
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीपत्नी आरजु देउवासँगको भेटलाई अतिरञ्जित गरिएको बताएका छन् ।
भारत भ्रमण सकेर स्वदेश फर्केका प्रचण्डले विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै आरजुसँगको भेटलाई अतिरञ्जित गरिएको बताएका हुन् । स्वास्थ्य उपचारका लागि भारतमा रहेका आरजुलाई राजदूतसँगको सल्लाहमा नै भेट गरिएको भन्दै प्रचण्डले भेटलाई अतिरञ्जित गरिएको बताएका हुन् ।
प्रचण्डले भने– ‘राजदूतज्यूसँग यहाँबाट सँगै गएका हौं । भारतमै रहनु भएका नेतृ देउवासँग भेटौंन भनेर भेट भएको हो । उहाँसँग स्वास्थ्य अवस्थाबारे कुराकानी भएको थियो । तर, यहाँ अतिरञ्जित गरियो । त्यस्तो केही भएको थिएन ।’
प्रचण्ड र आरजुको भेटलाई प्रमुख प्रतिपक्ष दलले सत्ताको खेलसँग जोडेर आलोचना गरेको थियो । प्रचण्डले सोही आलोचनाको खण्डन गरेका हुन् ।











