।’
नेता शर्माले अहिलेकै अवस्थामा आफ्नो पार्टीले कुनै पनि मन्त्री फेर्ने तयारी नगरेको बताएका छन् । पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले अपेक्षाकृत नै काम गरिरहेकाले पार्टीले अहिले मन्त्री नफेर्ने उनको भनाइ रहेको छ ।
उनले भने– ‘हाम्रो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले राम्रो काम गरिरहनु भएको छ । अहिले नै फेर्नुपर्ने कुनै कारण छैन । मन्त्री फेर्ने विषयमा पार्टीमा कुनै छलफल वा निर्णय भएको छैन ।’
नेता शर्माले मन्त्रीहरुलाई काम गरेर आफूलाई प्रमाणित गर्ने समय दिनुपर्ने कुरामा आफ्नो पार्टी स्पष्ट रहेको बताएका छन् ।