Logo

वन्यजन्तुको आक्रमणः काभ्रेलीको दीर्घकालीन समस्या


राजकुमार पराजुली


काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–९ स्थित रायोबारीमा आज बिहान चितुवाले फार्मका ३५० कालिज मारेको छ । स्थानीय पुण्यप्रसाद नेपालको योगगङ्गा वाइल्ड एण्ड च्याटलका ६५० कालिजमध्ये केही चितुवाले खाएको हो ।

बिहान ३ बजे कालिज मार्दै खाँदै गरेपछि स्थानीयवासीले देखेर चिच्याउँदा चितुवा भागेको थियो । मारेको ३५० मध्ये चितुवाले ६० वटा कालिज खाएको नेपालले बताए । उनले भने, “फार्मका हेरालुले सुरुमा बिरालो भन्ठानेछन्, पछि कालिज मार्दै खाँदै गएपछि चितुवा भन्ने थाहा पाएर चिच्याएपछि जुन ठाउँबाट छिरेको त्यहीँबाट भागेछ ।” उक्त फार्ममा बाख्रा, टर्की र कुखुरापालन गरिएको छ ।

भाले कालिज बिक्री गर्ने गरिन्छ भने पोथी चल्ला उत्पादनका लागि पालन गरिएको नेपालले बताए । उनका अनुसार एउटा भाले कालिन रु दुई हजार देखि दुई हजार ५०० सम्ममा बिक्री गर्ने गरिन्छ । “आठ लाखभन्दा बढीको क्षति भयो”, नेपालले भने । उनले सरोकारवाला निकायलाई घटनाबारे जानकारी गराइ चितुवा नियन्त्रणको माग गरिएको बताए ।

यसअघि सोही नगरको १ नं वडास्थित नगरकोट हलेदेमा गतवर्ष बँदेलले सयौँ रोपनी जमिनको मकै खाँदै फाँडेर सखाप पारेको थियो । बँदेलबाट अन्नबाली जोगाउन स्थानीयवासी रातभरी आलोपालो कुरुवासमेत बसेका थिए । स्थानीयवासी दीपक बस्ताकोटीका अनुसार बँदेल आतङ्कले गाउँलेसमेत घरमा बस्न डराएका थिए ।

“त्यतिबेला अन्नबालीमात्र होइन, मानिससमेत डराउनुपर्ने अवस्था सिर्जना भएको थियो, यसपाली पनि त्यही हुने हो कि, मकै फल्ने बेला हुन लाग्यो” उनले भने । उनका अनुसार विशेषगरी राति समूह समूहमा आएका बँदेलले फल्न थालेको मकैबाली सखाप पारेका थिए ।

अघिल्लो वर्ष पनि नगरको १२ वडामध्ये आठ र नौ बाहेक सबैमा बाँदरले खेतबारीको बालीमा क्षति पु¥याएको थियो । त्यतिबेला नगरले पहिलो चरणमा १२ नं वडाका स्थानीयवासीलाई सामूहिक रूपमा प्रयोग गर्न बाँदर धपाउने १५ यन्त्र दिएको थियो ।

घटनाक्रमले काभ्रेपलाञ्चोकमा केही वर्षदेखि जङ्गली जनावरको आतङ्क बढ्दै गएको पाइएको छ । जसका कारण जङ्गल नजिक बस्तीका किसानका बाली नष्ट भएका छन् भने यदाकदा, चितुवाजस्ता हिंस्रक जनावरको आक्रमणले जनधनको क्षति हुँदा मानिससमेत त्रसित अवस्थामा बस्नुपर्ने बाध्यता देखिन्छ ।

पाँचखाल नपा–१३ कोसीदेखिका बासिन्दा तीन वर्षदेखि बँदेल र बाँदरले बालीमा पु¥याउँदै आएको क्षति सहँदै तिनका आतङ्कले निकै आजित छन् । स्थानीयवासी यमलक्ष्मी थपलिया भन्छन, “बँदेल र बाँदरले कटहर र अदुवाबाहेक सबै खान्छन्, अझ केही बाली त, रोपेकै दिनदेखि उखेलिदिन्छन् ।” यहाँका बासिन्दा जङ्गली जनावरबाट मानिस र बाली जोगाउन आग्रह गर्दै आएका छन् ।

उनीहरू जङ्गली जनावरको आतङ्क नरोकिए विस्थापित हुनुपर्ने बाध्यता रहेको स्थानीय जनप्रतिनिधिसँग दुःखेसो पोख्छन् । “बँदेलको दुःख त छँदैछ, गाउँमा बाँदर पस्न थालेको पनि तीन वर्षभयो, हामीले नेतासँग हारगुहार माग्दै आएका छौँ” पाँचखालका एक स्थानीय भन्छन् “नगरप्रमुखलाई पटक–पटक भेट्दा आश्वासन मात्र पाइन्छ ।” नगरप्रमुख महेश खरेलले भने जङ्गली जनावरको आतङ्कलाई दीर्घकालीन समस्या समाधानको बाटो खोजिरहेको प्रतिक्रिया दिए ।

बनेपा नपा–३ काँक्रेका किसान गोकुल बजगाइँ वन बाक्लिँदा जङ्गली जनावर पनि बढ्दै गएकाले मानिसका लागि थप चुनौती बन्दै गएको बताउछन् । उनी भन्छन, “वनमा बँदेलको सङ्ख्या बढ्दा आलुलगायतका खेतीबाली नष्ट हुँदै गइरहेका छन् ।” उनका अनुसार प्रत्येक वर्ष बँदेलले खेतबारीमा लगाएको आलु रोपेकै दिन हुँडलेर सखाप बनाइदिन्छन् ।

सोही गाउँका रामेश्वर बजगाइँको पीडा पनि उस्तै सुनाउछन् । उनी भन्छन, “२२ रोपनीमा हिउँद र बर्खामा दुई सिजन आलु लगाउँछु, कहिले त आधा आलु टिप्नै पाइन्न ।” स्थानीय शिक्षक तुलाप्रसाद दाहाल भन्छन, “बँदेल भगाउन बारीमा रेडियो बजाएर राखेकोसमेत अनुभव सुनाउनुहुन्छ ।” धुलिखेल नपा–१ देवीटारकी किसान सरस्वती घोरासैनीलाई दुम्सीले हैरान पार्दै आएको बर्षौँ भइसक्यो । “दुम्सीले बारीको काँक्रो र तरकारीका बोटनै सखाप पार्ने गर्छ, अहिले पनि अन्य बालीमा क्षति पु¥याउँछ कि भन्ने सम्भावित जोखिममै बसेका छौँ”, उनले भने ।

घोरासैनीका अनुसार दुम्सी ओढारमा लुक्ने र कोही नभएको बेला बारीमा आएर काँक्रो तथा अन्य बालीको उम्रिएका बोट उगेलेरै फाल्ने गर्दछन् । गतवर्ष पनौती नगरको कुशादेवी क्षेत्रमा पनि समूह समूहमा आएको बाँदरले स्थानीयवासीलाई निकै दुःख दिएका थिए ।

काभ्रेपलाञ्चोकमा वन क्षेत्रमा जोडिएर रहेका बस्तीमा जङ्गली जनावरले बाली तथा घर पालुवा जनावरलाई समेत क्षति पु¥याएपछि समाधानका लागि छलफल पनि चलाउने गरिन्थ्यो । जिल्लास्थित संवाद समूहले केही महिनाअघिसम्म विभिन्न स्थानीय तहमा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे विभिन्न चरणमा सरोकारवालासँग संवाद गर्दा अधिकांश किसानले बँदेल र बाँदरको समस्या देखाउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्