काठमाडौं । एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले अर्थमन्त्रालयमा अनधिकृत मान्छे राखेर बनाइएको बजेटमा दुई चारजना व्यापारिक घरानाको अनुहार झल्किएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले अध्यक्ष ओलीले अनधिकृत रुपमा बजेट बनाएको आरोप लगाए ।

ओली भने, ‘प्रश्न सोध्नेलाई को हुन् तिनीहरू भनेर धम्क्याउने ? प्रमुख विपक्षीलाई एमाले को हो र सीसीटीभी फुटेज देखाउने ? भनियो । त्यतिन्जेलसम्म रहेको सीसीटीभी फुटेज अहिले कसरी डिलिट भयो ? सीसीटीभी फुटेज मकै पोल्नेले मात्र मान्नुपर्ने हो ? अर्थमन्त्री र मन्त्रालयले मान्नु पर्दैन ? यसको छानबिन गरेर प्रतिवेदनसहित प्रधानमन्त्रीजी आउनुहोला ।’
उनले वर्तमान सरकार ‘म नै राज्य हुँ’ भन्ने पाराले चलेको पनि बताए । बजेट निर्माणमा भएको चलखेलको बारे एमालेले उठाएको चासोमा सरकार पक्षले एमाले को हो भनेर सोधेको भनेर इङित गर्दै यो सरकार ‘म नै राज्य हुँ’ भन्ने पाराले चलेको उनले बताए ।
त्यस्तै ओलीले एमाले मात्र संसद र जनता प्रति उत्तरदायी रहेको दाबी गरे। ‘को हो एमाले? एमाले त अहिलेको संसद चलाउने पार्टी हो। संख्या हेरौं न । एमाले केति छ, को हो भनेर हेरौँ न’ उनले भने, ‘अरु पार्टीलाई संसद प्रति कुनै रुची छ र ? जनताको समस्या प्रति रुची छ ? संसद गनौं त यो सदन चलाउन एमाले नहुने हो भने कोरम पुग्दैन। अनी प्रतिपक्षी को हो भन्ने यो अवधारणा ‘म नै राज्य हुँ’ भन्ने रहेको छ ।’











