Logo

‘शक्तिशाली कम्युनिस्ट पार्टी आजको युगको आवश्यकता’


झलनाथ खनाल, सम्मानित नेता, नेकपा एकीकृत समाजवादी


काठमाडौं । हाम्रा सामु रहेका वस्तुगत परिस्थिति हाम्रो चिन्तन र चाहना भन्दा स्वतन्त्र हुन्छ । त्यसलाई हाम्रो आग्रह वा पूर्वधारणाका आधारमा विश्लेषण गरेर सच्चाई पत्ता लगाउन सकिन्न । हामीले माक्र्सवादी वैज्ञानिक र वर्ग दृष्टिकोणका आधारमा विकासवान वस्तुगत परिस्थितिको विश्लेषण गर्नुपर्छ र सच्चाइलाई आत्मसाथ गर्नुपर्छ ।

ओली गुट विरुद्धको वैचारिक संघर्ष अहिले पनि जारी छ । ओली गुट विरुद्धको राजनीतिक संघर्ष विभिन्न चरण हुँदै अघि बढ्दै आएको छ । प्रथमतः त्यो गुटविरुद्ध हामीले पाँच दलीय गठवन्धन बनायौँ र एकातिर सडकबाट प्रतिगमन विरोधी संघर्ष सुरु गर्याँै । अर्कातिर सर्वोच्च अदालतमा कानुनी संघर्षलाई अघि बढायौँ ।

त्यो कानुनी संघर्षमा सर्वोच्च अदालतले केपी गुटको संसद विघटन गर्ने र संविधान कुल्चिने असंवैधानिक कदमलाई असफल गराइदियो । कानुनी संघर्षमा ओली गुटको पराजय भयो ।

त्यो पराजय सँगसँगै हाम्रो प्रतिगमन विरोधी आन्दोलन पनि समाप्त भयो । ओली गुट विरोधी संघर्षको पहिलो चरणको संघर्षमा हामीले राम्रो सफलता हासिल गर्यौँ ।

दोस्रो, संघर्ष संसदभित्र केन्द्रित हुन पुग्यो । ओली गुटलाई सत्तामा राखेर संविधान, लोकतन्त्र र जनवादी क्रान्तिका उपलब्धिहरूलाई जोगाउन सकिँदैन थियो । त्यसैले पाँचदलीय गठबन्धनले संसदबाट ओली गुटको एकाधिकारवादी, निरंकुश, संविधान विरोधी, संसद विरोधी र प्रतिगमनकारी सरकारलाई सत्ताच्युत गरिदियो ।

पाँचदलीय गठबन्धनको नयाँ सरकार गठन गरियो । केन्द्रमा ओली गुट पराजित भयो । संसद पुनस्र्थापना भयो । संविधान सुचारु भयो र व्यवस्था अघि बढ्न थाल्यो ।

तेस्रो, त्यसपछि पनि ओली गुट विभिन्न प्रदेशहरूमा रहेका सत्तालाई प्रयोग गरेर आफ्ना गलत कार्यलाई जारी राखिरहेको थियो । र, संघीय संसदलाई चल्नै नदिने हर्कत गरिरहेको थियो ।

त्यसकारण ती प्रदेशहरूमा पनि ओली गुटविरुद्ध पाँचदलीय गठबन्धनको संयुक्त संघर्षलाई अघि बढाउन जरुरी थियो । तद्नुरूप हामीले ७ मध्ये ६ वटै प्रदेशमा ओली गुटका पक्षधर सत्तालाई संसदीय र संवैधानिक संघर्षको प्रकृयामार्फत सत्ताच्युत गर्यौँ । यी सबै संघर्षमा ओली गुट सत्ताबाट पराजित हुँदै गयो । यो ओली गुटको शर्मनाक रानीतिक पराजय हो ।

चौथो, अझैपनि त्यो गुटमा संसदका दुबै सदनमा आफू सबैभन्दा ठूलो दल रहेको घमण्ड छँदै थियो । त्यसलाई पनि ठेगान लगाउनु आवश्यक देखियो । त्यसैले राष्ट्रिय सभाको निर्वाचनमा पनि पाँचदलीय गठबन्धन एक भएर निर्वाचन संघर्ष गरियो ।

उक्त संर्घषमा पनि ओली गुट नराम्ररी पराजित भयो । यहाँसम्म आउँदा ओली गुटका विरुद्धको राजनीतिक संघर्षमा हामीले आधारभुत सफलता प्राप्त गर्यौँ । त्यो गुट आफै कमजोर हुँदै गइरहेको थियो र, वामपन्थी आन्दोलनलाई पनि कमजोर बनाउँदै गरिरहेको थियो । त्यो गुटका विरुद्धको राजनीतिक संघर्ष अन्त्य हुँदै गएको थियो । र, वैचारिक– सैद्धान्तिक संघर्षले प्रधानता प्राप्त गरिरहेको थियो । त्यसपछि हामीले नयाँ धरातलबाट अघि बढ्न जरुरी थियो ।

एउटा शक्तिशाली कम्युनिस्ट पार्टी आजको युगको आवश्यकता हो । तर, कुनै वाम समूहमा दक्षिणपन्थी भड्काउ छ, कुनैमा उग्रवामपन्थी भड्काउ छ । ति भड्काउका विरुद्ध आजको धरातलमा खडा भएर वैचारिक संघर्ष गर्नुपर्छ । उनीहरूलाई रुपान्तरण गर्दै एउटा राष्ट्रव्यापी, जनव्यापी र शक्तिशाली एकीकृत कम्युनिष्ट पार्टी बनाउनुपर्छ ।

खासगरी स्थानीय तहको निर्वाचनको विन्दुमा आइपुगेपछि हाम्रो पार्टीले मुलुकको परिस्थितिमा आएका परिवर्तनहरूलाई स्वयम् ओली गुटको स्थितिलाई, नेकपा (एमाले)को समग्र स्थितिलाई, त्यसभित्र रहेका अन्तरविरोधहरूलाई, नेतृत्व गुट र आम कार्यकर्ता पंक्ति बीचको भिन्नतालाई, स्थानीय तहको निर्वाचनको राजनीतिक महत्वलाई, त्यसलाई सही ढंगले उपयोग गर्ने सम्भावनालाई, यस निर्वाचनमा बढीभन्दा बढी सफलता प्राप्त गर्ने उपायहरूलाई, विभिन्न राजनीतिक पार्टीहरूसँग निर्वाचनमा तालमेल गर्ने सम्भावनाहरुलाई, विभिन्न पार्टीको वर्गीय स्थिति र चरित्रहरूलाई नयाँ धरातलबाट र खुला रुपले विश्लेषण गर्न जरुरी थियो ।

पाँचदलीय गठबन्धनको घेराभन्दा माथि उठेर मुलुकको परिस्थिति, हाम्रो पार्टीको स्थिति, वाम आन्दोलनको स्थिति र क्रान्तिकारी अग्रगतिका बारेमा सोच्न जरुरी थियो । तर, हामी पाँचदलीय राजनीतिक घेराबन्दीमा बाधिन पुग्यौँ । त्यहि धरातलबाट मात्र पार्टीका नीति र योजनाहरू बन्न पुगे ।

हामीले पाँच दलभित्रैबाट हुन सक्ने वर्गीय र अवसरवादी धोखाधडीलाई आंकलन गर्न सकेनौं । परिणाम स्वरुप स्थानीय तहको निर्वाचनमा केहि थोरै स्थानमा बाहेक हामीले देशव्यापी धोखा खायौँ । हामीले आफ्नो स्वतन्त्र पहलकदमी र सकृयतामा प्राप्त गर्न सक्ने सफलताहरुबाट आफैलाई वञ्चित पार्यौँ ।

अब स्थानीय तहको निर्वाचन समेत समाप्त भएको छ । त्यो सबैका निम्ति गहन ढंगले अध्ययन गर्नुपर्ने र शिक्षा लिनुपर्ने एउटा ठोस व्यवहारिक अनुभवका रूपमा हाम्रा सामु प्रस्तुत छ । हामीले यो अनुभवका सबै अध्याय र पहलहरूको गहन अध्ययन र विश्लेषण गर्नुपर्छ ।

– यो निर्वाचनले मुलुकको राजनीतिक शक्ति सन्तुलनमा ठूलो परिवर्तन ल्याएको छ ।
– देशमा वामपन्थीहरूको करिब ७० प्रतिशत जनमत देखिन्छ । तर, नेपाली कांग्रेस जस्तो पुँजीवादी शक्ति मुलुकको सबैभन्दा ठूलो पार्टीका रूपमा प्रकट भएको छ ।
– वामपन्थीहरु वीचमा ओली गुटको प्रतिगमनसम्मको संविधान विरोधी गलत कार्यले ल्याएको व्यापक विभाजनले देशका दक्षिणपन्थी शक्तिहरूलाई ठूलो फाइदा पुगेको छ ।
– यो निर्वाचनले स्वंय ओली गुटविरुद्ध एमालेभित्रको संघर्षलाई पनि तीव्र पारिदिएको छ र त्यसलाई विभिन्न कुरामा पुर्नविचार गर्न बाध्य पारिदिएको छ ।
– यो गुटका इच्छाका विपरीत करिब ९ महिनासम्म जबर्जस्त अवरोध गरिरहेको संसदलाई अहिले बिनासर्त खोल्न र सूचारु गर्न एमाले बाध्य भएको छ ।
– एमालेको कार्यकर्ता पंक्ति केहि ठाँउमा स्थानीय तहमा हामीसँग कार्यगत एकता वा सहकार्य गर्न सहमत देखिएको छ ।
– उनीहरूको माथिल्लो तहमा पनि छिटफुट अनौपचारिक सम्वादहरू सुरु भएका छन् ।
– यतिमात्र होइन एमालेभित्र वामपन्थी एकता र सहकार्यको पक्षमा बाहिरै महसुस हुनेगरी कतिपय साथीहरूबाट आवाज पनि उठ्न थालेको छ ।
– उपरोक्त कुराहरू एमालेमा देखा परेका केही सकारात्मक कुराहरू हुन् । कतिपय नेता र कार्यकर्ताहरूमा हिजोका गल्तीहरूका बारेमा महसुस हुन थालेको छ । तर, पार्टी नेतृत्व त्यो बिन्दुमा पुगिसकेको छैन । हामीले त्यो पार्टीलाई उपरोक्त सकारात्मक कुराहरूलाई समातेर कमसेकम कार्यगत एकताको धरातलमा उठाउने दिशामा ठोस प्रयत्न गर्नुपर्छ ।

को हो वास्तविक कम्युनिष्ट ?
अब हामीले पार्टी विद्रोह गरिरहेको बेलामा जस्तो भावावेशमा र आक्रोशमा बगेर हुँदैन । बदलाको भावना लिएर पनि होइन, हामीले मनस्थितिका साथ वस्तुगत स्थितिको नयाँ धरातलमा उभिएर नीति निष्ठ र सिद्धान्तनिष्ठ तथा बस्तुनिष्ठ ढंगले अघि बढ्नुपर्छ ।

हामीले व्यवहारमा सकेसम्म कार्यगत एकताको प्रक्रियालाई अघि बढाउनुपर्छ । साथसाथै ओली गुटको दक्षिणपन्थी अवसरवादका विरुद्ध वैचारिक–सैद्धान्तिक संघर्ष र रुपान्तरणको प्रक्रियालाई घनिभुत बनाउँदै लानुपर्छ ।

अब पनि हामीहरू दक्षिणपन्थी, पुँजीवादी शक्तिहरूसँग गठबन्धन गरेर एउटा वामपन्थी समूहका विरुद्ध राजनीतिक मोर्चाबन्दीमा लाग्छौँ भने हामी स्वयं नै दक्षिणपन्थी भड्काउतिर धसिने खतरा पैदा हुन्छ ।

हामीले ठीक यही बिन्दुबाट पार्टीमा प्रकट हुन सक्ने दक्षिणपन्थी खतराबाट जोगिनुपर्छ र पार्टीलाई जोगाउनुपर्छ । हामीले यतिबेला के पनि गहिरो गरी बुझ्नु पर्छ भने हामी समाजवादी क्रान्ति र रूपान्तरणको शान्तिपूर्ण बाटोमा छौं । अहिले पनि नेपाली कम्युनिष्ट आन्दोलन विभाजित अवस्थामा छ ।

एउटा शक्तिशाली कम्युनिस्ट पार्टी आजको युगको आवश्यकता हो । तर, कुनै वाम समूहमा दक्षिणपन्थी भड्काउ छ, कुनैमा उग्रवामपन्थी भड्काउ छ । ति भड्काउका विरुद्ध आजको धरातलमा खडा भएर वैचारिक संघर्ष गर्नुपर्छ । उनीहरूलाई रुपान्तरण गर्दै एउटा राष्ट्रव्यापी, जनव्यापी र शक्तिशाली एकीकृत कम्युनिष्ट पार्टी बनाउनुपर्छ । त्यसका लागि कसलाई वास्तविक कम्युनिष्ट पार्टी मान्ने ? हामीले ठोस माक्र्सवादी मापदण्ड अघि सार्नुपर्छ ।

१. माक्र्सवाद–लेनिनवादलाई आफ्ना सबै विचार र व्यवहारको मागदर्शक सिद्धान्त मान्ने ।
२. नेपालमा हामीले जनवादी क्रान्ति सम्पन्न गर्यौँ र हामी समाजवादी क्रान्ति र रुपान्तरणको युगमा प्रवेश गर्यौँ । अब वैज्ञानिक समाजवाद स्थापनालाई रणनीतिक लक्ष्य बनाएर अघि बढ्नुपर्छ भन्ने कुरालाई मान्ने ।
३.आन्तरिक रुपमा दलाल पुँजिवाद र प्रतिक्रियावादका विरुद्ध संघर्ष गर्ने र बाह्य रुपमा साम्राज्यवाद, प्रभुत्ववाद, नव उपनिवेशबाद, शक्ति राजनीति, गुट राजनीति, सैनिक गठबन्धन, युद्ध र आक्रमणको विरोध गर्ने ।

उपरोक्त तीन वटा मापदण्डलाई मान्ने सबै समूहलाई कम्युनिष्ट समूह मान्नुपर्छ र उनीहरूसँग वैचारिक–राजनीतिक कार्यदिशा, नीति, सिद्धान्त र संङ्गठनात्मक पद्धतिमा एकरुपता हुनेहरू सँग पार्टी एकीकरणका दिशामा पनि अघि बढ्नु पर्ने हुन्छ ।

त्यसका निम्ति हामीले सबै भन्दा पहिले आफुलाई स्वतन्त्र जगमा खडा गर्नुपर्छ । आफ्ना बैचारिक र संगठनात्मक स्थितिलाई प्रष्ट पार्नुपर्छ । साथै तत्काल पार्टी एकता नहुने अवस्थामा हामीले सबै बामपन्थी समुहहरूसँग कार्यगत एकता गर्न सकिने ढोका खुला गर्नुपर्छ ।

उपरोक्त मापदण्डलाई पूर्णरूपले नमाने पनि वर्तमान समाजलाई आमूल परिवर्तन गर्न चाहने आफूलाई कम्युनिष्ट भन्ने सबै समूहलाई वामपन्थी समूह मान्नुपर्छ । ती समूहहरूसँग दक्षिणपन्थी वा उग्रवामपन्थी बैचारिक भड्काउ रहेका हुन सक्छन ।

ती भड्काउहरूसँग मैत्रीपूर्ण ढंगले नीतिनिष्ठ संघर्ष गर्दै अघि बढ्नुपर्छ । तर, ती सबै समूहसँग पुँजीवादी शक्तिहरूका विरुद्ध राजनीतिक संघर्षमा कार्यगत एकता गर्ने नीतिमा अघि बढ्नुपर्छ ।

पाँचदलीय गठबन्धनको समीक्षा
अहिले हामी पाँचदलीय गठबन्धनका साथ अघि बढिरहेको विशेष अवस्थामा छौं । यो अस्थायी र विशेष राजनीतिक संघर्षका निम्ति बनेको मोर्चा हो ।

यस्तो अवस्थामा कार्यनीतिक रूपमा अहिले हामीले जहाँ जो सँग कार्यगत एकता गर्दा हाम्रो पार्टीको अग्रगतिलाई फाइदा हुन्छ, त्यही ढंगले कार्यगत एकता गर्ने नीति लिएर अघि बढ्नुपर्छ ।

हामीले कसैसँग पनि पानी बाराबारको ढोका बन्द नीति लिनुहुँदैन । त्यस्तो नीतिले हामीलाई स्थानीय तहको निर्वाचनमा निकै ठुलो नोक्सानी पुगेको छ ।

प्रथमतः हामीले अब आफुलाई नयाँ धरातलमा खडा गर्नुपर्छ । दोस्रोः अब हामीले सबैसँग खुला हुनुपर्छ जोसँग सहकार्य गर्दा बढी फाइदा हुन्छ, त्यो ढंगले अघि बढ्ने नीति लिनुपर्छ ।

तेस्रोः हामी सबैसँग आवश्यकता अनुसार कार्यगत एकता गर्छौं भन्ने नीति लिनुपर्छ । चौथोः सबै पार्टीहरूसँग दुई पक्षीय रुपले संवादलाई अघि बढाउनुपर्छ र दुईपक्षीय समझदारी पनि बढाउनुपर्छ । को सँग एकता गर्दा हाम्रो पार्टीलाई के हित हुन्छ, त्यो कुरा पत्ता लगाउनुपर्छ ।

पाचौंः वामपन्थी समूहहरूसंगको कार्यगत एकतालाई प्राथमिकता दिएर अघि बढ्नुपर्छ र विस्तारै कम्युनिष्ट एकता निर्माण गर्ने दिशामा अघि बढ्नुपर्छ । तब मात्र हामीहरू समाजवादी क्रान्तिको प्रवाहलाई क्रमशः अघि लान सक्छौँ ।

अबको तयारी
हामीले आफ्ना उमेद्वारहरू १६५ संघीय निर्वाचन क्षेत्र र ३३० प्रादेशिक निर्वाचन क्षेत्रमा नै उठाउनुपर्छ । हाम्रो प्रचार र संगठनलाई त्यहि ढंगले अघि बढाउनुपर्छ र सम्भव हुने ठाउँमा होसियारी पूर्वक तालमेल गर्नुपर्छ । आगामी निर्वाचनमा पनि हामीले आफ्नो उद्देश्यलाई प्रष्ट पार्नुपर्छ ।

प्रथमतः पार्टीका कार्यदिशा, नीति, सिद्धान्त पार्टीका झण्डा चिन्ह आदिलाई व्यापक प्रचार गर्ने । दोस्रो, पार्टीका संगठन र जनवर्गीय संगठनलाई व्यापक रुपले विस्तार गर्ने । तेस्रो, हाम्रो पार्टी र क्रान्तिको पक्षमा व्यापक जनमत निर्माण गर्ने ।

चौथो, समानुपातिक मत बढी मात्रामा प्राप्त गर्न आधार तयार पार्ने । पाँचँौ, प्रत्यक्ष निर्वाचनमा आँफै वा तालमेल गरेर पनि बढी सिट जित्ने प्रयत्न गर्ने । छैटौँ,संघीय र प्रादेशिक दुबै तहका संसदमा क्रान्तिकारी समाजबादी संसदीय समुह निर्माण गर्ने ।

(नेकपा एकीकृत समाजवादीको प्रथम केन्द्रीय परिषद् बैठकमा सम्मानित नेता खनालद्वारा प्रस्तुत धारणामा आधारित ।)

प्रतिक्रिया दिनुहोस्