Logo
Logo

सडकमै वडा कार्यालय !


1.8k
Shares

काठमाडौं । लामो समयदेखि भक्तपुर–नगरकोट सडक नबनाएपछि विरोध स्वरुप चाँगुनारायण नगरपालिका वडा न. ६ का वडाअध्यक्ष धनबहादुर लामाले सडकमै कार्यालयको काम गरेका छन् ।

दुई वर्षमा बनाउनुपर्ने भक्तपुर–नगरकोट सडक नौ वर्षसम्म पनि नबनेपछि ठेकेदार कम्पनी र सरकारलाई चुनौती दिन सोमबारबाट सडकमै कार्यालय चलाउन थालेका हुन् ।

सोमबार बिहान कार्यालय समयदेखि वडाध्यक्ष लामाले सडकबाटै सेवाग्राही काम गरेका थिए । उनले टेबुल कुर्सीसहित सडकमा बसेर उनी सेवाग्राहीका काम गरेका थिए ।

भक्तपुर नगरकोट सडक तत्काल निर्माण गर भन्ने ब्यानर नै टाँसेर वडा अध्यक्ष लामाले सांकेतिक विरोध गर्दै वडाको काम गरेका हुन् । वर्षौंदेखि निर्माणकार्य अलपत्र हुँदा भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्म जाने सडक पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने गरेको लामाले बताए ।

उनले भने, ‘धेरै समय भयो सडक बनेनन् ठेकेदार र सरकारको ध्यानाकर्षण गर्न मैले सडकबाट नै जनताको काम गरेको हुँ । अरु कार्यक्रमहरु पनि रहेका छन्, यति गर्दा पनि वास्ता नगरे नगरपालिका सबै सडकमा आएर काम गर्नेछ ।’

केही समय अगाडि पनि स्थानीय नेता सहितको टोली बाटोकै विषयलाई लिएर प्रधानमन्त्री कार्यालयसम्म डेलिगेसन पुगेका थिए । केही काम नभएपछि ठेकेदार शारदाप्रसाद अधिकारीको तस्बिर पोलपोलमा झुन्ड्याएर विरोध पनि गरेका थिए ।

करिब ८ वर्ष भन्दा लामो समय भइसक्दा पनि शैलुङ्ग कन्ट्रसनले १७ किलोमिटर लामो भक्तपुर नगरकोट सडक निर्माण कार्य पूरा गर्न सकेको छैन । यो सडक दुई वर्षमा सम्पन्न गर्ने गरी २०७१ असार २ मा शैलुङसँग सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्