Logo
Logo

आँसुको मूल्य र संघर्षको कथा



…आमाको आँसुले नपोल्ने कोही हुँदैन, मलाई पनि पोल्यो, पोलिरह्यो । बिधुवा आमाले छिनेको बिहेलाई सबभन्दा मायाँ गरेकी कान्छी छोरीले नै अवज्ञा गर्नु, त्यो बेलाको निम्ति चानचुने संघर्ष थिएन ।

यद्यपि, त्यो संघर्ष पछि मेरो आत्मविश्वास थपियो, स्वतन्त्रता प्राप्त भयो– अहिलेको जीवन पनि त्यसैको परिणाम हो । त्यसको मूल्य भने निकै महंगो भयो । यी हरफहरु लेखिरहँदा मेरी आमा पनि हुनुहुन्न यो संसारमा । तर जब जब आमालाई सम्झन्छु, त्यो आँसुले झस्किन्छु ।

त्यो बेलाको सोँच थियो– देशलाई परिवर्तन चाहिएको छ, त्यो आवश्यकता नै सर्वोपरी हो, र त्यसको लागि केही गर्ने भनेको आफैले हो; देशको अवस्था सुध्रिए आमाको दुःख पनि जनताका सबैखालका दुःखसँगै समाप्त भैहाल्छ ।

धेरै ढिलो गरेर दशकौंपछि ठूलै परिवर्तन पनि भयो । राजतन्त्र र दलविहीनताको ठाउँमा गणतन्त्र र ‘समाजवाद उन्मुख’ बहुदलीय संसदिय लोकतन्त्र आउनु सानो तिनो कुरा हैन । धेरै धेरै स्वप्नदर्शीहरुको सपना संघर्ष, त्याग र बलिदानले नै भएको हो यो परिवर्तन ।

त्यतिबेलाको संघर्षलाई अहिलेको उन्मुक्त शिक्षित शहरिया मध्यमवर्गीय युवा आँखाले हेर्दा नितान्त व्यक्तिगत र सानो पारिवारिक घेराभित्रको संघर्षजस्तो देखिएला । तर त्योबेलाको निम्ति जीवन मरणकै संघर्ष थियो, सिंगो समाज विरुद्ध एउटी सानी कमजोर देखिने किशोरीकोको संघर्ष ।

त्यसलाई अझै भयानक बनाउने गरी आमाले भन्नु भयो– ‘यदि तिमीले यो बिहे नगर्ने हो भने म इनारमा हामफालेर मरिदिन्छु…’ यस्तो कुरा सुन्नु मात्रै पनि सानो धर्मसंकट थिएन !
फेरि एकपल्ट महेशदाइसँग सल्लाह गर्न म एक्लै दौडें, मलाई थप आँट चाहिएको थियो । बिहे हुने भएपनि उहाँलाई सूचनासम्म त दिनु थियो ।

त्यतिबेलाको संघर्षलाई अहिलेको उन्मुक्त शिक्षित शहरिया मध्यमवर्गीय युवा आँखाले हेर्दा नितान्त व्यक्तिगत र सानो पारिवारिक घेराभित्रको संघर्षजस्तो देखिएला । तर त्योबेलाको निम्ति जीवन मरणकै संघर्ष थियो, सिंगो समाज विरुद्ध एउटी सानी कमजोर देखिने किशोरीकोको संघर्ष ।

महेश दाइसँग भेटमा सबै कुरा गरेपछि उहाँले भन्नु भयो– ‘यो संसारमा कहिं पनि सुनेको छैन– आफ्नो छोराछोरीले बिहे गर्न नमान्दा आमाबुवा मर्ने कुरा । यो त छोरीलाई विवाह गराउन दिइएको एउटा मानसिक दबाव मात्र हो…’ त्यसपछि म अझै दरो बन्ने प्रयत्न गरें ।

उता अष्टलक्ष्मीको घरमा पनि संघर्ष सुरु भैसकेको थियो । हामी दुवै एक आपसलाई टेवा साहस भर्ने काम गरिरह्यौँ । सानो सानो चिठी लेखेर पनि आपसमा आत्मबल थप्थ्यौं । उनकी कान्छी बहिनी हुलाकी बनिदिन्थिन्, हाम्रो निम्ति । अहिले हामी बीचको त्यो सुन्दर पुललाई पनि बिर्सिन सक्तिन ।

जे गरे पनि विवाहको तयारी भने रोकिँदै रोकिएन । साइत झन् झन् नजिकिँदै थियो । सबैजना तनावमा थिए । मेरी माइली दिदी आफन्तहरुकहाँ गुहार माग्न जानु भयो । म आफ्नै किसिमले त्यो विवाह गर्ने घर सम्म नै मेरो कुरा पुगोस् भनेर सम्बन्धित मान्छेहरुसँग कुरागर्न पुगें । झन् उल्टो असर परेछ– बीचमा विवाह भाँड्न खोजेको भनेर । झनै बाहिर जानबाट पनि रोक लाग्यो ।

अनि भने ममा एउटा खतरनाक सोच आयो– ‘यसै उसै मेरो सपना पुरा नहुने भएपछि म नै पहिले मरिदिन्छु । समाजमा अरु छोरीहरुको निम्ति त बाटो खुल्छ !’

त्यो बेलाको एउटै मात्र ठूलो दैनिक पत्रिका गोरखापत्रमै ठूलो अक्षरले सबैलाई जानकारी गराएर मर्ने ! सामाजिक बन्धन कतिसम्म बलियो थियो भने मेरो लासैसँग भए पनि विवाह गर्ने जस्तो गरी तयारी रोकिएन …।

मेरी विवश आमा अझै विवश र दुःखी देखिनु भयो– ‘बिहे मात्र गरिदेऊ, तिमीलाई सबै कुरा भनेजस्तै गरी राख्ने कुरा भएकोछ । पढ्ने भए पनि काम गर्ने भएपनि…’ जब ज्यानै त त्यागगर्ने तयार भैसकेँ भने अरु कुनै लोभले के छुन सक्थ्यो र ! धन्न अझैसम्म बाँच्न पाएकी छु !

संघर्ष चरम सिमामा पुग्दै थियो । एकदिन बिहानै एक्कासि लमि हाम्रो घरमा देखा परिन् । रिसले तम्मतमाएको अनुहार लिएर भरेङ चढेर चोटासम्म पुगिन् । बाहिरबाट आउने मान्छेसँग भेट्ने, कुराकानी गर्ने त्यही चोटामा गरिन्थ्यो । सामान्यतया सुकुल मात्र ओछ्याइएको त्यो ठाऊँमा कोही मान्छे पुग्दा मात्र चकटी ओछ्याईदिने गरिन्थ्यो ।

उनी घरमा पुग्नासाथ कुनै औपचारिक कुराकानी बिना नै दुईवर्ष अघि लगेको मेरो चिनालाई फ्यात्त सुकुल माथि फ्याँकिदिएर भनिन्– ‘चाहिएन अब यो चिना सिना ! हामीलाई ठूलो धोका भयो ! सबैकुरा थाहापाइसक्यौं । दुई दुईवर्षको तयारी मिहेनत सबै खेरा गयो ! जातजोरीको अगाडि नराम्रो भयो…’ भन्दै एकैछिन पनि नबसी लगत्तै भरेङ ओर्लेर गइन् ।

आमा मौन ! आमाको अनुहार हारेको मान्छेको झैं हिनताबोध, लज्जाबोध नैराश्य सबै मिस्सिएर रोऊँ कि हाँसु भयो ।

ती महिला भरेङ ओर्लिएर दैलोसम्म पनि नपुग्दै आमाले मेरो मुखैमा थुक्नु भयो र दुई थप्पड हान्नुभयो – ‘…तँ अब मेरो सन्तानै होइन, तेरो मुखै हेर्दिन’ भन्दै बाहिरिनु भयो । कत्रो ठूलो चोट होला ! त्यसपछि केही दिन कुनै सूचना नदिई हराउनु भयो । दिदीहरु जिल्ल पर्नु भयो । कसले कसलाई के भन्ने ?

तर, आमाको माया न हो ! केही दिनपछि आमा फर्किनु भयो । अझै मसँग केही बोल्नु भएन । मेरो अनुहारै हेर्न चाहनु भएन । झण्डै दुई बर्ष आमा–छोरीको बोलचाल बन्द भयो । यसरी पाएको संघर्षको नतिजालाई हार मानुँ या जीत !

त्यसपछि अष्टलक्ष्मीको घरमा पनि संघर्ष चर्कदै गयो । हामीबीच भेटघाट पनि गर्न दिएनन् । चिठीपत्र मात्र चलिरह्यो । आखिरमा त्यहाँ पनि उसै गरी टुंगियो बिहेको कुरा ।

जीवनमा साथीको कति आवश्यकता हुन्छ, कति महत्व हुन्छ भन्ने कुरा दुःखको बेलामा थाहाहुन्छ । त्यो बेलाको हामीबीचको मित्रता र आत्मियताको भिन्दै अर्थ र महत्त्व थियो ।

उहिले हामीले खोजेजस्तै अवस्था अहिले आयो कि आएन कुन्नी ! राजनितिक परिवर्तन भने करीब करीब खोजेजस्तै भयो । तर यो परिवर्तनपछि हामी दुई अभिन्न साथीको बाटो फरक भएको छ ।

एकचोटी उनी चिल्लो कारमा झण्डा फर्फराउँदै गुडिरहँदा म पछिपछि टेम्पोमा थिएँ । एउटै कार्यक्रममा जाँदै थियौं । हामीले किशोरावस्थामा उस्तै सपना देख्यौं । देश, जनता, मुक्ति र समानता नै हामीबीचका कुराकानीका विषय हुन्थे ।

त्यसैका निम्ति संगसंगै मुक्ति संग्राममा लड्यौं पनि– एकआपसमा आशा र विश्वाशको टेवा दिँदै…। यो कुरा त उनले पनि कहाँ बिर्सेकी होलिन् र ! हाम्रो मित्रता थाहा पाउनेले अझै सोध्ने गर्छन् ।

जवाफमा यति मात्र भन्ने गर्छु– ‘उनी नभएको भए म आजको म हुने थिइन, म नभएको भए पनि उनी आजकी अष्टलक्ष्मी शाक्य हुने थिइनन् … !

प्रतिक्रिया दिनुहोस्