
काठमाडौं । काठमाडौँ महानगरपालिकाले पुतलीसडक क्षेत्रको फोहर व्यवस्थापन गर्न सम्झौता गरेको कम्पनीले नै पैदलमार्गमा थुपार्ने गरेको छ ।
पुतलीसडक क्षेत्रको फोहर उठाउने सम्झौता गरेको ‘स्वच्छ वातावरण स्वस्थ मानवजीवन’ कम्पनीले पैदलमार्गमा फोहर थुपारेको हो । गाडी आउन समय लाग्ने भएकाले पैदलमार्गमै फोहर थुपार्न बाध्य भएको कम्पनीका कामदार उद्धव मैनालीले बताए ।
फोहरका कारण राजधानीमा हैजा फैलिए पनि व्यवस्थापनमा सरोकारवालाको ध्यान जान सकेको छैन । राजधानीको मुख्य सडकको पैदलमार्गमा गाडामा ल्याएर फोहर थुपार्दा स्थानीयवासी कोही पनि चुइँक्क बोल्दैनन् ।
‘बोले पनि केही नहुने भएकाले चुप लाग्न बाध्य छौँ; उक्त क्षेत्रमा पसल सञ्चालन गरिरहेका रामचन्द्र श्रेष्ठले भने । फोहर व्यवस्थापनको जिम्मेवारी पाएको कम्पनीले नै फुटपाथमा फोहर थुपार्ने गरेको उनको भनाइ छ ।
महानगरले फोहोर व्यवस्थापनको अनुगमन नगर्दा यस्तो समस्या आएको स्थानीयवासीको गुनासो छ । महानगरपालिकाले कुहिने र नकुहिने फोहर वर्गीकरण गरेर व्यवस्थापन गर्न सार्वजनिक सूचना जारी गरे पनि पुतलीसडक क्षेत्रमा भने दुवैथरी फोहर एकै ठाउँमा राखेर फालेको देखिन्छ ।
सूचना जारी गरेपनि अनुगमन गरेर फोहर वर्गीकरण नगर्नेलाई कानुनी कारबाहीको प्रक्रियामा नल्याएका कारण यस्तो समस्या देखिएको श्रेष्ठले बताए ।











