Logo
Logo

नुपुर शर्माको तरंग नेपालमा



काठमाडौं । भारतीय जनता पार्टी(भाजपा)की प्रवक्ता नुपुर शर्माले इस्लाम धर्मका प्रवर्तक मोहम्मद पैगम्बरलाई अपमान गर्ने अभिव्यक्ति दिएयता छिमेकी देश भारत अशान्त छ । शर्माविरुद्ध भारतका विभिन्न प्रदेशका प्रहरीमा उजुरी परेको छ । ठाउँ–ठाउँमा हिन्दु–मुस्लिम झडप भएका छन् । भारत मात्र नभई अन्य देशहरुमा पनि उनको अभिव्यक्तिको विरोध भइरहेको छ । कतिपय मुस्लिम देशहरुले शर्माविरुद्ध कडा अभिव्यक्ति दिएका छन् ।

नुपुर शर्मा प्रकरणको असर नेपालमा समेत देखिएको छ । सोही विषयलाई उचालेर केही व्यक्तिहरु हिन्दु–मुस्लिम साम्प्रदायिक दंगा मच्चाउने प्रयासमा लागेका छन् । बाँके लगायत जिल्लामा यस्तो समस्या देखिएपछि त्यहाँको प्रशासन र सुरक्षा निकायलाई तनाव बढेको छ ।

बाँकेमा केही व्यक्तिहरुले नुपुर शर्माको समर्थन गर्दै मुस्लिम धर्ममाथि अपमान गर्ने प्रयास गरेका छन् । जसकारण यो विषयमा जिल्ला प्रशासन कार्यालयले पटक–पटक सबै धर्मका अगुवा र स्थानीय नेताहरुलाई छलफलमा बोलाएर सामाजिक सद्भाव कायम गर्न आग्रह गरेको थियो ।

नेपालगञ्ज निवासी राजेश जलान विद्रोहीले मुस्लिम धर्मविरोधी अभिव्यक्ति दिएपछि तनाव बढेको हो । उनले नुपुर शर्माको समर्थन गर्दै निरन्तर मुस्लिम धर्मविरोधी अभिव्यक्ति दिइरहेका छन् । जसको विरोधमा मुस्लिम अगुवाहरुले प्रशासन गुहारेका छन् ।

बाँकेमा सद्भाव बिग्रनुको कारण लेनेदन विवाद र प्रहरीको शंकास्पद भूमिका पनि गाँसिएको छ । राजेश जलान र ननैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमदबीच लेनदेन विवाद छ । इस्तियाकसँग जलानले एक करोड रुपैयाँ लिनुपर्ने छ । चेक बाउन्स मुद्दामा एक करोड भराउन अदालतले नै आदेश दिएको छ । तर, बाँके प्रहरी इस्तियाकसँग मिलेर फैसला कार्यान्वायनसम्बन्धि पत्र नै गायब बनाइएको थियो । बाँकेका एसपी श्यामकृष्ण अधिकारीका कारण पनि यही विषयको प्रतिशोध स्वरुप जलान लगायत व्यक्तिले सामाजिक सञ्जालमा धर्मविरोधी अभिव्यक्ति दिइरहेका छन् ।

पछिल्लो समय मुस्लिम अगुवाले जलानविरुद्ध कारबाहीको माग गरी प्रहरीमा उजुरी दिएका छन् । केही समयअघि जिल्ला प्रशासन कार्यालयमा उनीहरुले नाराबाजी समेत गरेका थिए । साइबर अपराध मुद्दा चल्न सक्ने भएपनि जलान फरार छन् । तर, प्रहरीले निष्पक्ष भूमिका खेल्न नसक्दा नेपालगञ्जमा यो विषयले पछि ठूलो समस्या ल्याउन सक्ने देखिएको छ ।

उता, गृह मन्त्रालयले पनि मुस्लिम बस्ती धेरै भएका जिल्लाहरुमा विशेष सतर्कता अपनाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्