Logo
Logo

प्रदेश प्रमुखसमक्ष प्रतिवेदन पेश



मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख माननीय यादवचन्द्र शर्मासमक्ष महालेखा परीक्षकको कार्यालयबाट बागमती प्रदेशको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन बुझाइएको छ ।

नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुखसमक्ष महालेखा परीक्षकको कार्यालयका नायब महालेखा परीक्षक त्रिलोचन आचार्यले चौथो प्रादेशिक लेखा परीक्षण प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदन बुझाउने कार्यक्रममा नायब महालेखा परीक्षक आचार्यले बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ मा गरेको आर्थिक कारोबारको लेखा परीक्षण गरी तयार पारिएको प्रतिवेदनबारे चर्चा गरेका थिए ।

प्रतिवेदनबारे जानकारी लिँदै प्रदेश प्रमुख शर्माले नेपालको संविधानबमोजिम नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यका आधारमा महालेखा परीक्षकबाट आव २०७७/७८ को बागमती प्रदेशभित्रका सार्वजनिक निकायको लेखाको परीक्षण गरी तयार गरिएको प्रतिवेदनले सुशासनलाई अङ्गीकार गर्न सघाउ पु¥याउने विश्वास व्यक्त गरे ।

साथै महालेखा परीक्षकको कार्यालयको सक्रियताले सार्वजनिक हितमा प्रभावकारी प्रतिफल दिने गरी आर्थिक क्रियाकलाप सञ्चालन गर्न प्रदेशका सम्बद्ध सार्वजनिक निकायलाई मार्गदर्शन गर्न र बेरुजु घटाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।

कार्यक्रममा प्रदेश प्रमुखका प्रमुख स्वकीयसचिव पारसमणि फुँयाल, महालेखा परीक्षकको कार्यालयका निर्देशक थवराज अधिकारी, लेखा परीक्षण अधिकारी दीपक आचार्य, प्रदेश प्रमुख कार्यालयका उपसचिव कृष्णप्रसाद आचार्य, शाखा अधिकृत इन्दिरा पौडेल, कानुन अधिकृत प्रकाश चापागाईँलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्