Logo
Logo

मोबाइल रेकर्डले धेरैको पोल खुल्छ– प्रेम आले


प्रेम आले


तपाईंले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई गरेको निलम्वनले हावा खायो नि ?
हावा अब अधिकारीले खानेछन् । सर्वोच्चको आदेश त अल्पकालीन हो ।

सर्वोच्चले त निगमको ऐनमै कार्यकारी अध्यक्षलाई निलम्वन गर्न पाइँदैन भनेको छ ?
त्यसो होइन, अध्यक्षलाई उक्त ऐन लागू हुन्न भनेको छ । त्यसमा आत्तिनु पर्दैन, केही दिनपछि फैसला आउला नै ।

चार वर्षको लागि कार्यकारी नियुक्त गरेको व्यक्तिलाई आठ महिनामै हटाउनुपर्ने कारण के आयो ?
कार्यकारी अध्यक्षको नियत नै ठीक भएन । जताबाट पनि कमिशन खाने नियत राखेपछि मैले उनलाई बोलाएर धेरैपटक सम्झाएँ । मेरो अगाडि हुन्छ हजुर भन्ने, निगम पुगेपछि मेरोविरुद्ध मन्त्रीकहाँ कुरा पुर्याउने को–को हो भन्दै कर्मचारीलाई थर्काउने ?

कमिशन खाने नियत भन्नुभयो, के–के मा कमिशन खाएका रहेछन् ?
पोखरा–जोमसोम नियमित फ्लाइट रद्द गरेर एउटा ट्राभल एजेन्टलाई चार्टर्ड फ्लाइटको जिम्मा दिएको रहेछ । उक्त सम्झौतामै ५ प्रतिशत कमिशन उल्लेख गरेको छ । निगमको काम जनतालाई सेवा सुविधा दिने हो कि भएको जहाज ट्राभल एजेन्टलाई दिएर कमिशन खाने हो ? यस्ता धेरै कुराहरू छन् ।

भन्नुस् न अरु के–के कुरा रहेछन् ?
यो सबै विषयमा पर्यटन सचिव महेश्वर न्यौपानेसहितको छानबिन समितिले अनुसन्धान गरिरहेको छ । त्यसपछि सबै कर्तुत खुल्छ ।

सर्वोच्च अदालतको आदेशले त छानबिन पनि रोकियो होइन र ?
कहाँ रोकिन्छ ? मन्त्रिपरिषदले गरेको निर्णय पनि रोकिन्छ र, त्यो पनि भ्रष्टाचारको केस । अधिकारीले पद बहाल भएको एक महिना पनि नबित्दै जापान, हङकङको टिकट बेच्ने जिम्मा पनि एउटा कम्पनीलाई दिएर प्रतिटिकट ३० हजारभन्दा बढी कमिशन खाएको प्रमाण हामीले भेट्टाएका छौं । काठमाडौंमा निगमको त्यत्रो अफिस हुँदाहुँदै पनि ट्राभल एजेन्सीलाई जिम्मा दिनु पछाडिको नियत के हो ? मैले बारम्बार ‘अनलाइन टिकट’को व्यवस्था गर्नु भने । तर, टेरपुच्छर लगाएनन् । मेरो अगाडि ‘हस हजुर’ भन्ने टेर्दै नटेर्ने, म त हैरान भएँ । जापान अध्ययन गर्ने विद्यार्थी मन्त्रालयमा रुदै आएर टिकट पाइएन भने । टिकट मन्त्रालयले बेच्ने त होइन, अध्यक्षलाई फोन गरेर सम्झाएँ । हस हुन्छ हजुर भन्ने नटेर्ने ।

पेसेन्जर सर्भिस सिस्टम (पिएसएस)को काम त निगमले गरिसक्यो नि ?
मेरो भनाइ ‘अनलाइन टिकट’को व्यवस्था चाँडो गर्नुपर्याे भन्ने हो । पिएसएस ठेक्कामा पनि अधिकारीले अनियमित गरेको थाहा पाएपछि त्यसको फाइल मागे । हुन्छ हस् भने । फाइल ल्याउन ढिलो गरे । त्यो ठेक्कामा पनि नीतिगत निर्णय गरेर ‘माल’ खाएछन् । मलाई भन्दा ४–५ करोडको ठेक्का हो हजुर भन्यो, पछि कागज मगाएर हेर्दा त ४२ लाख अमेरिकी डलर बराबरको सम्झौता रहेछ । हेर्नुस् त यो मान्छे कति फटाहा हो, मन्त्रीलाई ढाँट्ने ?

अरु के–के कुरा ढाँटेछन् ?
जे कुरा पनि ढाँट्ने । जहाजको इन्जिन मर्मतको ठेक्का पनि पारदर्शी ढंगबाट गर, सस्तो राम्रो कम्पनी छान, पछि कुनै विवाद नहोस् भनेर कतिपटक सम्झाएँ । पहिलादेखि खाने बानी लागेको मान्छे रहेछ, मैले भनेको कुरा एउटा कानले सुन्ने अर्को कानले उडाउने । इन्जिन मर्मतको ठेक्कामा पनि ठूलो गोलमाल भएको छ । इजरायलको एउटा कम्पनीसँग ४० मिलियन अमेरिकी डलरमा दिएको छ । त्यसमा कति घोटाला भयो भन्ने कुरा पनि छानबिन हुँदैछ ।

त्यसो भए अधिकारीलाई जेल नै पठाउने हुनुभयो त ?
‘कालो खाएपछि कालै दिसा’ आउँछ । जेल जाने काम गरेपछि जेल जानुपर्दैन ? घुस खानका लागि अध्यक्ष बनाइएको हो ? त्यहीको पूर्व कर्मचारी इमान्दारिताको साथ काम गर्ला भनेको त उल्टो मलाईसमेत बदनाम गर्दै हिडे । मैले धेरै पटक सम्झाएँ– राम्रोसँग काम गर्नू, कुनै गुनासो आउने काम नगर्नू, निगमको स्थिति खराव छ, निगमलाई फाइदा हुने कार्ययोजना बनाउनु, मैले के सहयोग गर्नुपर्छ गर्छु भने । तर, मेरो सामू जहिले पनि हुन्छ भन्ने, गाली गरे खुट्टा समाएर रुने तर, कहिल्यै नसुध्रिने ।

टेप प्रकरण बाहिर आयो, के को विवाद थियो ?
त्यसले (युवराज अधिकारी)ले सबैको कुरा मोबाइलमा ‘रेकर्ड’ गर्दोरहेछ । मेरो पनि ‘रेकर्ड’ गरेको छ भन्ने सुने र घरमा बोलाएँ । उ सँगै आएको पाइलट उद्धव घिमिरे भन्नेले हामी दुईबीचको संवाद रेकर्ड गरेको रहेछ, त्यही कुरा सार्वजनिक भएको हो । उसको (युवराज) मोबाइल त मसँग नै छ नि । उसले अरु क–कसको कुरा रेकर्ड गरेको रहेछ भनेर हेर्दा मन्त्री, सचिव, सञ्चालक, नेता, पत्रकार सबैको कुरा रेकर्ड गरेको रहेछ ।

कुन–कुन पत्रकार ?
छन् उस निकटका १४/१५ जनाको रेकर्ड ।

पत्रकारसँग के कुरा हुँदोरहेछ ?
के हुनु नि, त्यही हङकङ, बैंककको टिकटको कुरा त हो नि ।

अनि नेताहरू क–कसको रेकर्ड गरेको रहेछ ?
सबैको हेर्न भ्याएको छैन । जसले सिफारिस गर्यो, उसैको पनि रेकर्ड गरेर फसाउने काम गरेको छ । यस्तो निच काम त गर्नु भएन नि, आफ्नो निकट नेतालाई फसाउने, बदनाम गर्ने काम गर्नु हुन्छ ? कस्तो दिमाग बिग्रिएको मान्छे रहेछ ?

भन्नाले… को हो सिफारिस गर्ने नेता ?
अहिले त्यस विषयमा नबोलौं, समय आएपछि सबैको पोल उसैको (युवराज) मोबाइलले खोल्छ ।

त्यो मोबाइल ‘रेकर्ड’ भएका कुराहरू के गर्नु हुन्छ ?
संसद्मा लगेर छानबिन गर्नु भन्छु । संसदले के गर्छ हेर्छु ।

त्यसो भए एमालेले फेरि संसद रोक्ने काम पाउने भयो होइन त ?
एमालेले के गर्छ, त्यो उसैलाई थाहा होला । मेरो काम निष्पक्ष छानबिन होस् भन्ने हो ।

प्रतिक्रिया दिनुहोस्