Logo
Logo

आमाको आँसु र मेरो मन



…स्कूलमा पढाएको त्यही चार वर्षको अवधिमा जीवनले अत्यन्तै महत्वपूर्ण अर्को मोड लियो । जीवन सोचे जस्तो सरल हुँदो रहेनछ ।

जीवनलाई उच्चतम् उद्देश्यको निम्ति उपयोग गर्ने भनेर लागेका म र मेरा साथी हरेक क्षणको ख्याल गर्दै अनुशासित जीवन बिताउँदै थियौँ । कुनैबेला आकाश छोएको अनुभूति हुन्थ्यो कुनै बेला भने पातालमा खसेको ।

हरेक दिन बिहान ५ बजेतिर नै टुंडिखेलमा साथीहरुसँग व्यायाम गर्न पुग्थेँ । सामुहिक शारीरिक व्यायाम गथ्र्यौं, एक घण्टा । त्यसपछि शिक्षक तालिममा पुगेर दिउँसो फेरी आफूले पढाउने स्कूलमा पुग्थे ।

स्कूल पछि घर–घरमा ‘प्रौढशिक्षा’ चलाएर बल्ल घर फर्किन्थें । मेरी आमालाई मेरो यस्तो दैनिकी सुपाच्य हुने कुरै थिएन । अझ बेलुकी प्राय राजनैतिक काममा व्यस्त हुन थालिसकेकि थिएँ ।

‘अति गोप्य’ मानिएको एउटा आकारविहीन राजनीतिक संगठनको सक्रिय कार्यकर्ता भइसकेकी थिएँ । एकपछि अर्को जिम्मेवारी थपिदै थियो । साथीहरुको घेरा पनि फराकिलो हुँदै थियो ।

त्यति नै बेला महेशदाईले आफ्नै घरमा मलाई एकजना विशेष व्यक्तिसँग छुट्टै भेटघाट गराउनु थाल्नुभयो । ती मान्छेबाट पहिलोपल्टको भेटमा नै अचम्मसित प्रभावित भएँ ।

एकजना पाको उमेरका, विनम्र, साहित्यिक भाषामा कुरागर्ने, मेरो बारेमा सबै कुरा थाहा पाएका– त्यस्ता मान्छेसँगको भेटले म निकै उत्साहित भएँ ।

कसैलाई नभनेका घरभित्रैका कुरा पनि उनले थाहा पाएकोमा म साँच्चै छक्कै पर्थेँ । उनलाई त म एउटा अप्ठेरो स्कूलमा पढाउँदैछु भन्ने बारे पनि थाहा रहेछ ।

उनले भने– ‘तपाईं ज्यादै महत्वपूर्ण ठाउँमा बसेर जनताको सेवा गर्दै हुनुहुन्छ । तपाईं जस्तो साहसी युवा हाम्रो समाजको निम्ति खाँचो छ । तपाईंले देशको सामाजिक परिवेशमा ‘दलित’बारे एउटा थेसिस नै लेख्न सक्नुहुनेछ ।’

‘थेसिस’ भनेको के हो थाहा नै थिएन, त्यति बेला । तर सुनेर बसें । साँच्चै प्रेरणादायी कुरा गर्ने नेता रहेछन् भन्ने लाग्यो । उनका सबै कुरा मनपर्यो । पहिलोपाली देखेको, नाम सोध्न पनि नमिल्ने ।

निक्कै समय पछिसम्म पनि मेरो मनमा खुल्दुली भइरह्यो– ती मान्छे को होलान् भनेर । धेरै पछि मात्र थाहा पाएँ– उनी त श्यामप्रसाद शर्मा पो रहेछन् । जसका बारे त्यो बेला राजनीतिक वृत्तमा अनेक अनुमान हुने गथ्र्यो ।

उनीसँगको भेटबारे आफ्नै सबभन्दा नजिककी साथी अष्टलक्ष्मीलाई समेत केही भन्दिनथिएँ– अनुशासन भंग होला भनेर …।

एकदिन महेश दाईले अष्टलक्ष्मी शाक्य र म दुबैलाई छुट्टै बोलाउनु भयो । त्यो दिन राजनीतिक कुराभन्दा फरक सामाजिक समस्याको कुरा गर्नु भयो । हाम्रो सन्निकट समस्याबारे कुरा खोतल्नु भयो–‘तपाईंहरुलाई कुनै सामाजिक समस्याले सताईरहेछ कि ?’

अष्ट र म एक अर्काको मुख हेर्न थाल्यौं । के भनौँ भनेर अल्मलियौँ । वास्तवमा हामी दुबैले उस्तै समस्या भोगिरहेका थियौँ । दुवैको घरमा बिहेको कुरा छिनिसकेको स्थिति थियो । आफूले देखेको सपना पुरा हुन सक्दैन कि भनेर हामी चिन्तित थियौँ र आपसमा गम्भीर छलफल गथ्र्यौ । महेश दाइले कुरा कोट्याईदिएपछि कुरा गर्न सहज भयो । हामीले जे हो त्यही कुरा सुनायौं ।

त्यतिबेलासम्ममा मेरो बिहे गर्न साइत पनि हेरिसकेकोले दिनै निश्चित भइकेको थियो । अष्टलक्ष्मीको पनि घरमा केटाको तर्फबाट सुपारी ल्याएर पक्का गरी साइत मात्र पर्खेको बेला थियो । एउटै समस्याले छोप्दै थियो दुबैलाई ।

मेरो त दुईबर्ष पर्खिपनि सकेकोले अर्को महिनामा नै बिहे हुने निश्चित भइसकेको कुरा म बुझ्दैथिएँ । घरमा आफन्तहरुसँग भेटघाट, बिहे गर्नका निम्ति सामग्री जुटाउने र भोजको तयारी, दाइजो आदिका निम्ति आमाको तनाव सबै बुझ्दै थिएँ ।

बिहे गर्दा दाइजो दिनुपर्ने कुराको बिरोधमा थिएँ म । आफूले चिन्दै नचिनेको मान्छेसँग कसरी बिहे गर्ने ? म जतिसुकै तनावमा भए पनि आमासँग कुरा उठाउनै सकिरहेकी थिइन । तर, विकसित हुँदै गरेको विचार, बोकेको सपना र नयाँ चेतनाले गर्दा चिन्दै नचिनेको मान्छेसँग बिहे गर्नु हुँदैन भन्ने कुराले जित्दै थियो ।

महेश दाइसँगको त्यो दिनको कुराकानी लामो मात्र हैन, निकै गम्भीर पनि भयो । अष्टलक्ष्मी र म दुवैको एउटै समस्या भएकाले केही सजिलो पनि भयो ।

‘संसारमा समाधान नभएको कुनै समस्या नै हुँदैन’ भन्ने कुरा मनमा गड्दै जाँदा यसको समाधान पनि खोज्न सकिन्छ भन्ने आशा पनि पलायो । बिहे नगर्ने निर्णय हामी दुबैले गर्यौं । तर कहाँ सजिलो थियो र !

त्यही साँझ आमासँग बिस्तारै सोधेँ–
आमालाई म बोझ त भएको छैन ?
आमा छक्क पर्नु भयो ।
के भन्छे यो ?
‘म अहिले बिहे गर्न सक्दिन !’
आमा एक्कासि तर्सिनु भयो–
त्यति राम्रो ठाउँमा कुरा चलेको छ, वचन पनि गइसक्यो । बिहे नहुने हो भने मैले कसरी यो समाजमा मुख देखाउनु…!’

कुनै हालतमा पनि बिहे रोकिँदैन भन्ने निश्चय थियो आमाको ।

अर्को दिन देखि झन् कडा हुन थालेँ म । ‘म बिहे गर्दै गर्दिन’ भन्न थालेपछि आमा अझै आत्तिनुभयो । आमाले कहिल्यै नसोच्नु भएको कुरा थियो त्यो । त्यसबेला प्राय सबै छोरीहरुको बिहे त्यसरी नै हुन्थ्यो– अभिभावकले निर्णय गरे पुग्थ्यो ।

मेरी दिदीको बिहे पनि त्यसरी नै भइसकेको थियो । मेरो अभिभावक, ‘ईश्वर’ जे भने पनि सबै मेरी विधवा आमा नै हुनुहुन्थ्यो । २६ वर्षकै उमेरदेखि विधवा भएर आफ्ना बच्चाहरु च्यापेर, समाजका असंख्य चुनौतिहरुसँग सामना गर्दै बाँचेकी …। धेरै माया गरेकी कान्छी छोरीले फरक बाटो खन्न थालेपछि आमालाई असह्य दुःख भयो ।

त्यो दुःखको असर दिदीहरुले पनि खप्नु पर्यो । त्यहिँबाट सुरु भयो एउटा नयाँ खालको संघर्ष । मेरी विवश आमा रुन थाल्नु भयो–

म र दिदीको अगाडि । ‘तिमीहरुलाई यति दुःख गरेर हुर्काएँ, बढाएँ … !’

यो अत्यन्त अप्ठेरो र कारुणिक क्षण थियो । म पनि बेस्सरी दुखेकी थिएँ । पछि अष्टलक्ष्मीको घरमा पनि महाभारत सुरु भयो । त्यसपछि अन्य महिला साथीहरुको घरमा पनि यसको असर पर्न थाल्यो ।

नारी चेतना र व्यक्तिगत स्वतन्त्रताको कुरा मात्र नभएर, नयाँ पिँढीका क्रान्तिकारीका निम्ति पनि त्यो संघर्षले बाटो खोल्दै थियो । बाहिरबाट राजधानी पस्ने आफ्नै इतिहास बोकेका कमरेडहरुको सपना हुर्किने मलिलो जमिन तयार पार्दै थियो ।

संघर्षको सबभन्दा कठिन परिस्थिति सिद्धिइसकेपछि जन्मेहुर्केका आजका ‘वामपन्थी नेता–कार्यकर्ता’लाई अघिल्लो पुस्ताका महिलाको त्यो व्यक्तिगत जस्तो लाग्ने लडाइँ पनि क्रान्तिको एउटा महत्वपूर्ण अंश थियो भन्ने कुरा बुझ्न कठिन छ ।

कसरी त्यस्ता संघर्षले उपत्यकामा माले–एमालेका निम्ति आधारभूमि बनाउने काम ग¥यो, त्यो बुझ्न त झनै गाह्रो हुने नै भयो !

प्रतिक्रिया दिनुहोस्