काठमाडौं । ललितपुरमा ट्रफिक प्रहरीले चिकित्सकमाथि निर्घात कुटपिट गरेका छन् । आइतबार बेलुकी ललितपुरको कुसुन्तीमा ड्युटीमा खटिएका ट्राफिकले डा. कुलबहादुर घिसिङमाथि कुटपिट गरेका हुन् ।

पीडितका आफन्तका अनुसार डा. घिसिङको मुखमा गम्भीर चोट लागेको छ । मापसे चेकिङमा बसेका थापाले यातायात कार्यालय छेउको बाटोबाट हिँडिरहेको अवस्थामा आफूलाई पिटेको घिसिङको आरोप छ । घिसिङ आरोग्य स्वास्थ्य प्रतिष्ठानमा कार्यरत छन् ।
आफन्त इशुमाया वुजुले उनको ललितपुरस्थित अल्का अस्पतालमा उपचार भइरहेको जानकारी दिए । ट्राफिक प्रहरी सातदोबाटोका अनुसार कुटपिट गर्ने थापामाथिठ कारबाही प्रक्रिया अघि बढाइएको छ ।
फुटपाथबाट पैदलयात्रा गरिरहेको अवस्थामा कुटपिट भएको भन्दै कुटपीट गर्ने थापालाई कारबाही र आफ्नो उपचार खर्चको व्यवस्था मिलाउन माग गरेका छन् ।
निवेदनमा भनिएको छ, ‘कसुर बेगर ढेस्सिएर किन आएको भन्दै कुटपिट, हातपात गरी रगताम्य पारी, डाक्टर हुँ किन यस्तो गरेको भनि कार्ड देखाउँदा समेत कुरै नसुनी कुटपिट गरी भाईलाई घाइते पारी हाल अल्का अस्पतालबाट उपचार भइरहेको छ । निज ट्राफिक प्रहरी राजेन्द्र थापालाई उपस्थित गराई आवश्यक कारवाही गरी शान्ति सुरक्षा पाउँ ।’
जवान थापाले बाटोमा हिँडिरहेको अवस्थामा एक्कासी ठोक्किन आएकाले विवाद भएको बताएको ललितपुर प्रहरीले जनाएको छ ।