Logo
Logo
समाचार टिप्पणी

चिनियाँ चासो- ‘नेपालमा चीन विरोधी गतिविधि नहोस्’



काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ चार दिने नेपाल भ्रमणमा आएका छन् । विदेश विभाग प्रमुख लिउले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नेपालमा चीन विरोधी गतिविधि हुन नपाओस भनेर आग्रह गरेका छन् ।

उक्त भेटमा प्रधानमन्त्री देउवाले नेपाल सधैँ एक चीन नीतिप्रति प्रतिवद्ध भएकाले त्यस्तो गतिविधि हुन नदिने प्रतिवद्धता जनाएका छन् । देउवाले विदेश विभाग प्रमुख लिउलाई आश्वस्त पार्दै पुरानो कुरा स्मरण गराउँदै आफू ०६१ सालमा प्रधानमन्त्री हुँदा काठमाडौंस्थित दलाई लामाको सम्पर्क कार्यालय बन्द गराएको बताएका थिए ।

नेपालको आर्थिक विकास र पूर्वाधारमा लगानीका लागि चीन सधैँ सहयोगी रहँदै आएको छ । एउटा असल छिमेकीको रुपमा रहँदै आएको चीन नेपालमा पछिल्लो पटक बढ्दै गएको चीन विरोधी गतिविधिबाट चिन्तित देखिन्छ ।

जो सुकै प्रधानमन्त्री भए पनि एक चीन नीतिप्रति ओठेभक्ति देखाउने र व्यवहार ठिक त्यसको उल्टो गर्ने भएकाले चीन शशंकित भएको हो । जबसम्म हामीले बोलीअनुसारको व्यवहार गर्दैनौँ, तवसम्म चीनले हामीलाई विश्वास गर्न सक्दैन भन्ने कुरालाई गम्भीरतापूर्वक मनन् गर्नुपर्छ ।

नेपालमा २०७४ सालमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई तिहाई बहुमत सहितको सरकार स्थापना भएपछि चीन ढुक्क थियो । चिनियाँ राष्ट्रपति सी जीनफिङ स्वयमंले नेपाल भ्रमण गरेर दुई देशबीच सम्बन्ध बलियो बनाउने प्रतिवद्धता जाहेर गरेका थिए ।

राजनीतिक स्थिरता र समृद्धि नेपालको चाहनामा भित्री मनदेखि नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच सहकार्यको सम्झौतामा हस्ताक्षर पनि भएको थियो । त्यसले चिनियाँ कम्युनिष्ट पार्टी धेरै हदसम्म उत्साहित पनि भएको थियो ।

दुईतिहाई बहुमतसहितको नेकपा सरकारलाई चीनसँग मिलेर वीआरआई सम्झौता कार्यान्वयन गर्नेदेखि नेपालको पूर्वाधार विकासमा चिनियाँहरूलाई लगानी गराउनेसम्मको अवसर थियो ।

दुर्भाग्य, नेकपाको सरकार साढे तीन वर्षमा ढल्यो । एमाले फुट्यो, माओवादी केन्द्र पुरानै स्थितिमा फर्कियो । यो सबै भद्रगोल निम्त्याउने एउटै व्यक्ति थिए, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ।

ओलीले चीनसँग गरिएको वीआरआई सम्झौताको एउटा बुँदा पनि कार्यान्वयन गरेनन् । उल्टै चीनलाई झस्क्याउने एमसीसी परियोजनामा ओली सरकारले हस्ताक्षर ग¥यो ।

गत फागुन १५ गते १२ बुँदे व्याख्यात्मक घोषणासहितको एमसीसी संसदबाट पास हुँदा पनि चिनियाँ पक्ष दुःखी बनेको थियो । त्यसलगत्तै आएको एसपीपीले चिनियाँहरूलाई थप झस्क्यायो । यद्यपि, सदन र सडकबाट व्यापक विरोध भएपछि एपपिपी अघि बढ्न पाएन ।

यस घटनाबाट अमेरिका दुःखी, चीन खुसी भयो । र, चिनियाँ विदेश मन्त्रालयले त्यस घटनाबारे बेइजिङमा स्वागत ग¥यो । यस घटनाले पनि चीनले नेपाललाई सुक्ष्मरुपमा हेरेको बुझिन्छ । चीनबाट पछिल्लो पटक जति नेताहरूले नेपाल भ्रमण गरेका छन्, सबैले एउटै स्वरमा चीन विरोधी गतिविधि रोक्न सरकारलाई आग्रह गरेका छन् ।

छिमेकी चीनको यो चासोलाई नेपालले गम्भीर रुपमा नलिएसम्म विश्वासको वातावरण बन्दैन । ओलीले २०७७ पुस ५ गते संसद विघटन गरेपछि निम्तिएको राजनीतिक अस्थिरता बीच चीनले नचाहेको धेरै गतिविधि नेपालमा भएका छन् । यस्ता गतिविधि नेपालले लुकाउन चाहे पनि चीनले नजिकबाट नियालिरहेको तथ्यलाई हामीले बिर्सनु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्